Fri. Mar 29th, 2024

सीप सिकेर आत्मनिर्भर बन्दै अपांग महिलाहरु


सरिता श्रेष्ठ / २८ कात्तिक,  धादिङ  –

जन्मजात अपांग भएकी धादिङको गल्छी गाउँपालिका –७, पलाङखर्ककी २१ वर्षीय भवानी कार्कीले एक वर्षसम्म धादिङको वैरेनीमा सिलाईकटाई सिकिन् । जन्मजात दुवै खुट्टा लुलो भइ हिड्न नमिल्ने भएपछि ६ जनाको परिवारमा आफू मात्रै शारीरिक अपांगता भएर बस्नुपर्दा अरुको बोझ जस्तै लाग्ने गरेको कार्कीले बताइन् । ‘सानो हुदाँ साथीभाई, छरछिमेकीहरुले पनि जिस्काउने गथ्यो, नराम्रो व्यवहार गथ्यो’, कार्कीले भनिन्, जिस्काउने तथा नराम्रो व्यवहार गर्ने भएपछि घरमा पाहुना आउँदा कहिले पनि कोठाबाट बाहिर निस्किनथे ।’

भवानी एकवर्षदेखि जिल्लाको गल्छी, बैरेनीमा सिलाईकटाई तालिम लिइरहेकी छन् । सुरुसुरुमा काम गर्न असहज भएपनि बिस्तारै बानी परेको उनले सुनाइन । तालिममा उनी जस्तै अपांगता भएका महिलाहरुले तालिम लिइरहेका छन् । एकवर्षसम्म उनले कुर्ता, सलवार, स्कुलका ड्रेस, बच्चाहरुको कपडाहरु सिलाउने सीप सिकिन् । सीप सिकेर आफूमा आत्मबल बढेको उनले बताइन् । ‘सीपले आत्मनिर्भर बनाएको छ’ कार्कीले भनिन्, ‘अब गाउँमा गएर अरु दिदीबहिनीहरुलाई पनि आफूले सिकेको सीप सिकाउनेछु ।’ कटिङ, हेविङ तथा सिलाईमा पोख्त भएपछि उनीमा खुसीको सिमै छैन ।

भवानीसँग ताप्लेजुङका २४ वर्षीय प्रमिला शेर्पा पनि सिलाईकटाई तालिम सिकिरहेकी छन् । सानैदेखि शारीरिक अपांगता हुन पुगेकी शेर्पा सीप सिक्नकै लागि धादिङ आइपुगेकी हुन् । ताप्लेजुङमा अपांगता भएकाहरुलाई निशुल्क रुपमा खासै तालिम तथा सीपहरु नपाउने भएका कारण अपांग संघ मार्फत एक वर्ष अघि धादिङमा आइपुगेकी थिइन् । आफ्नो घरपरिवार र छरछिमेक छोडेर अन्य ठाउँमा नगएका शेर्पा राजधानी नजिकैको ठाउँमा आइपुग्दा नौलो अनुभव गरेकी थिइन् । उनले हरेक डिजाइनका कुर्ता, सलवार, पाइन्ट, बच्चाका कपडाहरु सिलाउने गर्छिन् ।

मेरीक्नोल फार्दश एण्ड ब्रदर्श, यूएसए काठमाडौँ नेपालको आर्थिक सहयोगमा अपांग कल्याण संघ धादिङको आयोजनामा संचालिन एक वर्षे निशुल्क आवसिय सिलाई कटाई तालिममा सहभागी अपांगता भएका महिलाहरुले उत्साहित भएका छन् । अपांगता भएकाहरुमा पनि विभिन्न फरक क्षमता हुने भएका कारण आत्मबल बढाउन तालिमहरु संचालन गर्दै आइरहेको अपांग कल्याण संघका महासचिव गोविन्द खनालले बताए । ‘हरेक वर्ष अपागंता भएकाहरुलाई आत्मनिर्भर बनाउन तालिम संचालन गर्दै आइरहेका छौँ’, खनालले भने, ‘तालिममा सहभागीहरुले व्यावसायीक रुपमा काम गरि आम्दानी पनि लिने गरेका छन् ।’

अपांगता भएकाहरुको आत्मबलका लागि अपांग कल्याण संघले निशुल्क रुपमा तालिमहरु संचालन गर्दै आइरहेको छ । तालिममा अपांगता भएका र विपन्न महिलाहरुलाई सहभागी गराउँदै आइरहेको छ । सवारीसाधन, सरकारी कार्यलय तथा संघसंस्थाहरु अपांगमैत्री नहुदाँ समस्या हुने गरेको अपांग कल्याण संघ धादिङका अध्यक्ष गुणराज खतिवडाले बताए ।

२०७५ कात्तिक २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: