Fri. Mar 29th, 2024

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान


२७ असार,पाल्पा –

सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् ।

बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो ।

बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताए । ‘गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर कार्यक्रम सुरु गरेका हौँ’, बस्यालले भने ।

युवा लक्षित युवा स्वरोजगार ९कृषि विकास, पशु सेवा० कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम सात लाखबाट ऋण उपलब्ध गराइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई चार लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

बगनासकाली युवा कृषक समूह वडा २ र ३ लाई कृषि तथा पशुपालनका लागि चार लाख रुपैयाँ ऋण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । बगनासकाली–२ का युवा समूहका भगवान गैरे र दुर्गा पाण्डेले लेयर्स कुखुरापालनका लागि एक लाख रुपैयाँ ऋण लिए । त्यस्तै सचिना अधिकारी र अमृता पाण्डेले स्थायी प्लाष्टिक घर निर्माण गरी तरकारी तथा माछापालनका लागि एक लाख रुपैयाँ ऋण पाए ।

यस्तै बगनासकाली–९ का हरिप्रसाद बस्याललाई बाख्रापालनका लागि एक लाख रुपैयाँ ऋण गाउँपालिकाले उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले गाउँमा शैक्षिक बेरोजगार रहेका युवाबाट उद्यम सञ्चालन हुने गरी ऋण प्रदान गरिएको बताए ।

गाउँपालिकाले दिएको ऋणबाट तीन महिनाभित्र काम सुरु हुनुपर्ने छ भने दुई वर्षसम्म ब्याज तिर्नु पर्दैन । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाएपछि यहाँका युवा हर्षित भएका छन् । रासस

२०७५ असार २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: