Today: November 18, 2018

धादिङ जिल्लाबाट विदेशमा बेपत्ता भएका २३ परिवारको दशै खल्लो


१ कात्तिक, धादिङ –

दशैको रौनक शहरदेखि गाउँसम्म छाएको छ । टाढा टाढा रहेका परिवार, आफन्तजनको आगमनले दशैलाई झनै रोचक बनाएको छ । परिवारसँग बसेर रमाइलो गर्ने, राम्रो लगाउने र मिठो खानका लागि जोहो गर्न विदेश हिडेकाहरु पनि घर फर्कने क्रम बढेको छ । परिवारमा खुसी साटासाट गरेर मनाइने पर्वको रुपमा लिइने दशैको उत्साह विदेशीएका गएका परिवारजनमा भने खासै देखिएको छैन । धन कमाएर परिवारसँग खुसी साट्ने प्रण गरेर रोजगारीका लागि विदेशीएकाहरु बेपत्ता भएपछि परिवारमा न दशै आएको छ नयाँ खुसी नै छाएको छ ।

धन कमाएर परिवारलाई खुसी बनाउने अपेक्षा दिएर विदेशीएकाहरु वेपत्ता भएपछि परिवारमा दशैको रौनक होइन, पीडा थपिएको छ । विदेशमा बेपत्ता भएका आफ्नो सन्तान घर फर्कने आशामा बसेका उनीहरुको आशा यसपाली पनि निराशामा परिणत भएको छ । खुसी, आत्मियता र सम्बन्धलाई दरिलो बनाउने प्रण गर्दै विदेशीएकाहरु विदेशी भूमिमा नै वेपत्ता हुनु परेको छ । विदेश उडाउने बेलामा बगाएको आँशु अहिले सम्म रोकिएको छैन । नेपालमा रोजगारीको अवसर नहुँदा लाखौँ नेपालीहरु वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको छ ।

धादिङबाट बैदेशिक रोजगारमा गएका मध्ये २३ जना अझै पनि बेपत्ता भएका छन् । जसमा २० पुरुष र ३ महिला समेत रहेका छन् । त्यस मध्ये सबैभन्दा बढी मलेसियमा बेपत्ता भएका छन् । सुरक्षित आप्रवासी सामी परियोजना संचालन गरिरहेको चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङले अभिलेखीकरण गरेको तथ्याङक अनुसार बेपत्ता हुनेहरुमा सबैभन्दा बढी मलेसियामा जानेहरु रहेको सामी परियोजनाका दिलबहादुर रम्तेलले बताए ।

जिल्लाको उत्तरी क्षेत्रबाट विदेश जानेहरु बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटार लगायत र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएको सामी परियोजनाको भनाई छ । परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेका छन् ।

सिड्स धादिङले सामी परियोजना अन्र्तगत सूचना तथा परामर्श केन्द्र स्थापना गरि बैदेशिक रोजगारीमा जाने, आउनेलाई परामर्शको कार्य संचालन गरिरहेको छ । परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरेका छन् । बेपत्ता हुनेहरुको खोजी गर्नको लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहँुदा विदेशमा बेपत्ता भएकालाई खाजी गर्न अप्ठ्यारो परिरहेको छ । यद्यपी सुचना तथा परामर्श केन्द्र धादिङले विभिन्न छापा पत्रिका र अनलाईन मिडियाहरुसँग संमन्वय गरी खोजी कार्यलाई तिव्र बनाएको छ ।

२०७५ कात्तिक १ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट