Thu. Mar 28th, 2024

खेलाडीलाई ग्रेडिङका आधारमा पारिश्रमिक

can-log_219385254_802606456

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले १८ जना खेलाडीलाई एक वर्षका लागि अनुबन्धन गर्ने भएको छ। ती खेलाडीले ग्रेडिङका आधारमा मासिक तलब पाउने छन्। क्यानको कार्य सम्पादन समितिको बिहीबार बसेको बैठकले यसअघि राष्ट्रिय टोलीका खेलाडीलाई मासिक रूपमा पारिश्रमिक दिने व्यवस्था खारेज गरी १८ जना खेलाडीलाई एक वर्षका लागि अनुबन्धन गर्ने निर्णय लिएको हो।

स्रोतका अनुसार राष्ट्रिय टोलीमा रहेका, विगतमा ठूलो योगदान गरे पनि अहिले टोलीमा नरहेका तर भविष्यमा टोलीमा पर्न सक्ने सम्भावना बोकेका खेलाडी १८ जनाको सूचीमा पर्न सक्ने छन्।

हामी प्रशिक्षक (पुबुदु दासानायके) सँग कुरा गरेर ती १८ खेलाडीको टुंगो लगाउने छौं। योगदान र अनुभवका आधारमा उनीहरूको ग्रेडिङ गरी पारिश्रमिक दिइने छु, स्रोतले भन्यो, ‘एक वर्षभित्र ती १८ बाहेकका खेलाडी पनि राष्ट्रिय टोलीमा परे उनीहरूले अहिलेकै व्यवस्थाअनुरूप मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्।’ एक वर्षका लागि अनुबन्धनमा पर्ने खेलाडीले २५ देखि ४० हजार रुपैयाँसम्म मासिक पारिश्रमिक पाउन सक्ने जनाइएको छ।

खेलाडीसँग एक वर्षका लागि अनुबन्धन गरिएपछि उनीहरूले खेलाडी आचारसंहित पनि पालना गर्नुपर्ने निर्णय बैठकले गरेको छ। यसैगरी कार्यसम्पादन समितिको बैठकले मलेसियामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन तीनको उपाधि जितेको नेपाली टोलीका हरेक सदस्यलाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय पनि गरेको छ।

नेपाल टोलीले आगामी जनवरीमा नामिबियामा डिभिजन दुई खेल्दै छ। सिनियरतर्फ विश्वस्तरको क्रिकेटमा पुग्न नेपाललाई यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ। बैठकले डिभिजन दुईको तयारीका लागि नेपाली टोलीलाई १० दिन दक्षिण अफ्रिकामा अभ्यास गराउने निर्णय पनि गरेको छ।

डिभिजन दुईका लागि टोलीलाई तयार गर्न बलिङ र ब्याटिङ विशेषज्ञ ल्याउने कामलाई पनि तीव्रता दिइने भएको छ। यसैगरी कार्यसम्पादन समितिले क्यानअन्तर्गत रहेका नौवटै क्षेत्रमा एकएक जना विकास अधिकृत नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसरी नियुक्त गरिएका विकास अधिकृतले भत्ता स्वरूप मासिक पाँच हजार रुपैयाँ पाउने छन्। बैठकले डिभिजन दुईका लागि टोलीको व्यवस्थापकमा दिवाकर घले र सहायक प्रशिक्षकमा विनोद दासलाई नियुक्त गर्ने निर्णय गरेको छ।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

Loading...

अन्य समाचारहरु: