Fri. Mar 29th, 2024

धादिङको ओवाङबाट ५ सय ७० केजी लागूऔषध गाँजा र हतियार सहित तीन जना पक्राउ


२९ मंसिर, धादिङ –

धादिङको बेनिघाट रोराङ गाउँपालिका –२ ओवाङ गाउँबाट प्रहरीले लागुऔषध गाँजा र हातहतियार सहित तीनजनालाई पक्राउ गरेको छ । धादिङ र मकवानपुरको सीमा क्षेत्रमा पर्ने ओवाङमा प्रहरीको विशेष सुराकीका आधारमा पाँच सय ७० किलो प्रतिबन्धित गाँजा र ५ थान हतियार बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा धादिङ बेनिघाट रोराङ गाउँपालिका –२ घर भई हाल चितवनको ईच्छाकामना गाउँपालिका –७ बस्ने भएका ४० वर्षीय गुन्जबहादुर घलान, बेनिघाट रोराङ गाउँपालिका –२ बस्ने ४० वर्षीय ठुलोकान्छा तामाङ, सोही ठाउँ बस्ने ३० वर्षीय सानोकान्छा तामाङ रहेका छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

स्थानीयहरुको घर खानतलासी गर्ने क्रममा ५ सय ७० किलो अबैध लागु औषध गाँजा, १२ बोरको बन्दुक १ नाल, भरुवा बन्दुक ४ नाल गरी जम्मा ५ नाल बन्दुक बरामद गरेको छ । त्यस्तै उनीहरुको साथबाट सात लाख पचास हजार नगद र मोबाइल सेट १ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरीको संयुक्त प्रहरी टोलीले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बिकले जानकारी दिए ।

२०७५ मंसिर २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: