Today: March 26, 2019

धादिङको समृद्धिका लागि वित्तीय साक्षरता


विनोद अधिकारी –

जीवनका हरेक पाईलामा पैसाकै खाँचो हुन्छ । पैसा नभई मानिसको जीविका नै चल्दैन । मानिसका आवश्यकता तथा चाहनाहरु÷रहरहरु पूरा गर्ने साधन पनि यही पैसा नै हो । सबैलाई थाहा भएकै कुरा हो पैसा भए मानिसको जीवन सुखमय हुन्छ र यही पैसा नभए दुःखमय । यसलाई बचाएर राख्न सक्यो भने आफ्ना जुनसुकै आवश्यकता पूरा गर्न, आकस्मिक अवस्थाको खर्च टार्न सजिलो हुन्छ र बुढेसकालमा दुःख पाउनु पनि पर्दैन । त्यसैले पैसा बचाउने अनि पैसा कमाउने ज्ञान सीप हुनु र सोही अनुसारको व्यवहार हुनु सबै मानिसलाई अनिवार्य छ । यस्तो ज्ञान सीप र व्यवहार सिकाउने शिक्षा वित्तीय साक्षरता हो । यो अंक र अक्षर लेख्न पढ्न सिकाउने शिक्षा नभई पैसाको व्यवस्थापन गर्न सिकाउने शिक्षा हो ।

वित्तीय साक्षरताले पैसालाई तरिका मिलाएर खर्च गर्न, पैसाको बारेमा सही निर्णय लिन, सकेसम्म धेरै बचत गर्न र पैसा कमाउने उपायहरु खोज्न सिकाउँछ । आफ्ना जीवनका आवश्यकताहरु पूरा गर्न आवश्यक पर्ने पैसाको लागि अर्काको भर नपर्न वा आफूलाई चाहिने पैसा आफै व्यवस्था गर्न, कमाउन सहयोग गर्छ । साथै बचत, ऋण, बिमा, विप्रेषण आदिका सेवाहरु दिने सहकारीहरु, बैंकहरु तथा अन्य वित्तीय सस्थाहरुमा सम्पर्क समन्वय बढाउन, उनीहरुले दिने वित्तीय सेवाहरुको सही छनोट गर्न र तिनको राम्रोसँग प्रयोग गरी आफ्नो आम्दानी बढाउन पनि वित्तीय साक्षरताले मद्दत गर्छ । त्यसैले वित्तीय साक्षरता सबै मानिसहरुका लागि अति आवश्यक छ ।

आफ्ना न्यूनतम आवश्यकताहरु पनि पूरा गर्न नसक्ने अवस्था गरिबी हो । गरिबी पैसाको अभावले मात्र हुने कुरा होइन । पैसालाई सही तरिकाले खर्च गर्न नजानेर र बचत, ऋण, बिमा आदि वित्तीय सेवा तथा अवसरहरुको सही उपयोग गर्न नजानेर पनि मानिसहरु गरिब हुन्छन् । सबैलाई थाहा भएकै कुरा हो—गाग्रो चुहिने छ भने त्यसमा जति पानी राखेपनि त्यो भरिंदैन । हाम्रो देशको,समाजको गरिबीको अवस्था पनि धेरै मात्रामा यसैसँग मिल्छ । समुदायका कमजोर वा विपन्न भनिएका मानिसहरुसँग पनि ज्याला मजदुरी जेबाट भएपनि केही न केही आम्दानी त हुन्छ, आम्दानी बढाउन सकिने संभावनाहरु पनि उनीहरु आफैसँग छन्, तर भैरहेको आम्दानी पनि रक्सी, चुरोट, तडक–भडक आदि जस्ता अनावश्यक काममा खर्च भएको छ ।

सामान्य जीविकाको आधारको रुपमा रहेको केही जग्गा जमिन धेरथोर खेतीपाती वा केही वस्तुभाउ, कुखुरा, हाँस आदिलाई अलिकति राम्रोसँग पालेर वा केही थपेर आम्दानी बढाउन सकिने जस्ता संभावनाहरु पनि उनीहरुले देख्दैनन्, खोज्दैनन् । जसका कारण मानिसहरु गरिबीको अवस्थाबाट माथि उठ्न सकेकै छैनन् । अझ अहिलेको अवस्थामा त धेरैजसो घरमा वैदेशिक रोजगारीबाट आम्दानी÷विप्रषण समेत भित्रेको छ ,तरपनि पैसाको सही योजना र सही प्रयोग गर्ने ज्ञान सीप वा वित्तीय सचेतना नहँुदा वैदेशिक रोजगारको कमाईले परिवारको अवस्थालाई खासैै माथि उठाउन सकेको छैन । केही समयको लागि मनोरञ्जन, भोज भतेर,महँगा विलासी सामानहरुको प्रयोगमा नै विदेशको कमाइ खर्च भएको पाइन्छ ।

अर्कोतर्फ अहिले गाउँ समुदाय सम्म सहकारीहरु खुलेका छन्, बैंक तथा वित्तीय संस्थाहरु पुगेका छन् तर समुदायका धेरै मानिसहरु अझै पनि सहकारीहरुमा आवद्ध छैनन्, भएपनि केवल सदस्य मात्र छन्,धेरथोर बचत मात्र गरेका छन् तर क्रियाशील छैनन् । बैंक तथा वित्तीय संस्थाहरुमा तिनीहरुको पहूँच कम छ । ती संस्थाहरुको उपस्थितिले परिवारको आम्दानीमा सोचेजस्तो प्रभाव पार्न सकेको छैन । मानिसले ऋणको आवश्यकताको विश्लेषण, ऋणको योजना, ऋणको प्रयोग र परिचालनको ज्ञान सीप नै नभै ऋणको बोझ बोकेका छन् र समयमा भुक्तानी गर्न नसकी अत्यन्त असजिलोमा फँसेका छन् । यी र यस्तै वित्तीय समस्या वा चुनौतिहरु नेपालका अन्य ठाउँमा जस्तै धादिङ् जिल्लामा पनि प्रशस्तै छन् ।

यस्तो अवस्थालाई बिचार गरेर केही बैंक तथा वित्तीय संस्थाहरुले यस जिल्लाका विभिन्न समुदायहरुमा वित्तीय सचेतना फैलाउन वित्तीय साक्षरताका तालिम गोष्ठीहरु सञ्चालन गर्दे आएको बेला बखतमा सुनिएको छ । यो खुशीको कुरा हो, तर ती प्रयासहरु पर्याप्त छैनन् अथवा सबै समुदायसम्म पुग्न सकेका छैनन् । त्यसैले वित्तीय साक्षरतालाई यस जिल्लामा अभियानको रुपमा नै सञ्चालन गर्नु अपरिहार्य देखिएको छ । धादिङ जिल्लालाई समृद्ध बनाउने एउटा बलियो आधार नै वित्तीय सचेतना विस्तार हो । यस अभियानले मात्र कृषि, पशुपालन, जडीबुटी, वैदेशिक रोजगारी, होटल व्यवसाय आदिको माध्यमबाट धादिङका विभिन्न परिवारमा भित्रिने आम्दानीलाई सही तरिकाले प्रयोग गर्न र धादिङलाई धनी धादिङ बनाउन ठूलो मद्दत पुग्दछ ।

२०७२ सालको महाभूकम्पले धादिङ्को आर्थिक सामाजिक अवस्थामा धेरै नराम्रो असरे पारेको सबैलाई थाहा नै छ । त्यसपछि राहत र पुननिर्माणका लागि भनेर धादिङ्मा ठूलो पैसा भित्रेको छ । पुननिर्माण, पूर्वाधार विकास, जीविकोपार्जन, जीवनस्तर सुधार आदि विभिन्न विषय क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानीय गैह्र सरकारी संस्थाहरु यहाँ थुप्रै छन् । सयौँ सहकारी संस्थाहरु छन्, त्यस्तै धेरै बैंक तथा लघुवित्त संस्थाहरु पनि छन् । तर पनि तिनीहरुले पारिवारिक आर्थिक समृद्धिको लागि वित्तीय साक्षरता आवश्यक छ भनेर आफ्ना वार्षिक योजना तथा कार्यक्रमहरुमा प्राथमिकता साथ समावेश गरेको खासै अनुभव गर्न सकिएको छैन । वास्तवमा बचत, ऋण, विमा आदि सेवाहरु विस्तार गरेर मात्र र केही सानातिना व्यावसायकि काममा मानिसहरुलाई सहभागी गराएर मात्र परिवारको आम्दानी बढिहाल्छ, जीविकोपार्जनमा सुधार आइहाल्छ भनेर निश्चित (ग्यारेन्टी) गर्न सकिदैन ।

त्यसका लागि त मानिसमा पैसाको बचत गर्ने,ऋण लिएर त्यसको सही प्रयाग गर्ने र आम्दानीका उपायहरु खोज्नसक्ने ज्ञान सीप पनि दिनुपर्छ अर्थात वित्तीय साक्षरता घरघरसम्म व्यक्ति व्यक्ति सम्म पुर्याउनु पर्दछ । यसका लागि धादिङमा रहेका सबै सहकारीहरु, वित्तीय संस्थाहरु र जीविकोपार्जन, जीवनस्तर सुधार, सामाजिक सशक्तीकरण, बालबालिका, महिला आदि विभिन्न क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानीय गैह्र सहकारी संस्थाहरुले वित्तीय साक्षरतामा समेत जोडदिनु, आफ्ना वार्षिक कार्यक्रमहरुमा यसलाई समावेश गर्नु अति नै जरुरी देखिन्छ ।

जीविकोपार्जनमा सुधार गर्न, वर्तमान तथा भविष्यमा आईपर्ने आर्थिक आवश्यकताहरु सजिलै पुरा गर्न र भविष्यलाई सुखी बनाउन कति पैसा कमाइन्छ भन्ने कुरा भन्दा पनि कति बचाउन सकिन्छ भन्ने कुराले ठूलो महत्व राख्दछ । कमाएको जति सबै खर्च हुन्छ भने जति कमाए पनि त्यसले भविष्य सुखी हुँदैन । त्यसैले धेरै पैसा कमाउनु, धेरै पैसा बचाउनु अनि बचाएको पैसालाई फेरि धेरै कमाउने काम वा व्यवसायमा नै लगानी गर्नु सम्पन्न वा धनी हुने तरिका हो । यसैका लागि मानिसलाई आफ्नो वित्तीय योजना बनाउन, अनावश्यक खर्चहरु घटाएर र आफ्नो हैसियत अनुसार कुनै व्यवसाय गरेर सकेसम्म धेरै कमाउन अनि भविष्यको लागि सकेसम्म धेरै बचाउन सिकाउनु अनिवार्य छ । यो नै घरघरमा सुख समृद्धि ल्याउने एकमात्र बलियो उपाय हो ।

वास्तवमा सजिलै र तुरुन्तै गरिबी हटाउन सक्ने जादुको छडी कसैसँग हुन सक्दैन र एकोहोरोे दिएर मात्र कसैलाई माथि उकास्न वा धनी बनाउन पनि सकिन्न । मुख्य कुरा व्यक्तिमा नै आफ्नो आर्थिक योजना (वित्तीय लक्ष्य) बनाउने, मितव्ययी हुने, आवश्यक मात्र खर्च गर्ने र कडा परिश्रम गर्ने बानीको विकास गराउनु पर्दछ । वित्तीय साक्षरता यसैको आधार हो, माध्यम हो । त्यसैले धादिङ्का मानिसको जीवनस्तर उकास्न, धादिङलाई समृद्ध बनाउन वित्तीय साक्षरतालाई अभियानको रुपमा सञ्चालन गर्नुपर्दछ ।

adbinod2005@yahoo.com

२०७५ पुस २ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट