Fri. Mar 29th, 2024

धादिङमा रासायनिक मलको हाहाकार


१ जेठ, धादिङ –

खेत रोपाइ गर्ने बेलामा प्रशस्त पानीको अभाव भएपनि जसोतसो रोपाइ गरेका किसानहरुलाई यतिबेला रासायनिक मलको अभावले सताउन थालेको छ । सिमित ठाउँमा मात्र रोपाई गरेका किसानहरुलाई अहिले खेतमा हाल्ने युरिया मलको चरम अभाव हुन थालेको छ ।
मलको अभाव यसवर्ष मात्रै होइन, प्रत्येक वर्ष देखिने गर्दछ । किसानहरुले जसोतसो बाली लगाएपछि त्यसलाई हुर्काउने समयमा मलको हाहाकार हुने गर्दछ । यो क्रम यसपाली पनि दोहोरिएको छ । मल नपाएपछि ग्रामीण क्षेत्रका किसानहरु सदरमुकाम धादिङबेसी, गजुरी, नुवाकोट, चितवन लगायतका ठाउँहरुमा पनि धाइरहेका छन् । तर मलको समाधान हुन सकेको छैन । एकातर्फ रोपाइ गरिएको खेतमा भनेजति पानी लगाउन पाइएको छैन भने रोपो गोड्ने समय भएको र गोडमेल गरेपछि मल राख्ने समय भएपनि मल खाद नपाउँदा उत्पादन कम हुने भन्दै किसानहरु चिन्तित बनेका छन् ।
बजारमा फाट्टफुट्ट रुपमा मल आएको भएपनि किसानहरुलाई आवश्यक पर्ने जति मल नआउँदा मल खोज्दै धादिङवेसीका एग्रोभेट पसलहरुमा आएका किसानहरु फर्कन बाध्य भएका छन् । लामो समयदेखि धादिङका किसानहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दे आएको नीलकण्ठ सहकारी संस्थाले पनि किसानलाई आवश्यक पर्ने मल पर्याप्त वितरण गर्न सकेको छैन । मल लिनका लागि दैनिक किसानहरुको लाम लाग्ने भएपछि सहकारीमा मल नआउदाँ किसानहरुलाई वितरण गर्न नसकेको बताएका छन् ।
किसानहरुले खेती सुरु गर्नुपूर्व देखि नै मलको अभाव खेप्दै आइरहेकाले उत्पादन घट्न सक्ने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र धादिङका अनुसार जिल्लाभर एक वर्षमा १२ हजार मेट्रिकटन मल आवश्यक पर्ने गर्दछ । कृषि सामग्री कम्पनि लिमिटेडले मुस्किलले ४ हजार मेट्रिकटन मल ल्याउने गर्दछन् । बाँकी आवश्यक मल व्यापारीहरुले चोरबाटोबाट ल्याएर महंगो मूल्यमा बेच्ने गरेका छन् ।
युरीया बाहेक पोटास र डियपी मल धेरै जसो मद खाद बिक्रि गर्ने शहकारी पसलहरुमा स्टक रहेको छ । यो समयमा चैते धानमा युरीया मल नै आवश्यक हुने भएकाले मलको हाहाकार मच्चिएको हो ।
जिल्लामा १६ हजार हेक्टर क्षेत्रमा धान खेती गरिदै आएको छ । वार्षिक ५० हजार मेट्रिक टन वर्षे धान र २० हजार मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ ।

२०७६ जेठ १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: