Thu. Mar 28th, 2024

धादिङका किसानको आकर्षण आधुनिक उपकरणमा


सरिता श्रेष्ठ /१५ बैशाख, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ सुविटारमा रामशरण त्रिपाठी पच्चीस वर्षदेखि कृषि पेशा अंगाल्दै आइरहेका छन् । पुस्तौदेखि मौसम अनुसारको तरकारी तथा खाद्यन्न बाली लगाउनु, गोडमेल गर्नु र बजारसम्म लैजानु उनको परिवारको पुख्यौली पेशा हो । पहिले पहिले घरपरिवार तथा छिमेकीहरुसँग आलोपालो गरेर गोरुले जोतेर खेती लगाउने उनले अहिले खेती लगाउन ट्याक्टर किनेका छन् । ‘गाउँमा गोरु पाइन छाड्यो, काम गर्ने मान्छे पनि पाइदैन’, उनले भने, ‘अहिले नयाँ नयाँ आधुनिक उपकरणहरु आइरहेका छन्, त्यसको प्रयोगले सजिलो पनि भएको छ ।’

त्रिपाठीले सात रोपनी खेतबारीमा गोलभेडा, घिउसिमि, काँक्रे, घेरौला लगायतका तरकारी बाली लगाएका छन् । धान, गहुँ, मकै जस्ता खाद्यन्न बाली पनि लगाउने गर्दछन् । परम्परागत कुटो, कोदालो, गोरुलगायतको प्रयोग मार्फत कृषि पेशा गर्दै आएका उनले समयाअनुकूल आधुनिक प्रविधितर्फ उन्मुख हुनुपर्ने बताए ।

तरकारी तथा खाद्यन्नका लागि धादिङ जिल्ला पकेट क्षेत्रको रुपमा लिइन्छ । राजमार्ग आसपासमा पर्ने सलाङ, जोगिमारा, बेनिघाट, धुषा, गजुरी, नौबिसे, केवलपुर लगायतका ठाउँहरु तरकारी खेतीको क्षेत्रको रुपमा गनिन्छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौँको कालीमाटी, पोखरा, नारायणघाट लगायतका ठाउँहरुमा बिक्रिका लागि लगिने गर्दछ । गाउँमा गोरु नपाउने र कामदारको अभावका कारण पहिलेको तुलनामा उत्पादन कम भएको किसानहरु बताउँछन् ।

किसानहरुलाई खेतीयोग्य जमिन बाँझो नराख्न आग्रह गर्दै स्थानीय तहहरुले पनि आधुनिक उपकरणहरु अनुदानमा प्रदान गर्दै आइरहेका छन् । कृषिमा आधुनिक उपकरणको प्रयोग भइरहदाँ बेनिघाट रोराङ गाउँपालिकास्थित कृष्णभिरका किसान हरिबहादुर चेपाङले पनि खेत जोत्नका लागि ५० प्रतिशत अनुदानमा ट्याक्टर किनेका छन् । ‘चार हल गोरुले जोत्ने खेत ट्याक्टरले एकै घण्टामा जोतेर बाली लगाउन लागि तयार पार्दछ’ उनले भने ।

गोरखाको गण्डकी गाउँपालिकासहित धादिङको बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकालाई समेटेर धादिङको विशालटारमा तरकारी जोन कार्यलय स्थापना गरिएको छ । कार्यलयले व्यावसायी कृषि खेतीतर्फ उन्मुख रहेका किसानहरुलाई कृषि औजार, बीउहरु प्रदान गर्दै आइरहेका छन् । ९३ जना किसानलाई मिनि टेलर, २७ जनालाई गोड्ने मेशिन, ९ जनालाई खाल्डो खन्ने मेशिन, एक सय ८ जनालाई स्प्रेयर लगायतका औजारहरु अनुदानमा वितरण गरेका छन् । किसानलाई समय समयमा खेती गर्ने तरिकाका बारेमा तालिमहरु पनि प्रदान गर्दै आइरहेको छ ।

समग्र कृषिक्षेत्रमा ट्याक्टरको सबैभन्दा बढी प्रयोग भइरहेको छ । खनजोत गर्नेदेखि बाली काट्ने उपकरणसम्म ट्याक्टर जडान गरी प्रयोग भइरहेका छन् । त्यसैले, केही वर्षयता ट्याक्टरको माग निरन्तर बढ्दै गइरहेको तरकारी जोन धादिङका बरिष्ठ कृषि अधिकृत केशवराज काफ्लेले बताए । ‘आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएपछि परम्परागत हलो, कोदालो लगायत उपकरण छाडेर आधुनिक उपकरणको माग बढेको छ’ काफ्लेले भने, ‘कृषि जोन कार्यलयले पनि किसानहरुलाई लक्षित गरेर ५० प्रतिशत अनुदानमा मिनि टेलर,डिजिटल काँटा, प्लास्टिक पोखरी, खाल्टो खन्ने मेशिन, गेट भल्प, पानी तान्ने मोटर लगायतका कृषि औजारहरु प्रदान गर्दै आइरहेका छौँ ।’

२०७६ बैशाख १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: