Today: October 24, 2017

‘हामीले हाँस्न पाउने कहिले ?’

गायत्री खतिवडा –

लेख्ने कुरा यत्रतत्र छरिरहेको छ । तर के लेख्ने ? म अन्यौलमा छु । हरदिन हर पाइलामा एउटा नमिठो अनुभूत गरिरहन्छु । समाजमा हुने हिंसा, विभेद, शोषण, अन्याय, विवेकहिनताले मलाइ चिमोटि रहन्छ ।

असोज ७ गते । एक वर्ष भयो । कहिल्यै नर्बिसने त्यो कालो रातको सामना गर्नु परेको । कुनै अपराधिलाई घेरा हालेर एम्बुसमा पारेर आक्रमण गरे जसरी आक्रमण गरियो । मानौं हामी मारिनु पर्छ अनि मात्र राज्यले युद्ध जित्छ । मानौं हामी देशद्रोहको काम गरिरहेका थियौं । मानौ हामीले राष्ट्रिय अखण्डतामा खलल पु¥याएका थियौं । त्यसैले उज्यालोमा होइनमा रातको समयमा घेराबन्दीमा पारेर हामीमाथी आक्रमण गरियो । दुव्र्यवहार गरियो ।

दुःखजिलो गरेर सवैको सहयोगले महिला सुरक्षित घर (सेफ हाउस) आफ्नै भवनमा सञ्चालनमा आएको थियो । घरबाट निकालिएकी ४ महिनाकी सुत्केरी प्रभावित महिला, प्रहरीले ल्याइदिएको अपाङ्गता भएकी प्रभावित लगायत ६ जना प्रभावितहरुले आश्रय लिएको महिला सुरक्षा घरमा राज्यले निर्मम तरिकाले आक्रमण ग¥यो । सयौंका संख्यामा हतियारधारी सेना परिचालन गरेर जुन आक्रमण गरियो त्यसको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ । आज पनि उत्तिकै निन्दा गर्दछु ।

यो आर्थिक वर्षमा २ सय ४६ जना त्यस्ता प्रभावितले हामीलाई भेटे । जो आफ्नै श्रीमान, परिवारका सदस्य र आफन्तहरुबाट जोखिममा परेका थिए । ९५ प्रतिशत पुरुषहरु कुनै न कुनै हिसाबले हिंस्रक र आपराधिक मानसिकताको भएको पाइएको छ । पुरुषहरु आफुले आफैलाई बलवान, क्षमतावान, नियन्त्रणकर्ताको रुपमा बुझ्ने गरेको पाइएको छ । महिलाहरु कमजोर, दयालु, रुन्चे, नेतृत्व गर्न नसक्ने हुन्छन् भन्ने सोच्ने गरेको र त्यसै अनुरुप नियन्त्रण गर्ने गरेको पाइन्छ ।

महिला “हाम्रो दाँजोमा कुनै हालतमा हुन सक्दैनन” भन्ने ग्रसित मानसिकताबाट हुर्किएर आएका पुरुषले आफ्नो जिवनमा जोडिएका महिला (श्रीमती, छोरी, आमा, दिदीबहिनी) माथी नियन्त्रण राख्ने, दमन गर्ने र स्वतन्त्रता हनन गर्ने गरिरहेका हुन्छन् । त्यसलाई उनीहरु संस्कार ठान्छन् । घरभित्रको कुरा भन्छन् । यस्ता व्यवहारका विरुद्धमा कुनै छोरी , बुहारीले बोल्ने हिम्मत गरेमा उल्टै महिलालाई लाञ्छना र आरोप लगाउने गरिन्छ । यही मानसिकताबाट गुज्रिएर शिक्षित भएका हिंस्रक व्यक्तिको नेतृत्वमा “महिला सुरक्षा घरमाथी” आक्रमण गरियो । यस्तै सोच र मानसिकतामा हुर्किएकाहरुले तालि बजाए र हाँसे ।

“ पितृसत्ता ” यो समाजको जरामा छ । पितृसत्ताले नै यो दुनियाँ नियन्त्रण गरिरहेको छ । महिलाको आदर गरिनुपर्छ भन्ने कुरा “ पित्तृसत्ताले ” स्विकार गर्दैन । महिलाले गरेको कामको कदर गरिनुपर्छ भन्ने कुरा पित्तृसत्ताले मान्दैन । महिलासंग काँधमा काँध मिलाएर सहकार्य गरिनुपर्छ भन्ने कुरा स्विकार गर्दैन । महिलाको इज्जत हुन्छ भन्ने ठान्दैन । महिला सुरक्षित घर भत्काइनु केही दिन अगाडी जिल्ला बन अधिकृत इमानाथ पौडेलले बोलेको शब्द अहिले पनि ताजै छ । “अर्काको घर फुटाएर, यहाँ ल्याएर मान्छे थुपार्दै डलर खानेहरुको तागत हेर्छु ” । हिंसा प्रभावितप्रतिको संवेदनाहिन यही वाक्यले व्यक्तिको सोच छल्र्लङ्ग हुन्छ ।

यो समाजले महिलालाई मानवको रुपमा स्विकार गरेको छैन । तब न महिलामाथी हुने हिंसा, विभेद र शोषण सामान्य बनिरहेको छ । अरुसंग बोलेको आरोप लगाइनु, खान लाउन नदिनु, घर निकाला गरिनु, परिवारबाट एक्ल्याइनु, छोराछोरी खोस्नु, मार्ने धम्कि दिनु, एक्लै हिडडुल गर्न नदिनु , कुनै कुरामा निणर्य गर्न नदिनु , आफुखुशी पेशा र रोजगारीको छनौट गर्न नदिनु यि सब कुरा यो समाजका लागि समान्य कुरा हो । हो महिलालाई यस्तै गरिनुपर्छ भन्ने मान्यता राख्छ ।

एक आर्थिक वर्षमा खान लाउन नदिएको र श्रोतबाट बञ्चिएको १ सय १३ जना व्यक्तिहरु हामीकहाँ आइपुगे । अझ आउन नसकेका त कति होलान् ? विभिन्न आरोप लगाएर ९ जनालाई घर निकाला गरिएको थियो । विवाहदर्ता र नागरिकता नबनाइदिएर दुःख पाएका १७ जना आइपुगेका थिए । बहुविवाहबाट पीडित भएका ४६ जना आइपुगेका थिए । घरेलु हिंसाका कारण मानसिक स्वास्थ्य समस्या भएर आत्महत्या गरेको घटना पनि थियो । बोक्सीको आरोप, गालीगलौज, दुव्र्यवहार, मानसिक यातना, लगायतका घटनाका प्रभावित न्याय खोज्न हामीकहाँ आइपुगेका थिए । विभिन्न बहानामा ६६ जना महिला शारिरीक हिंसा –कुटपीट)को शिकार भएका थिए । यौनहिंसाको शिकार भएका २४ जना बालिका, किशोरी र महिला प्रभावित न्याय, सुरक्षा र संरक्षण खोज्दै आएका थिए । जति पनि यि हिंसाका स्वरुपहरुले देखाउँछ, यो समाज कता जाँदै छ ? भनेर ।

महिलाको मुल्य, मर्यादा र सम्मान नहुँदा सम्म समाजमा यस्ता घटना भैरहन्छ । जसलाई सामान्य रुपमा समाजले पचाइरहन्छ । हाम्रो संस्कार र हुर्काइ पनि गलत छ । बच्चाले बामे सर्न थालेदेखि नै छोरीलाई यो गर्न हुने र नहुने भनेर सिकाउँछौं । तर छोरालाई सिकाउन जरुरी ठान्दैनौं । छोराले नराम्रो गरेको कुरालाई पनि प्रोत्साहित गरिरहेका हुन्छौं । फलतः उनीहरुले यही ठान्छन् मैले जे गरे पनि हुन्छ । मैले गरेका सवै काम , बेकाम ठिक छ । सानैदेखिको हुर्काइले ठूलो हुँदा कस्तो बन्ने भन्ने अर्थ राख्छ । पछि गएर व्यवहारमा प्रतिबिम्वित भएको हुन्छ ।

एक वर्षमा भएका घटनाका पीडक हेर्दा सवैभन्दा धेरै श्रीमान भएको पाइएको छ । २ सय ४६ घटनाका पीडक मध्ये १ सय ९० जना श्रीमान थिए । यो हुनुको कारण त्यही हो उ कसरी हुर्कियो ? उसले आफ्नो परिवार भित्र कस्तो वातावरण पाएको थियो ? एउटा अध्ययन अनुसार हिंस्रक परिवारमा जन्मिएका छोराहरु हिंस्रक नै हुने देखाएको छ । एक जना पुरुषको भनाइ सम्झन्छु “म सानो हुँदा मेरो हजुर बुबाले हजुर आमालाई दिनहुँ जसो गाली गर्नुहुन्थ्यो । मारपिट झगडा भइरहन्थ्यो । मेरा बुबाले पनि आमालाई गालि गरिरहनुहन्थ्यो । त्यही गालि गलौज र झगडा हुन्थ्यो । खाना मिठो नपकाएको निहुँमा , आमाले आफुखुशी काम गरेको निहुँमा, नसोधिकन बाहिर गएको निहुँमा । मलाई पनि यस्तै लाग्थ्यो । मेरो आमाको ढंग छैन । मेरो आमा अटेरी हुनुहुन्छ । बुबाले भनेको मान्नुहुन्न । मेरो आमालाई केही आउँदैन । पछि मेरो विवाह भएपछि मैले श्रीमतीमाथी पनि त्यही व्यवहार गरें । जुन मेरा हजुर बुबाले हजुरआमालाई गर्नुभयो । मेरो बुबाले आमालाई गर्नुभयो । किनकी मैले महिलालाई कसरी तह लगाउनुपर्छ भन्ने सिकेको थिएँ । देखेंको थिएँ । महिला भनेको हाम्रो ‘मुठ्ठी भित्रको बस्तु’ हो भन्ने मैले बुझेको थिएँ । जसरी पनि तह लगाउनु पर्छ । भनेको नमानेमा पिटेर पनि तह लगाउनुपर्छ भन्ने कुरा सिकेको थिएँ ।”

यस्तै शिक्षा र सोच लिएर हुर्किएका पुरुषले आफ्नो जिवनमा जोडिने हर नाताका महिलामाथी नियन्त्रण राख्न चाहन्छ । त्यसलाई स्वभाविक प्राकृतिक कुरा ठान्छ ।

हिंसाको कुरा गर्दा नचिनेको मान्छेबाट कम मात्रै घटना भएको पाइएको छ । २ सय ४६ मध्ये ७ जना मात्र नचिनेको मान्छेबाट हिंसा भएको पाइयो । १८ जना परिवारका सदस्यहरु बाट, आफन्त ९, छिमेकी १०, साथी ४ र अन्य व्यक्तिहरु ६ जनाबाट हिंसा भएको तथ्याङ्कले देखाएको छ । धादिङ जिल्लामा यही आर्थिक वर्षमा २ जना बालिकाहरु आफ्नै संरक्षकद्धारा यौन हिंसाको शिकार भएका छन् । दाजु, मामा, काका, हजुरबा पर्ने नाताका पुरुषहरुद्धारा हिंसाको शिकार भएका छन् । नचिनेको मान्छेद्धारा नराम्रो व्यवहार गरिने डरमा आफन्तको संरक्षण खोजिन्छ । कतै हिड्दा आफन्तसंग हिडिन्छ । तर आफन्तहरु नै सवैभन्दा असुरक्षित रहेको तथ्याङ्कले देखाएको छ ।

आफ्नाहरु बाट नै धेरै असुरक्षा हुन्छ भने को संग सुरक्षाको आश गर्ने ? को संग आफुमाथी भएको दुखेसो पोख्ने ? को संग मन विसाएर रुने ? को संग निर्धक्कसंग हात समाएर हिड्ने ? घरभित्र र घरबाहिर जहींतहीं विभेद, शोषण र हिंसा हुन्छ भने कहाँ खुलेर रम्ने ?अनि कहाँ र कहिले खुलेर हाँस्ने ??

 

२०७४ असोज ९ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट