Fri. Mar 29th, 2024

व्यायामको सही नियमः जान्नैपर्ने केही कुरा

शरीर प्रकृतिको एक सुन्दर, परिपूर्ण रचना हो । यो शरीर जति चलयामान हुन्छ, उत्तिनै बलियो, हट्टाकट्टा र लचिलो बन्छ । यस शरीरलाई उचित खानपान र व्यायामको आडमा प्रकृतिले दिएको लचिलोपन एवं हट्टाकट्टापन जीवनभर सम्हाल्न सकिन्छ ।

हामी अरुको शरीर हेर्छौं, अरुको स्वास्थ्य हेर्छौं । र, आफूलाई त्यही अनुरुप स्वस्थ, तन्दुरुस्त, निरोगी, बलियो, सुडौल राख्ने इच्छा गर्छौं । तर, यसका लागि इच्छाले मात्र पुग्दैन, प्रयास जरुरी हुन्छ । अभ्यास जरुरी हुन्छ । नियमित अभ्यास ।

अरुलाई हेरेर होइन, हामीले आफैलाई हेरेर आफू कस्तो बन्ने भन्ने कुराको निर्क्यौल गर्नुपर्छ । भनिन्छ नि, ‘आफ्नो आफ्नो डम्फू, आफ्नो आफ्नै राग ।’ व्यायाम र शरीरको कुरा पनि ठीक यस्तै हो । व्यायामको रुपरेखा मानिसको स्वास्थ्यस्थिति, जीवनपद्धति, व्यवसाय, उमेर सबै कुरालाई ध्यान राखेर तय गर्नुपर्छ ।

कुनै एक व्यक्तिले जुन किसिमको जीवनपद्धती अपनाउन सक्छन् वा जुन किसिमको व्यायाम गर्छन्, त्यो दुरुस्तै अर्कोले अंगाल्न वा अनुसरण गर्न सक्छ भन्ने छैन । अरुको देखासिकीमा गरिने व्यायामले उचित प्रतिफल दिँदैन । यसले केवल तनाव, कष्ट मात्र दिन्छ । मनमा यस्ता विकार राखेर गरिएको गतिविधिलाई व्यायाम भन्न पनि मिल्दैन ।

बुझ्नुपर्ने त के भने, आफ्नो अवस्था र परिस्थिति अनुरुप उचित ढंगले व्यायामको रुपरेखा तय गर्नुपर्छ । समय छुट्याउनुपर्छ । त्यसैलाई पूर्णरुपले पालना गर्नुपर्छ । किनभने योग, व्यायाम, वेट ट्रेनिङ, साइक्लिङ, स्विमिङ, कुनै खेल वा नृत्यले शरीरलाई सधैं निरोगी राख्छ । तन्दुरुस्त राख्छ ।

शरीरमा कमजोर आउन दिनुहुन्न

राम्ररी व्यायाम गर्नका लागि शरीरमा कमजोरी आउन दिनुहुन्न । किनभने समुचित व्यायामका लागि सन्तुलित र पोषणयुक्त खाना, गहिरो निद्रा र पर्याप्त पानी आवश्यक हुन्छ ।

निरन्तरता

व्यायाम एक पटक गर्ने, छाड्ने वा मन लागेको बेला मात्र गर्ने बानी ठीक होइन । व्यायाम निरन्तर रुपमा गर्नुपर्छ, अन्यथा सबै बेकार हुन्छ । यदि नियमित रुपमा व्यायाम गरिएन भने त्यसले नकारात्मक प्रभाव पार्छ ।

-व्यायाम चाहे जुनसुकै किसिमको होस्, त्यसको मूलभूत तत्वलाई पालना गर्नुपर्छ ।

-कुन व्यायाम गर्ने हो, विशेषज्ञको राय अनुसार गर्दा बढी प्रभावकारी हुन्छ ।

-व्यायाम कष्टकर हुनुहुँदैन । यो सहज र सरल तरिकाले गर्नुपर्छ ।

-हरेक दिन व्यायामको तालिका निश्चित गर्नुपर्छ । एउटा निर्धारित समय तालिकामा व्यायाम गर्नुपर्छ ।

-खाने, काम गर्ने, रमाइलो गर्ने दिनचर्यामा व्यायामलाई महत्वका साथ स्थान दिनुपर्छ ।

-बिहानको व्यायाम अघि शौच क्रिया गरिसकेको हुनुपर्छ ।

-व्यायाम गर्नसाथ नुहाउनु हुँदैन ।

-व्यायामका लागि उचित स्थान वा वातावरण र उचित पहिरन हुनुपर्छ ।

-व्यायाम गरिरहँदा मनलाई प्रफुल्ल राख्नुपर्छ ।

-हिँडेको बेला श्वासन क्रियामा नियन्त्रण राख्नुपर्छ । लामो सास लिने क्रियाले हृदयको व्यायाम हुन्छ ।

-व्यायामका लागि कुनै खर्च लाग्दैन । यद्यपि जुत्ताका लागि खर्च गर्नुहोस् । सजिलो र छरितो जुत्ता लगाउनुपर्छ ।

-सुतीको मोजा प्रयोग गरौं ।

दौडनु एक परिपूर्ण व्यायाम

तौल नियन्त्रण गर्नका लागि, लचिलो बनाउनका लागि, शारीरिक क्षमता बढाउनका लागि दौडनु उपयुक्त हुन्छ । यसबाहेक मुटुलाई यसले निकै फाइदा गर्छ । हड्डीको क्षमता बढाउँछ । श्वासप्रश्वास क्रिया राम्रो बनाउँछ । रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

२०७५ मंसिर १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: