Fri. Apr 19th, 2024

उत्तरी धादिङमा पाखो बारीमा अलैची खेती

सरिता श्रेष्ठ/ २८ जेठ, धादिङ –

खनियाबास गाउँपालिका २ का नरसिंह तामाङले बारीभरी अलैची लगाएका छन् । पाखोबारीमा लगाइएको अलैची खेती तामाङ परिवारको आम्दानीको गतिलो माध्यम बनेको छ । भिरालो र ओसिलो ठाउँ भएको जमिनमा अलैची खेती राम्रो हुने गरेको तामाङ बताउँछन् । ‘खेर गएको बारीमा लगाएको अलैचीले हाम्रो गर्जो टर्ने गरेको छ’ तामाङले भने ‘मेहनत गरे डाँडापाखामै सुन फलाउन सकिदो रहेछ ।’ गर्न जानियो भने पाखो बारीमा पनि सुन फल्ने तामाङ बताउँछन् । झार र बुट्यानले भरिएर घारी भएको बारीको वारपार अलैची लगाएका छन् ।

तामाङले ११ रोपनी जग्गामा अलैची लगाएका छन् । अन्य खेतीबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि बाँझो भएको जमिनमा अलैची लगाउन सुरु गरेका थिए । सबै खर्च कटाएर अलैँचीबाट वार्षिक सजिलै तीनचार लाख रुपैयाँ बचत गरिरहेका छन् । चार छोराछोरीलाई पढाउन र घरायासी कामका लागि सजिलो भएको तामाङ बताउँछन् । प्रतिकिलो एकदेखि दुई हजारसम्ममा स्थानीय बजारमा अलैची बिक्रि हुने गर्दछ । अलैचीको माग देशका अन्य बजारहरुमा समेत भएपनि माग अनुसार आपूर्ति गर्न नसकिएको तामाङ बताउँछन् ।

अन्न बालीको तुलनामा खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भए पछी पछि किसानको आकर्षण अलैची खेतीतर्फ भएको छ । भूकम्पपछि झनै अलैची खेतीलाई बढावा दिएको तामाङ बताउँछन् । ‘राम्रो आम्दानी हुन थालेपछि व्यवसायिक रुपमै अलैँची खेतीमा होमिए’ तामाङले भने, ‘अहिले व्यावसायीक खेती बिस्तारमा लागेको छु ।’ अलैंची खेतीको लागि उपयुक्त हावापानी भएको र बाँझो खेतीयोग्य जमिनको पनि सदुपयोग हुने सोचका साथ अलैची खेती गरेको उनको भनाई छ । विदेशिने युवाका लागि तामाङ उदारणीय पात्र बनेका छन् ।

गाउँका अन्य किसानहरुले पनि पाखो बारीमा अलैची खेती गर्न थालेका छन् । परम्परागत नगदे बालीमा सर्वाेत्तम खेतीका रुपमा अलैंचीलाई मानिन्छ । परम्परागत तरिकाले खेती नगरेर अलिकति अक्कल लगायो, तालिम लियो र नयाँ तरिका सिक्यो भने सुनकै खेती सरह हुन्छ अलैंची खेती । खोल्सा बाहेक अन्यत्र रोप्न सकिने अलैंचीको प्रजाति र प्रविधिको पनि विकास भएको छ । अलैंची खेतीका लागि दिनभर खटिइरहनु नपर्ने भएका कारण पनि यो खेती गर्न सजिलो हुने किसानहरु बताउँछन् । अरु खेती जस्तै समय समयमा काम गरे पुग्छ र बाँकी समयमा अन्य केही उद्यम गर्न पनि सकिन्छ ।

भिरालो जमिनमा मेहनत गरेर अलैंंची खेती गर्न थालेपछि उत्तरी धादिङका स्थानीयको आम्दानीको राम्रो स्रोत बनेको छ । एकै घर परिवार आठदेखि बीस रोपनीमा यसको खेती गरेका छन् । पाखोबारीमा मात्रै होइन उतिसका जंगलहरुमा समेत किसानहरुले सामुहिक रुपमा खेती गरेको खनियाबास ३ का मरिचमान तामाङले बताए । ‘एकातिर खेर गएको पाखो बारीको सदुपयोग भएको छ भने अर्कोतिर आम्दानीको राम्रो माध्यम बनेको छ’ तामाङले भने, ‘अन्य खेती छोडेर बारीभरी अलैची खेती गर्न थालेका छौ ।’ अलैचीबाट सुगन्धित तेल, आयुवेर्दिक औषधी, मसला लगायतका सामान उत्पादन हुने गर्दछ ।

धादिङ जिल्लाका लागि अलैची खेती नयाँ खेतीकै रुपमा परिचित छ । गत साल सम्म प्रति रोपनी जमिनमा लगाएको अलैचीबाट किसानहरुले एक देखि पचास हजारसम्म आम्दानी गर्ने गरेको बताएका छन् । गत सालको तुलनामा यस वर्ष अलैची दोब्बरले बृद्धी भएको छ । ‘अलैंची जति पुरानो भए पनि सड्दैन, गल्दैन । त्यसैले फाल्नुपर्ने समस्या आउँदैन । जति उत्पादन गरे पनि खेर जाँदैन । त्यसैले पनि धेरै किसान अलैंची खेतीतर्फ तानिएका हुन् ।’ तामाङले भने, ‘आत्मविश्वास, मेहनत र लगनशीलता हुने हो भने विदेशमा होइन स्वदेशमै पनि केही गर्न र राम्रै आम्दानी गर्न सकिन्छ ।’

समुन्दी सतहबाट एक हजार एक सय मिटरको उचाईसम्म यो जातका अलैंचीको खेती गर्न सकिन्छ । विजु विरुवाले तीन वर्षमा राम्ररी उत्पादन दिने गर्दछ । अलैची खेती मात्र होइन, यसको बिरुवमा समेत उत्पादन गर्न थालेका छन् । अन्यत्र स्थानबाट ल्याएका अलैचीका विरुवामा माटोमा देखा पर्ने भाईरस लगायतका रोगहरु अलैचीमा आउन सक्ने भन्दै गत वर्षदेखि भने गाँउमा नै विरुवा समेत उत्पादन गर्नका लागि नर्सरी बनाउन सुरु गरेका छन् । उत्पादन गरेका विरुवाहरु राम्रो भएको बताउदै जिल्ला कृषि विकास कार्यालय धादिङले किसानहरुलाई वितरण गर्ने अलैचीको विरुवा स्थानीय फर्महरुबाटै लगिदिनु पर्ने माग समेत गरेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने झार्लाङ, रि र दार्खाका किसानहरुले व्यवसायीक रुपमा नै अलैची खेती गर्ने गरेका छन् ।

२०७५ जेठ २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: