Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

जन्मभुमिमा जनकवि केवलपुरे किसानको सम्झना

1 min read

????????????????????????????????????

मनिष दुवाडी/१ बैशाख, धादिङ-

“कि त जोत हलो, कि त छोड थलो
यदी होइन भने हुने छैन भलो”

यी पङित धादिङका चर्चित कवि केवलपुरे किसानका रचना हुन् । उनै जनकवि एवं हलो क्रान्तिका नायक देवीप्रसाद पौडेलको (केवलपुरे किसान) ९४ औँ जन्मजयन्ति प्राध्यापक, सर्जक र स्रष्टाहरुले धादिङको केवलपुरमै पुगेर मनाएका छन् । बाहुनले हलो जोत्न हुँदैन भन्ने सामाजिक कुसंस्कारका बिरुद्ध २००६ सालमा धादिङको केवलपुर लामिडाँडामा हलो जोतेर हल्लीखल्ली मच्चाएका कविप्रति उनकै जन्मभुमीमा पुगेर स्मृति सभा आयोजना गरि श्रद्धान्जली दिइयो ।

धादिङ सिर्जना प्रतिष्ठानले जनकवि केवलपुरे किसानको ९४ औँ जन्मजयन्तीको अवसरमा धादिङको थाक्रेगाउँपालिका स्थित केवलपुरमै गाउँपालिकाको सहयोगमा स्मृतीसभा आयोजना गरेको थियो । धादिङ र काठमाण्डौबाट बस नै रिजर्भ गरेर केवलपुरमा पुगेका बरिष्ठ साहित्यकार र प्राध्यापकहरुले कवि किसानलाइ गरिव जनता र किसानहरुको आवाज कविता मार्फत मुखरित गर्ने जनकविको रुपमा सम्झिए ।

बरिष्ठ साहित्यकार नरनाथ लुँइटेलले भने, ‘कवि किसानसंग मैले लामो समय उठबस गर्ने मौका पाएँ, एउटा निष्ठामा अडिग कवि, जनताका मन मतिष्कबाट कहिल्यै नहट्ने र गरिव जनताका आवाजहरु लोकलय र झ्याउरे भाकामा बाहिर ल्याउने कविको रुपमा सम्झन्छु ।’ झर्रा शब्दले शासकहरूलाई टर्रो प्रहार गर्ने उनले ‘बाहुनले पनि हलो जोत्न हुन्छ’ भन्ने सन्देश दिन आफैँले गोरु जोतेर विक्रम संवत २००६ सालमै सनसनी मच्चाएका थिए ।

काठमाडौं स्थित तीनधारा संस्कृत पाठशालामा पढ्दा भावी राजनीतिलाई दिशानिर्देश गर्ने ‘जयतु संस्कृतम’ को एक अभियन्ता पनि बने । संस्कृत पाठशालामा नागरिक शास्त्र, विज्ञान, अंग्रेजी जस्ता विषय थप्ने मागबाट शुरु भएको विद्यार्थी आन्दोलन अन्ततः राणाविरोधी राजनीतिक आन्दोलनमा परिणत भयो, अरू धेरै विद्यार्थीसँगै उनी पनि पाठशालाबाट निकालिए र बनारस पुगे । अध्ययन पश्चात नेपाल फर्किएर किसान आन्दोलनमा समाहित भएका ’किसान’ले बाहुनले हलो जोत्न हुन्न भन्ने मान्यता विरुद्ध आफैँले हलो जोतेपछि उनी रुढिवादि समाज वाटै निस्कासनमा परेका थिए । भाषाविद एवं साहित्यकार डाक्टर गाउँले बलदेवले भने, ‘उनी किसानका कवि थिए । कृषिप्रधान नेपालमा भोकभोकै रहेर अहोरात्र परिश्रम गरिरहने किसानमा उनका कविताहरु समर्पित भएका हुन्थे, उनका कविता सुन्ने जोकोहीलाइ पनि क्रान्तिका गर्नको लागि उक्साउथ्यो ।’

केवलपुरे किसान धादिङ जिल्लाको मात्रै नभइ राष्ट्रकै अमुल्य सम्पति रहेकाले उनको जन्मस्थलमा शालिक र पुस्तकालय बनाउने धादिङको थाक्रे गाउँपालिकाले बताएको छ । थाक्रेगाउँपालिका अध्यक्ष रामकुमार आचार्यले भने, ‘नेपाली साहित्य र किसान आन्दोलनमा उहाँले पु¥याएको योगदानलाइ भविष्यसम्म जीवन्त राख्नको लागि कवि किसान जन्मेकै ठाउँ केवलपुरमा हामी उहाँको शालिक र पुस्तकालय स्थापना गर्दैछाँै ।’

किसानको लेखनी मुलतः दुःखी, गरिब जनताका समस्या, सरकारी बेथिति र रुढीवादको चित्रण गर्दै सामाजिक जागरणतर्फ केन्द्रित रहेको पाइन्छ । ठेट तथा झर्रो भाषमा कविता लेख्न रुचाउने कवि किसानका ‘बाघ आयो’, ‘नेपाल नछो’, ‘समातेर पछार’, ‘छिःछिः’, ‘संघर्षको ठीक गर’, ‘बोको खस्यो’, ‘आँसुको पोखरी’ लगायत कविता संग्रह प्रकाशित छन् भने ‘केवलपुरेको आन्द्राभूँडि’ नामको सुन्ने कवितासंग्रह पनि छ ।

विक्रम संवत १९८३ मा धादिङको केवलपुरमा जन्मेका कवि किसानको वास्तविक नाम देवीप्रसाद पौडेल हो । कवि किसानको २०६८ असोज २२ गते निधन भएको थियो ।

२०७६ बैशाख १ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.