Fri. Mar 29th, 2024

आजबाट सोह्र श्राद्ध सुरु

९ असोज, धादिङ –

सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ । यस अवधिभर पूर्वजहरुको शान्ति र उनीहरुको तृप्तिका लागि पूजापाठ गरिन्छ ।

‘पितृहरुको सम्झनामा श्रद्धापूर्वक तर्पण, पिण्ड र दान गर्ने लगायतका काम गरिने भएकाले त्यसलाई ‘श्राद्ध’ भनिएको हो,’ धर्मशास्त्रका जानकार अनुसार ‘यसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ ।’जुन व्यक्तिको जुन तिथिमा मृत्यु भयो, त्यही तिथिमा श्राद्ध गरिन्छ ।

हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् । त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् ।

असोज महिना पितृहरुको पर्व नै मानिन्छ । पूजापाठ, दान, तर्पण, संकल्प आदिबाट खुसी भएर उनीहरुले हामीलाई आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता छ ।

श्राद्धको पितृहरुसँग निकै घनिष्ठ सम्बन्ध हुन्छ । पितृहरुसम्म आहार पुर्‍याउने र आफ्नो श्रद्धा व्यक्त गर्ने एकमात्र विधि श्राद्ध रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । ‘श्राद्धमा गरिने तर्पण, पिण्ड दान, संकल्प आदि भावात्मक रुपमा पितृ लोकमा पुग्छ भन्ने धार्मिक विश्वास छ। श्राद्धको महत्वबारे कयौं प्राचीन ग्रन्थ तथा पुराणहरुमा पनि वर्णन गरिएको छ ।

२०७५ असोज ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: