Fri. Mar 29th, 2024

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ?

राधिका सापकोटा –

radhika-sapkota-2
महिला हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको संझनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।

यो वर्ष विश्वमा “विश्व शान्ति नै घर शान्तिको आधारः सबैको लागि सुरक्षित शिक्षा ” भन्ने अन्र्तराष्ट्रिय नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान संसारभर मनाउन लागिएको छ । महिलामाथि हुने हिंसा मानवअधिकारको हनन् हो अपराध हो भन्ने कुरा अझै सम्म पनि स्थापित हुन सकिरहेको छैन । महिलामाथि हुने हिंसा क्षम्य छैन भनी संसारभरीका महिलाहरुले एकजुट भएर अधिकारका लागि विभिन्न आन्दोलनहरु अघिवढाई रहेका छन् ।

संसारको इतिहासलाई हेर्ने हो भने धेरै पटक धेरै राष्टमा विभेदका विरुद्ध, भेदभावका विरुद्ध वा राजनीतिक परिर्वतनका निमित्त थुप्रै आन्दोलनहरु भएका छन् । यस्ता आन्दोलनहरुमा सदैव महिलाहरुले नै निर्णायक भुमिका खेलेको सत्य हाम्रा सामु छ । महिलाहरुले गरेको यो योगदानलाई विश्वमा नै कदर हुन सकिरहेको छैन । जसको फलस्वरुपमा महिलाहरुले अझैपनि धेरै देशहरुमा भेदभाव विना सम्मानित र हिंसामुक्त जीवना बाँच्न पाइरहेका छैनन् । सामाजिक मुल्यमान्यताका नाममा महिला र पुरुषवीच स्थापित शक्ति संवन्धलाई वेवास्ता गर्दै महिलाहरुलाई राज्यको दोस्रो नागरिकका रुपमा व्यवहार गरिरहिएको छ । उनीहरुलाई स्रोत र साधनको पहुँच भन्दा निकै टाढा राखिएको छ ।

   यो बर्षको नाराले सबैको सुरक्षित शिक्षाको मुद्धालाई उठाईरहेको छ । सबैको शिक्षाको कुरा गरिरहँदा नेपालमा किशोरीहरुको शिक्षा कति सुरक्षित छ भनेर हेर्नुपर्ने बेला आएको छ । धादिङ जिल्लामा गरिएको एउटा सानो नमुना सर्वेलाई मात्रै हेर्ने हो भने ३२ वटा स्वास्थ्य चौकीमा सुत्केरी र गर्भवति गराउन आउने २० वर्ष मुनिका १०८८ जना किशोरीहरु रहेको पाइयो । नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ तर २० वर्ष नपुग्दै विवाह गरेर आमा बनेका वा बन्न तयार भएका किशोरीहरुको संख्या हो यो । यी त स्वास्थ्य चौकी आएकाहरु मात्रै हुन् अझै स्वास्थ्य चौकी नआएका तर २० वर्ष नपुग्दै बच्चा जन्माउन बाध्य भएका थुप्रै किशोरीहरु जिल्लामा छन् ।

यिनीहरु विद्यालय गएका छैनन् वा गएर पनि विद्यालय छोडिसकेका छन् । जसका कारणले यिनीहरुको शिक्षा कसरी सुरक्षित हुन सक्छ ? शिक्षामात्रै हैन सानै उमेरमा बच्चा पाउनु पर्ने कुराले उनीहरुको जीवन नै असुरक्षित भैरहेको छ । अझै धेरै किशोरीहरु विद्यालयबाट बाहिर छन् । विद्यालय भर्नाको दरलाई हेररे शिक्षा कार्यालयले विद्यालय बाहिर विद्यालय उमेरका बालबालिकाहरु छैनन् भन्ने गरेको छ तर विद्यालय भर्ना भएर पनि विद्यालय नगएका वा विचैमा पढाई छाडेकाहरुको तथ्यांक भने कसैसंग छैन । त्यसैले साच्चै कति बालबालिकाहरु विद्यालय बाहिर छन् भन्ने कुराको एकिन गर्न सकिने अवस्था छैन ।

    किशोरीहरुको सुरक्षित शिक्षाका लागि बाधाहरु यति मात्रै छैनन् । विद्यालयको वातावरणले पनि किशोरीहरुको शिक्षालाई बाधा पुगिरहेको छ । शिक्षकहरु बाटै किशोरीहरु वलात्कृत भएका, यौन दुरव्र्यवहारका सिकार भएका  छन् । विद्यालयमा शिक्षकबाट र आफ्नै सहपाठी केटा साथीहरुबाट हुने नकारात्मक व्यवहारले पनि किशोरीहरु विद्यालय जान छोडेका कैयौं घटनाहरु छन् । हामीले अहिले सम्म पनि महिलाहरुको महिनावारीको प्रकृयालाई कुनै महत्व दिएका छैनौं ।

यतिवेला हुने समस्यालाई एउटा सामान्य कुरा हो भन्ने हिसावले लिने गरेको छ । महिनावारी भएकोवेलामा धेरै किशोरीहरु विद्यालय जादैनन् । विद्यालयमा अझै सम्म पनि सेनेटरी प्याडको व्यवस्था भएको पाइदैन । व्याड फेर्ने वा त्यसलाई व्यवस्थापन गर्ने ठाउँ नभएका कारण उनीहरुले त्यो अवस्थामा विद्यालय आउनु असुरक्षित ठानीरहेका हुन्छन् ।

त्यत्तिवेला हुने शारिरीक समस्या , पेट दुख्ने, रिगटा लाग्ने जस्ता कुराहरुका बारेमा विद्यालयमा कुनै परामर्श गरिदैन जसका कारणले गर्दा महिनावारीको समस्या नै किशोरीहरुको सुरक्षित शिक्षाको एउटा बाधा बनिरहेको छ । अर्को पारिवारिक कार्यवोझ पनि किशोरीहरुको शिक्षाको एउटा बाधक वनिरहेको छ । सानै उमेर देखि भाई बैनिको रेखदेख गर्ने, घरको भान्साको जिम्मेवारी र परिवारको सहयोगिको जिम्मेवारी समेत लिनुपर्ने कुराले गर्दा उनीहरु विद्यालय गएपनि आफ्नो अध्ययनमा समय दिन सकिरहेका छैनन ।

 त्यसैले अब हामी सचेत नागरिकले सोच्नुपर्ने बेला आएको छ  । अझै पनि यो देशको आधा जनसंख्या बोकेका महिलाहरु शिक्षाको अवसरहरुबाट बञ्चित भएभने अव हाम्रो विकास साच्चै कता जान्छ त ? अब हामीले ति किशोरीहरुका शिक्षाका लागि देखिएका अवरोधहरु हटाउनका लागि लाग्नु पर्ने अवस्था आएो छ । हामी सबैले किशोरीहरुको सुरक्षित शिक्षाका लागि आफूले सकेको योगदान दियौं ।

२०७३ मंसिर १२ गते प्रकाशित

About The Author

Loading...