Fri. Mar 29th, 2024

माछा तराईको, स्वाद मलेखुको


२२ फागुन, धादिङ –

माछाका लागि चिनिदै आएको मलेखु बजार यतिबेला तराईका माछाले भरिएको छ । वि.स.२०३५ सालदेखि स्थानीय छविलाल मरहठ्ठाले माछाको व्यवसाय थालनी गरेपछि मलेखुलाई माछा बजारको रुपमा चिनिदै आएको छ । यहाँका स्थानीयहरुले पोखरीमा माछा पालेर व्यवसाय सुरु गरेका थिए । जसका कारण पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरु माछा खान भनेर नै रोकिने गर्दथ्यो । उनले व्यवसाय थालनी गरेपछि यहाँ वरपर माछाको व्यवसाय गर्नेको संख्या विस्तारै बढ्दै गएको थियो ।

करीब ४० वर्षको अवधिमा मलेखु बजार तराईको माछामा आत्मनिर्भर हुनुपरेको छ । माछाको नामले देशविदेशमा परिचित बनेपनि पछिल्लो समय मलेखु आसपासका क्षेत्रमा माछा उत्पादन हुन छाडेपछि जनकपुर, विरगंज, नारायणघाट तथा तराईको माछाको भर पर्नु परेको मलेुखका व्यापारी रमेश सेढाईले बताए ।

पहिले स्थानीयस्तरमा नै उत्पादन भएको माछाले थेगेको मलेखुबजार अहिले तराईको माछामा आत्मनिर्भर हुनुपरेको छ । जिल्लामा उत्पादित माछाले बजार धान्न नसकेपछि मलेखु बजारमा मात्र प्रतिदिन एकदेखि तीन टन भन्दा बढी माछा तराईका जिल्लाहरुबाट र भारतीय बजारबाट आयात हुने व्यापारीहरु बताउँछन् । केही समय अघिसम्म मलेखु बजारमा त्रिशुली नदी कै स्थानीय जातका माछाहरु खान पाईने भएपनि अहिले उपभोक्ताहरुको माग बढेसंगै माछा अन्यत्र स्थानहरुबाट आयात गर्ने गरेका छन् ।

पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने साना तथा ठुला सवारीका साधनहरुमा यात्रा गर्ने यात्रुहरुका लागि मलेखुमा पकाएको माछाका परिकारका स्वाद चर्चित बन्ने गरेको छ । त्रिशुली नदीमा पाईने स्थानीय प्रजातीका माछाहरु विभिन्न कारणले गर्दा लोप हँुदै गएकोले आजकाल मलेखु बजारमा भारतीय बजार र तराईका जिल्लाहरुबाट माछा आयात गर्न बाध्य भएको सेढाईले बताए ।

पहिले मलेखु खोला र त्रिशुली नदीको मात्र माछा पाइने यो बजारमा २०५० साल साउन ४ गते मलेखु खोलामा गएको बाढीका कारण खोलाको ढड्यानहरू बगाएपछि माछा बस्ने कुरहरू भत्किए । त्यसपछि तराई क्षेत्रका माछाले प्रवेश पाएका हुन् । अहिले मलेखुमा असला, कत्ले, झिंगे, वामसहितका माछा उपलब्ध छन् । तेलमा तारेको (फ्राइड माछा) माछा सबैले मन पराउँछन् । माछामा काँडा हुने भएका कारण पनि धेरैले तारेको मन पराउँछन् । जाडो समयमा आलो माछामा झोल हालेर खान मन पराउने पनि धेरै हुन्छन् ।

तरकारीबाट भन्दा माछाबाट बढि फाइदा हुने भएपछि तरकारीको ठेलामा समेत माछा राखेर विक्रि गर्ने गरेका छन् । उनीहरुले हातमा बोकेका सुकेको एक सिल माछाको ३ सय र नसुकाइएका आलो माछाको ६ सय रुपैया सम्ममा यात्रुहरुलाई विक्रि गर्ने गरेका छन् ।

जिल्लाको राजमार्ग क्षेत्रका होटलहरुमा माछाको ब्यापार राम्रो हुन थाले पछि किसानहरुलाई माछापालन तर्फ आर्कषित गर्न स्थानीय तहहरुले पनि तालिम तथा अनुदानहरु पनि प्रदान गर्दै आइरहेको छ । तर त्यस्ता कार्यक्रमहरुले भने माछा उत्पादनमा कुनै प्रभाव गरेको छैन । स्थानीयस्तरमा माछापालन नहुने भएपछि बाहिरी जिल्लाबाट नै ल्याएर भएपनि माछाको बिक्रि गर्ने गरेको व्यापारीहरु बताउँछन् ।

२०७५ फागुन २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: