Fri. Mar 29th, 2024

समाज र सञ्चार माध्यम

माधव गुरुङ

व्यक्ति अनि परिवार समाजको प्रमुख अंग हो । समाजका अन्य अवयवहरु निर्जिव रहने भएको व्यक्तिका महत्वकांक्षा अनि स्वार्थले समाजलाई निर्देशित गर्ने गर्दछ ।समाज हुनका लागी मानिसहरुको एकीकृत बसोबास, रितिरिवाज, भाषा, संस्कृति परम्परा, धर्म भेषभुषा,चाडपर्व आदी कुराहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।समाजको चरित्रलाई विभिन्न परिवेशहरुले निर्देशित गरेको हुन्छ ।समाजको चेतनास्तर, बाह्य तथा आन्तरिक परिवेश, शिक्षा, भाषा, संस्कृति, चालचलन, धर्म संस्कार आदीबाट समाजको चरित्र निर्धारण हुन्छ । त्यस बाहेक मुलुकको राजनैतिक व्यवस्था, विश्व र छिमेकी मुलुकको प्रभाव,आम सञ्चार माध्यमहरु जस्तै रेडियो,टेलिभिजन, पत्रपत्रिका, फेसबुक, ट्वीटर,इन्टरनेट आदीले पनि समाजलाई प्रभावित गरिरहेको हुन्छ । नेपाली समाज पनि यस्तै विभिन्न खाले तत्वहरुबाट प्रभावित भइरहेको हामीले देख्न र भोग्न सक्छौं ।

राजनैतिक व्यवस्था परिवर्तनको नयाँ परिवेशबाट हामीले मुलुकलाई अगाडी बढाउदै गर्दा हाम्रो समाजको चेतनास्तर र हामीमा रहेको व्यक्तिगत आचरण तथा स्वभाव अनि समाजकै पनि चरित्रले परिवर्तनलाई सहजै स्वीकार गर्न नसकेको अथवा स्वीकार गर्नका लागी हामीमा रहेको परम्परागत धारणा र चिन्तनबाट ग्रसित भएका कारण समाजले परिर्वनलाई अंगीकार गर्न केही कठिनाई भएको महसुस गर्न सकिन्छ । झनै नेपाली समाज आफै संक्रमणकालीन अवस्थामा रहेकोले उसका व्यवहारहरु परिपक्व वा व्यवस्थित भएर प्रकट भएको पाइन्न । सामन्तवादको मुल जरो भनिएको राजतन्त्रको अन्त्य भैसक्दा पनि जनताको प्रतिनिधि ठानिएको राष्ट्रपतिको व्यवहारहरु, सरकार प्रमुखले विभिन्न वर्ग समुदायलाई खुशी पार्न वा आफुलाई अभिजात वर्गमा रुपान्तरण भएको आभाष दिन धर्म संस्कृतिका बाहनामा ठालु देखाउने प्रवृतिले उनीहरुको चेतनामा पनि फेरबदल नभएको हो की भन्न सकिन्छ ।केही समय अघि राष्ट्रपति र प्रधानमन्त्रीबाट दशैका नाममा टिका लगाइ दिने भन्दै सर्वसाधारण जनतालाई आफ्नो शक्ति प्रदर्शन गर्ने र उनीहरुलाइृ गरिएको भेदभावपूर्ण व्यवहार राज्यका प्रमुख निकायबाट प्रर्दशित हुनुले पनि समाजको चरित्र कस्तो रहेछ भन्ने कुराको इंगित गर्दछ ।

शक्तिका पछाडी दौडन चाहने हाम्रो समाज अनि शक्तिमा रहेर आफुलाई कुलीन वर्गको ठान्ने शासक वर्ग (घुडा धसेर टिका थाप्ने र लगाइदिने व्यवहार) दुवैका आचारण समाजको उपज हो भन्न सकिन्छ । वर्ग विहिन समाजको लागी दशकौ लडेका राष्ट्रपतिले टिका लगाइदिदा देखाएको व्यवहार उनले लिएको राजर्नतिक दर्शन र चिन्तनसँग मेल नखाएको जति विष्मयकारी थियो उनी साभ्रान्त वर्गमा रुपान्तरण भएको तथा जनता भनेका दोस्रो दर्जाका मानिस हुन भन्ने खालको चरित्र प्रर्दशन हुनुमा हाम्रो समाजको पनि केही योगदान रहेको देखिन्छ । सामाजिक रुपन्तरणमा सञ्चार माध्यमको भूमिका सधै महत्वपूर्ण रहने गर्दछ । सञ्चार माध्यमले पस्कने समाचार तथा खुराक समाजको कुरुति, कुसंस्कार, विकृति विसंगतिका विरुद्धमा हुनु पर्दछ।विशेषत सञ्चार माध्यमहरु त्यस्ता विसंगतिका विरुद्ध हुने भएपनि उनीहरुले प्रश्तुत गर्ने सामाग्रीहरुले कहिले काही परम्परा, संस्कार वा व्यावसायिक हितका लागी जानी नजानी त्यस्ता खालको गलत मान्यतालाई प्रोत्साहित गरिरहेका हुन्छन् । साथै उनीहरुको संलग्नता वर्गिय, व्यवासायिक वा सामुदायिक पक्षसँग रहने भएकाले पनि सञ्चार माध्यमले कहिलेकाही पक्षधरता लिइदिदा गलत व्यवहार र परम्परालाई प्रोत्साहित गरेको हुन्छ । समाजले प्रर्दशन गरेको आचरण र व्यवहारले मानिसलाई प्रभावित गर्ने कुरा स्वभाविक भएपनि मुलुकको जिम्मेवार निकायमा रहेका प्रमुख व्यक्तित्वहरुको आचरण भने समाजलाई अग्रगमन तिर लाने किसिमको हुनुपर्दछ ।

त्यसैगरी सञ्चार माध्यम पनि समाजकै एक प्रमुख अंग भएकोले उसका हर्कतहरु मानिसका आचरण व्यवहारसँग तालमेल हुने गरी प्रश्तुत हुनुपर्दछ ।सञ्चार माध्यमहरु जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । आधुनिक समाजको बिकाससँगै सञ्चार माध्यमका स्रोतहरुमा पनि व्यापक परिवर्तन आएकोछ । विभिन्न खालका डिजिटल मेडियाहरु फेसबुक, ट्वीटर, आदीको बढ्दो प्रयोगले सञ्चार माध्यमको परिभाषालाई विस्तारै परिवर्तन गरिरहेको सन्र्दभमा यस्ता सोसियल साइटहरुमा आउने समाचार वा सामाग्रीहरुले मानिसलाई तुरुन्तै प्रभावमा पार्न सक्छ । समाजको अभिन्न अंग जस्तै बनेका यस्ता सञ्चार माध्यमहरुले पनि समाजको चरित्र बदल्न वा विचार बदल्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नेपाल जस्तो अल्पविकसित मुलुकमा समाज पनि केही परम्परागत ढाँचाको हुने भएकोले समाजका व्यवहारहरु कहिले काही पश्चगामी लाग्न सक्छ । पिछडिएको समाज अशिक्षा, अन्धविश्वास, गलत परम्पराका कारण विकास र सम्मुनतिमा पनि पछाडी रहेको हुन्छ । यस्ता समाजहरु स्वभावत केही भ्रष्ट, केही रुढीवादी, व्यक्तिवादी चरित्रका हुन्छन् ।अविकसित समाजको चरित्रले व्यीक्तका व्यवहारलाई पनि त्यस्तै बनाउन भूमिका निर्वाह गरेको हुन्छ ।यस्ता समाजमा केही निराशा ,केही उत्कण्ठा, केही आक्रोश अनि केही आशा र लोभ पनि रहने भएकोले अस्थीर खालका हुन्छन् ।

नेपाली समाज अहिले संक्रमणकालिन अवस्थामा रहेकोले यस भित्र व्यापक रुपमा अन्र्तसंघर्ष रहेकोछ । समाज रहेका अन्र्तविरोधहरु विभिन्न ढंगबाट प्रस्फुटन हुन खोजिरहेका हुन्छन् । संघीयता धर्म निरपेक्षता, लगायत पहिचान र जनजाती आन्दोलनका विषय पनि तिनै अन्र्तविरोधका परिणामहरु हुन् । एउटा फरक खाले अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण हुदै गर्दा समाजमा विभिन्न खालका तनावहरु पैदा हुन्छन् । त्यसको व्यवस्थापन राजनैतिक नेतृत्व र सामाजिक अगुवाहरुले सुझबुझपूर्ण ढंगबाट गर्नुपर्दछ । विभिन्न किसिमका सामाजिक तथा राजनैतिक आन्दोलनहरु पनि समाज रुपान्तरणका लागी आवश्यक ठानिएर गरिएका हुन्छन । यस्ता सामाजिक रुपान्तरणका आन्दोलनमा सञ्चार माध्यमहरुले खेल्ने भूमिका बढी उत्तरदायी र जिम्मेवारपूर्ण हुनुपर्दछ । समाजले विभिन्न मुद्दामा आफ्नो धारणा निर्माण गर्ने क्रममा समाचार तथा सामाजिक अगुवाहरुको विचारहरुलाई स्रोतका रुपमा लिने गर्दछन् । विश्व जगतमा अहिले अभियानका रुपमा चलिरहेको ट्वीटरमा मिटु पनि एउटा त्यस्तो शसक्त अभियानका रुपमा आइरहेकोछ जस्ले महिला हिंसाका विपक्षमा बोल्न अभिप्रेरित गरिरहेकोछ ।यसैगरी नेपालमा निर्मला हत्याकाण्डका सवालमा नेपाली सञ्चार माध्यमहरुले दिएको कभरेजले पनि सरकारलाई निष्पक्ष अनुसन्धानका लागी दबाब श्रृजना गरिरहेको देखिन्छ । पछिल्ला यी उदाहरणका आधारमा पनि मेडियाले समाजमा धारणा बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने देखाएको छ ।

समाज र मेडियाको सम्बन्ध एक अर्कामा अन्र्तनिहित भएकाले उनीहरुले गर्ने व्यवहार उनीहरुको स्वार्थ र सरोकारले प्रभावित हुन्छन्।समाज भित्रैका अंगका रुपमा रहेको मेडिया विभिन्न स्वार्थ समूह र समूदायबाट प्रभावित हुन सक्छ त्यस्तोमा मेडियाहरुको निपष्क्षतामा प्रश्न उठ्न सक्छ । समाज आफै दुषित भएको अवस्थामा मेडियाहरु पनि अछुतो रहन सक्दैन।यस्तोमा समाजमा अझै बढी अन्र्तसंघर्ष र तनावहरु उत्पन्न सक्छ । समाजमा रहेका विसंगति र गलत अभ्यासलाई मेडियाले कम गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्छ र अहिले सम्मको अभ्यासहरु पनि सोही अनुसार हुदै आएरहेकोछ । तर कहिले काही सञ्चार कर्ममा रहेकाहरुको विचार दर्शन, र वर्ग फरक पर्न जाँदा कतिपय गम्भीर खालका विषयहरुमा मेडिया एकांकी पनि भएको देख्न र बुझ्न सकिन्छ । सञ्चारको दुरुपयोग व्यक्ति वा सिमित समुदायको हितका लागी प्रयोग भई गलत अभ्यासहरु भएको उदाहरणहरु हाम्रा सामु वेलावखतमा देख्न र सुन्न पाइन्छ ।

२०७५ मंसिर १० गते प्रकाशित

About The Author

Loading...