Wed. Jun 26th, 2019

Pabil News

Dhading Media

धादिङमा विभिन्न घटनामा फरार रहेका २० जना पक्राउ


सरिता श्रेष्ठ / २८ जेठ, धादिङ –


धादिङ प्रहरीले साढे १२ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरि बैशाख १६ गते सार्वजनिक ग¥यो । २०६३ साल कात्तिक ७ गते राती ८ बजेको समयमा उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं २ स्थित कामी गाउँमा २७ वर्षीय देव बहादुर बिकलाई देउसी खेल्न जाउँ भन्दा बिरामी भएकोले नमानेको कारण ८ जनाले कुटपिट गरी मारेका थिए । घटनापछि फरार रहेका तीनजनालाई काठमाडौँ, रसुवा र धादिङबाट पक्राउ गर्न सफल भयो ।

धादिङ प्रहरीको ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत घटनामा संलग्न आठ जना मध्ये रुविभ्याली गाउँपालिका –२ बस्ने ५९ वर्षीय बमबहादुर बिकलाई तिप्लिङको कामी गाउँबाट, ३४ वर्षीय हेम डल्ला बिकलाई रसुवाको आमा छोदुङमो गाउँपालिका र ४० वर्षीय सार्की बिकलाई काठमाडौँको गौशलाबाट पक्राउ गरिएको थियो । सादा पोशाकमा प्रहरी खटाई बमबहादुरलाई बैशाख ११ गते, हेम र सार्कीलाई बैशाख १५ गते पक्राउ गरेका हुन् । घटनाका आरोपी बमबहादुरलाई दुई वर्ष, बमबहादुर र डल्ला दुवैलाई २० वर्ष कैद तोकिएको छ । घटनामा संलग्न अन्य चारजनाले सफाई पाइसकेको र एकजनाको दुई वर्षअघि नै मृत्यु भएको परिवारले जनाएको छ ।

त्यस्तै कर्तव्य ज्यान मुद्धामा कैद सजाय तोकिएर फरार रहेका चार जनालाई बैशाख ३१ गते पक्राउ गरिएको छ । २०५३ असार ४ गते तत्कालिन पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतको फैसलाले चारैजनालाई सजाय सुनाएको थियो । सजाय तोकिएर फरार रहेका चारैजनालाई पक्राउ गरि कारागार चलान गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १ स्यालडाँडा बस्ने ४९ वर्षीय रेशमबहादुर नेवार (३ महिना १० दिन), ४९ वर्षीय लालबहादुर श्रेष्ठ (३ महिना १० दिन सजाय), ४५ वर्षीय क्षेत्रमान श्रेष्ठ (५ महिना सजाय), ४८ वर्षीय झमबहादुर श्रेष्ठ (३ महिना १० दिन सजाय) छन् ।

यी दुई घटना उदाहरण हुन् । अदालतबाट अपराधी प्रमाणित भएर पनि लामो समयसम्म कैद तथा जरिवाना भुक्तान नगरी फरार भएका अपराधीहरुलाई धादिङ प्रहरीले निगरानी राख्न थालेको प्रहरी उपरीक्षक राजकुमार बैदवार (एसपी)ले बताए । ‘दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा यसले नराम्रो प्रभाव पारेको छ’ एपसी बैदवारले भने, ‘फरार अभियुक्त पक्राउ बिशेष अभियान संचालन पश्चात पक्राउ गर्न सफल भएका छौँ ।’

प्रहरीले पक्राउ गरेकाहरु मध्ये कर्तव्य ज्यान मुद्धा, सार्वजनिक अपराध मुद्धा, लागुऔषध गाँजा चरेश मुद्धा, सवारी ज्यान मुद्धा लगायतका घटनाहरुका आरोपीहरुलाई छन् । केही व्यक्ति भने जेल सजाय नभएको तर, थोरै रकम जरिवाना तिर्नुपर्ने नतिरेका पनि छन् । त्यस्ता व्यक्ति जरिवाना तिरेर छुटेका छन् । फरार अपराधी पक्राउ गर्ने अभियान सफलतापूर्वक संचालन गरिरहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत माघ महिनादेखि बैशाखसम्म विभिन्न घटनाका २० जना फरार अभियुक्त पक्राउ परेका छन् । जसबाट ७१ हजार ८७ रुपैया जरिवाना रकम असुल गरिएको छ ।

२०७६ जेठ २८ गते प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Copyright © All rights reserved. | Newsphere by AF themes.