Thu. Mar 28th, 2024

गाविस सचिवहरूमाथि अख्तियारको नजर

CIAA_379066383_444367482

काठमाडौ

जनप्रतिनिधि नभएकाले भ्रष्टाचार र अनियमिततामा मुछिँदै गएका गाविस सचिवहरू अकूत सम्पत्ति आर्जनमा समेत छानबिमा पर्न थालेका छन् । आकर्षक आम्दानी भएका गाविसमा जिम्मेवारी पाएका खरिदार, नासुजस्ता सहायक स्तरका कर्मचारीहरू अस्वाभाविक आर्जनु भएकाले अनुसन्धानमा परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गाविस सचिवहरूविरुद्ध अकूत आर्जनको अभियोगमा सयौं उजुरी आइरहेको जानकारी स्रोतले दिएको छ । केही आकर्षक कार्यालयसहित गाविसका सचिवहरूविरुद्ध अस्वाभाविक आर्जन गरेको अभियोगमा उजुरी आउने क्रम बढेको छ, आयोग स्रोतले भन्यो, केही उजुरीको अन्तिम किनारा पनि लागिसकेको छ । तर, अन्य व्यक्तिका जस्तै गाविस सचिवविरुद्ध अकूत आर्जनका उजुरीहरूको पुष्टयाइँ हुन नसकेको स्रोतले उल्लेख गर्‍यो ।

काठमाडौंं वज्रयोगिनीका सचिव रमेश दवाडीविरुद्ध अकूत आर्जनको उजुरी पर्‍यो । तलबरभत्तालगायतबाट ११ लाख ३९ हजार आर्जन गरेका उनको सम्पत्ति मूल्यांकन हुँदा करिब २६ लाख ८९ हजार ठहरियो । अनुसन्धान हुँदा जग्गा बिक्रीबाट करिब डेढ लाख आम्दानी गरेका उनले गाईपालन र खेतीबाट करिब साढे ४ लाख रुपैयाँ आम्दानी गरेको भेटियो । छानबिनका क्रममा आर्जन स्वभाविक देखिएकाले विस्तृत अनुसन्धानपछि उजुरी तामेलीमा राखिएको छ ।

अन्य क्षेत्रका सार्वजनिक पदधारीको शंकास्पद अस्वाभाविक आम्दानीलाई गैरकानुनी पुष्टि गर्न नसकेको अख्तियारले गाविस सचिवविरुद्धको उजुरीमा पनि यही समस्या बेहोरिरहेको छ । तलब आम्दानीको दसौं गुणा अतिरिक्त आम्दानी हुँदा पनि छानबिनमा पर्ने कर्मचारीले आर्जनका वैध स्रोतहरू तम्तयार पारेर बसेका हुन्छन् । जग्गा बिक्रीबाट वास्तविक भाउभन्दा बढीको आम्दानी, शंकास्पद कृषि आम्दानीलगायत अन्य स्रोतबाट सम्पत्तिको स्रोत वैध देखिन्छ । तर, प्रचलित कानुनी व्यवस्थाअनुसार कर तिरिसकेको सम्पत्ति वैध हुने सर्वोच्चको नजिरका कारण पनि छानबिन सफल हुन सकेको छैन ।

नियमित तलबबाहेक जनप्रतिनिधिको भत्तासहित गाविस सचिवहरूले आफैं निर्णय गरी अन्य सुविधा पनि लिन्छन् । यस्तो रकमको कर कट्टा गरेमा सम्पत्ति छानबिन हुँदा उनीहरूको आम्दानी वैध देखिन्छ । यसबाहेक विकास निर्माण र अन्य सामाजिक क्रियाकलापको दुरुपयोग सम्भावना हुने भएकाले पछिल्लो समय स्थानीय स्तरबाट गाविस सचिवहरूविरुद्ध पनि गैरकानुनी रूपमा सम्पत्ति कमाएको आरोपमा उजुरी परिरहेको छ ।

काठमाडौं उपत्यकाका आकर्षक गाविसहरूमा जान सचिवहरूको प्रतिस्पर्धा हुन्छ । बालुवा एवं ढुंगाखानी सञ्चालन हुने र राम्रो आम्दानी भएका धादिङ, नुवाकोट, रुपन्देही, चितवनलगायतका जिल्लाका गाविस सचिवहरूको आकर्षण छ । सचिवहरूविरुद्धको उजुरी पनि त्यस्तै जिल्लाबाट ज्यादा रहेको छ ।

पाँचखालका गाविस सचिव टंकप्रसाद अधिकारी पनि अकूतको छानबिनमा परे । बहिदारबाट सेवा प्रवेश गरेका उनले एकमुष्ट रूपमा १० लाख रुपैयाँ तलब आर्जन गर्दा करिब ८४ लाख रुपैयाँ सम्पत्ति आर्जन गरेको खुल्यो । जग्गा बिक्रीबाट २६ लाख र कृषि आयबाट २४ लाख आम्दानी देखाएका उनले कमाएको सम्पत्तिको स्रोत खुलेपछि वैध ठहरियो ।

तलबबाट मात्रै २३ लाख आर्जन गरेका मोरङ याङसिलाका सचिव खड्गकुमार बस्नेतले थप ९ लाख ७० हजार आर्जन गरे पनि अकूत आम्दानीको पुष्टि हुन सकेन । उनले बैंकबाट लिएको ऋणबाट अन्य सम्पत्ति आर्जन गरेको देखाएका थिए ।  यी तीन घटनाबाहेक अन्य गाविस सचिवहरूको सम्पत्ति छानबिन गरेको अख्तियारले अवैध आर्जन भएको पुष्टि गर्न सकेन ।
इकान्तिपुर अनलाइन्बाट

About The Author

Loading...

अन्य समाचारहरु: