Fri. Mar 29th, 2024

वैदेशिक रोजगारीमा जाने २ प्रतिशत मात्रै दक्ष, अदक्ष ७४ प्रतिशत


८ बैशाख , काठमाडौं –

वैदेशिक रोजगारीमा जान नेपालीमध्ये धेरै अदक्ष कामदारकै रुपमा जाने गरेको पाइएपछि सरकारले अब तालिम दिएर मात्रै पठाउने तयारी गरेको छ ।

जाने मध्ये ७४ प्रतिशत अदक्ष र २४ प्रतिशत अर्धदक्ष कामदारका रुपमा जाने गरेका छन् । दक्ष कामदारका रुपमा जाने युवा २ प्रतिशत मात्रै छन् । यही तथ्याङ्कलाई मध्यनजर गर्दै सरकारले अब तालिम दिएर मात्रै विदेश पठाउने तयारी गरिरहेको युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए ।

राष्ट्रिय युवा परिषदले भक्तपुरमा गरेको कार्यक्रममा सचिव सापकोटाले अहिले अर्धदक्ष युवा विदेश गइरहेकाले अब तालिम दिएर मात्रै विदेश पठाउने बताए । अदक्ष वा अर्धदक्ष कामदारको तुलनामा दक्ष व्यक्तिले विदेशमा दोब्बर तलब पाउने उनको भनाई छ ।

सचिव सापकोटाले युवालाई देशभित्रै परिचालन गर्ने योजना बनाइरहेको जानकारी दिए । त्यसैले सञ्चारमाध्यमलाई पनि युवाका सकारात्मक सफलताका कथालाई सम्प्रेषण गर्न उनले आग्रह गरे । सचिव सापकोटाले युवा नीति २०७२ लाई परिमार्जन गरी थप युवामैत्री बनाइने पनि बताए ।

कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाका विषय उठाउन सञ्चारकर्मी र सञ्चार माध्यमको ठूलो भूमिका हुने भन्दै दुई वर्षमा देशका धेरै युवालाई स्वरोजगार बनाइने जिकिर गरे । उनले ४ सय ६० गाउँपालिकामा विद्युतीय पुस्तकालय र सबै स्थानीय तहमा युवामैत्री उद्यान बनाइने पनि बताए ।

कार्यक्रममा परिषदका प्रशासकीय अधिकृत मुक्तिसिंह ठकुरीले गरीब र विपन्न युवालाई लक्षित गरेर स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । रासस

२०७५ बैशाख ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: