Mon. Jun 17th, 2019

Pabil News

Dhading Media

सकारात्मक बन्ने कि सन्देहात्मक ?


रमेश अधिकारी –

जीवन अनुभवहरुको संगालो हो र अनुकरण सिकाइको बलियो आधार हो । लामो साधनापछि विकसित मेरो सोचमा पुनरवलोकन गर्दैछु , व्यवहारमा सुधार आवश्यक देखेको छु । मैले सकारात्मक सोचका धनी भनिएका अगुवा, सिद्धान्तकार, समाज सुधारक र लेखकहरुको जीवनीको अध्ययन गरें, उनीहरुको दर्शन र व्याख्याका आधारमा आफूलाई सकारात्मक बनाउन साधना गरें, कार्यशैलीलाई परिवर्तन गर्न अभ्यास गरें, आफूलाई अनुभूत हुनेगरी रुपान्तरण गरें दैनिक व्यवहारलाई पनि । यसो गर्न मलाई धेरै वर्ष लाग्यो, तर जीवनले के सिकाउँदैछ भने मानिसमा सकारात्मक सोचको महत्व र आवश्यकता भन्दा सन्देहात्मक सोचको महत्व र आवस्यकता बढी रहेछ । यो मेरो निष्कर्ष हो ।

जीवनमा आशावादी मात्र कसरी सकारात्मक ? गुलावको बोटमा फूलमात्र देख्नु त आफ्नै शरीरमा घाउ बनाउनु हो नि । खराव पक्षलाई नदेख्नु, परित्याग गर्नु र वेवास्ता गर्नु स्वयं सकारात्मक पक्षलाई कमजोर बनाउनु हो । चुनौतिलाई अस्विकार गर्नु असफलता निम्त्याउँनु , होइन र ? संभावित अफ्टेरा, खतरा, चुनौति, आदिको कल्पनै नगर्नु असफलता निम्त्याउनु किन होइन ? सोच सकारात्मक राखी रहने तर जीवनमा असफलता मात्र बाँकी रहनु पर्ने जीवन आशावादी भै रहन्छ कि निराशावादी हुन्छ ? जबरजस्त अपनाइने सकारात्मक सोचले कालान्तरमा निराशा बढाउने र मनोसामाजिक समस्या खडा गर्ने खतरा रहन्छ । म सकारत्मक हुँदा म सित व्यवहार जोडिएको मेरी श्रीमती, परिवार, दाजुभाइ, नश नाता, विजनेस पार्टनर, अफिसको वोस, छिमेकी अरु सबै पनि त सकारात्मक हुनुपर्ला नि ? के मानवीय संवेदना, प्रतिस्पर्धात्मक समाज र व्यक्तिवादिताले गाँजेको यो विश्व परिवेशमा यो कुरा संभव छ ? संभव रहेनछ । जब यी कुरा असंभव छैन भने मेरो सकारात्मक सोचको फाइदा सबैभन्दा बढी मसित क्लोज कनेक्सनमा रहेका व्यक्तिहरुले उठाउने रहेछन् । अन्त्यमा मेरो भागमा पर्ने भनेको पश्चाताप, कुण्ठा, हीनतावोध र असफलता मात्र ।

आदर्शवादीहरुको प्रवचन पनि सुनेको छु मैले कि तपाई आफू जस्तो व्यवहार गर्नु हुन्छ अरुले तपाईमाथि पनि त्यस्तै व्यवहार गर्छ । यो विश्वव्यापी सत्य कुरा हुँदै होइन , पूर्वराजा वीरेन्द्रले कसैको वंश विनाशको योजना बुनेको थाहा पाइएन तर उनैको वंश हत्या भयो , डा. उपेन्द्र देवकोटा अपहरणकारी थिएनन् तर उनले छोरीका लागि फिरौती तिरे, गान्धी जी अहिंसावादी थिए उनैको हत्या भयो । खै आफू अनुरुपको संसार ? संसार त बरु म ताक्छु मुडो बञ्चरो ताक्छ घूँडो जस्तो पो छ त । त्यसैले मानिस सकारात्मक सोचको होइन बरु सन्देहात्मक सोचको हुनु जरुरी छ । सन्देहात्मक सोच राख्नु नकारात्मक सोच हुनु, आलोचक हुनु, आचरण र व्यवहार विगार्नु, असामाजिक हुनु, हुदै होइन बरु सफलताको लागि चुनौतिहरुको सामाना रणनीति बनाउने काममा यसले सहयोग गर्दछ । दार्शनिक माक्र्सको आर्दश वाक्य छ, हरेक कुरामा सन्देश गर । माक्र्सवाद विज्ञान हो ।

विज्ञान प्रयोगात्मक हिसाबले सत्य छ । तपाई अनुभव गर्न सक्नुहुन्छ कि बाबुआमा प्रति हामी सदैव सकारात्मक हुन्छौं तर काखापाखा गरेको अनुभव भएको दिन तपाईको मन कति अमिलो हुन्छ ? दाजु भाइ र नाता सम्बन्ध प्रति सधै सकारात्मक हुने तर तपाई माथि अन्याय थोपरिएको दिन चित्त दुख्दैन ? श्रीमान श्रीमती विचको सम्बन्ध सधै सकारत्मक बनाउने तर विश्वासमाथि बज्रपात हुँदा मुटु पोल्दैन ? विजनेश पार्टनरप्रति सकारात्मक हुने तर धोका दिएको दिन तपाईको भागमा पश्चाताप भन्दा बढी के आउँछ ? यी सम्बन्धहरु भन्दा बाहिर त आफू सकारात्मक हुँदा अरुले पनि उही व्यवहार गर्छन भन्ने कल्पना नगरे हुन्छ ।

हाम्रो थाप्लोमा सौदावाजी र खेलवाड चलिरहन्छ । मेरो योगदान, मेरो अनुशासन, मेरो भावना त पार्र्टीले पनि बुझिहाल्छ भन्ने कार्यकर्ताको अवस्था आज के छ ? त्यसैले हामी आज जुन बाटो हिंडीरहेका छौं त्यसलाई थोरै परिवर्तन गरी सन्देहात्मक बनौं ता कि अपेक्षा अनुसार उपलब्धी नभएको दिन यस्तो पनि परिणाम आउन सक्छ भन्ने मलाई पहिले नै अनुमान थियो भन्ने कुराले जीवनमा शान्ति दिन्छ, चित्त दुखाई कम हुन्छ , होला कि भन्ने थियो भयो भन्ने कुराले चित्त बुझाई हुन्छ ।

यो बुझ्नु जरुरी छ कि सन्देहात्मक सोचले समयमै व्यक्ति, घटना, परिवेशको अध्यारो पक्षलाई समयमै जानकारी गराउँदछ । हामीलाई द्वन्द्वात्मक हिसाबले सोच्न सिकाउँछ । विचारको द्वन्द्वले सिकाईलाई परिपक्व बनाउँछ । उपयुक्त निर्णयमा पुग्न सहयोग गर्दछ । खराब निर्णयबाट बचाउँछ अनि स्रोत साधन, समयको बचतका साथै मानिसलाई सधै उर्जाशील बनाउँछ त्यसैले जीवनमा सकारात्मक भन्दा बढी सन्देहात्मक बनौं ।

२०७५ असोज ६ गते प्रकाशित

1 thought on “सकारात्मक बन्ने कि सन्देहात्मक ?

  1. सकारत्मक सोच्ले नै मान्छेलाई अगाडि बढ्न प्रेरित गर्छ भने सन्देहात्मक सोचले मान्छेलाई अगाडि बढ्न बाट बाधक बनाउछ अहिले समाजमा जुन बिकृति फैलिराछ हत्या हिम्सा आत्महत्या जघन्य अपराधहरु त्यो नै सन्देहात्मक सोच्को परिणाम हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.