Fri. Mar 29th, 2024

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ : प्रधानमन्त्री देउवा

८ असोज,  न्युयोर्क(अमेरिका)–

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समाजका सबै तप्काको समानुपातिक प्रतिनिधित्व नेपालको समावेशी प्रजातन्त्रको केन्द्रीय हिस्सा बनेको बताए ।

नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमलाई अघि सार्दै उहाँले सन् २००६ मा शुरु भएको शान्ति प्रक्रिया सन् २०१५ मा निर्वाचित संविधान सभामार्फत लोकतान्त्रिक र समावेशी संविधान जारी भएपछि टुङगिएको बताए । देशभित्रकै शक्तिहरुको नेतृत्वमा सम्पन्न यो अभियानमा समर्थन र समझदारी दर्शाउने अन्तर्राष्ट्रिय समुदायको पनि प्रधानमन्त्री देउवाले उच्च प्रशंसा गरे ।

बीस वर्षपछि स्थानीय तहको चुनाव सम्पन्न गरेपछि अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी प्रान्तीय र संघीय संसदको चुनावको तिथि घोषणा गरिएको उनले महासभालाई जानकारी गराए ।

शान्तिपूर्ण सहअस्तित्वका पाँच मूलभूत सिद्धान्त ‘पञ्चशील’ नेपालको परराष्ट्र नीतिका मुख्य आधार रहेको उल्लेख गर्दै उनले भने – “हामी असंलग्नतामा विश्वास गर्छौं । स्वतन्त्र परराष्ट्र नीतिको अभ्यास गर्दा हामी भय वा झुकावरहित भएर हरेक अन्तर्राष्ट्रिय मुद्दामा निर्णय लिन्छौं ।”

उजले भने – “अल्पविकसित तथा अतिकम विकसित मुलुकहरुले भूमण्डलीकरणको प्रक्रियाबाट लाभ उठाउन सकेका छैनन् । ती मुलुकका लागि भरपर्दो र दिगो वित्तीय स्रोत, साझेदारिता र प्रविधि हस्तान्तरण जरुरी हुन्छ ।”

व्यापार गर्दाको लागत तट क्षेत्रीय मुलुकहरुका दाँजोमा अति कमविकसित मुलुकहरुको उच्च हुने भएकाले ती मुलुकको दिगो विकासका लागि बहु–ढाँचायुक्त यातायात पूर्वाधार र भूपरिवेष्ठित मुलुकहरुका लागि निर्वाध पारवहन अधिकार अपरिहार्य हुने धारणा राख्दै उनले भने – “सन् २०३० सम्मको कार्यक्रमसहित हामी इस्तानबुल कार्ययोजना, भियना कार्ययोजना र अदिसअबाबा कार्यसूूचीको पूर्ण कार्यान्वयनका लागि आह्वान गर्दछौं ।”

व्यापार, लगानी र प्रविधिका दृष्टिबाट विकासशील राष्ट्रहरुको साझेदारिताका सम्भाव्य सबै अवसरहरुको पूर्णतः उपयोग गर्न जरुरी भएको पनि उनले उल्लेख गरे।  रासस

२०७४ असोज ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: