Fri. Mar 29th, 2024

धादिङका ३४ बस्ती पहिरोको जोखिममा, सुरक्षित ठाउँमा सारिदिन आग्रह

फाइल फोटो

२२ असार, धादिङ –

भूकम्प र पहिरोले ‘जोखिमयुक्त’ ठहर गर्दै तत्काल अन्यत्र सुरक्षित स्थानमा बसोबास गराउनुपर्ने भूगर्भविदको अध्ययनले देखाएको छ । भूकम्पका कारण भत्किएका उत्तरी धादिङको ३४ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको भूगर्वविद्ले सिफारिस गरेका छन् ।

भूगर्भविदहरुले ती स्थानमा बस्नु उपयुक्त छैन, बस्ती स्थानान्तरण गर्नुपर्छ भनेर सिफारिस गरेको वर्षौ बितिसकेको छ । तर जोखिमयुक्त बस्तीहरू सार्न सम्बन्धित निकायबाट हालसम्म कुनै पनि पहल नहुँदा स्थानीयहरू त्रासैत्रासमा बस्नुपरेका छन् । अध्ययनलाई बेबास्ता गर्दा एक साता अघि मात्र खनियाबासमा पाँच जनाको ज्यान जाने गरी पहिरो गयो भने भौतिक क्षति व्यहोर्नुप¥यो । अन्य ठाउँहरु पनि पहिरोको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणका अनुसार जिल्लाको ११ वटा बस्ती पूर्ण जोखिमयुक्त भएको भन्दै भुगर्भविद्हरुले मानवबस्ती राख्न नमिल्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । खनियाबासको नेग्राङ, धार्नाटोल, रुविभ्यालीको हिन्दुङ, सिम्पले, चाम्राङ, चेप्राङ, गंगाजमुनाको गम्राङ, अन्दर, किचेत, चेप्राङ, करङ लगायतको ठाउँमा बस्ती नबसाल्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । उत्तरी धादिङको रि, लापा, सेर्तुङ, झार्लाङ र तिप्लिङका विभिन्न गाउँहरू पहिरोको जोखिममा छन् । यसबाहेक अन्य गाउँमा समेत पहिरोको जोखिम टरेको छैन । जोखिममा रहेका स्थानीयलाई केही दिन अघि सइश्वारा र चिउरीबोटमा गएको पहिरोले झस्काइरहेको छ ।

उत्तरी धादिङमा झण्डै चारसय घरधुरी पहिरोको उच्च जोखिममा छन् । पहिरोको डरले स्थानीयबासी सामान्य वर्षाद हुदाँ समेत रातभर निदाउन सक्दैनन् । पानी परेपछि न निद्रा न भोग लाग्ने गरेको खनियाबास –१, झार्लाङका भेषबहादुर तामाङले बताए । ‘भूगर्भविद्ले बस्न उपयुक्त छैन भन्दा पनि बस्ती स्थानान्तरणको प्रक्रिया सुरु नहुदाँ जोखिम मोलेरै भएपनि बस्न बाध्य छौँ’ तामाङले भने, ‘सरकारले तत्काल बस्ती सार्ने कार्य अगाडि बढाउनु पर्छ ।’ भूकम्प र पहिरोले कहिले पनि सुरक्षित महशुस गर्न नपाएको तामाङले बताए । जोखिम भनी ठहर भएका क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा बसोबासको व्यवस्था नमिलाउने हो भने ठूलो दुर्घटना निम्तन सक्ने तामाङ बताउँछन् ।

भूकम्पपछि तत्कालीन सभासद्हरू सम्मिलित जोखिम बस्ती पुनःस्थापना सिफारिस समितिले धादिङका ४७ वटा गाउँलाई अन्यत्र सार्न जिल्ला दैवीप्रकोप उद्धार समितिलाई सिफारिस गरेको थियो । ४७ मध्ये ४१ वटा गाउँ उत्तरी धादिङका थिए । जिल्ला दैवीप्रकोप उद्धार समितिले सांसदहरूले दिएको प्रतिवेदनलाई गृह मन्त्रालयमा पठाएको भए पनि गृहबाट जोखिमका बस्ती सार्न अहिलेसम्म कुनै काम अघि बढेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि धादिङका २ सय ५९ घरलाई स्थानान्तरण गर्नुपर्ने सूचीमा राखेको छ ।

आफ्नै जग्गामा घर बनाउन नमिल्नेहरूका लागि अन्यत्र जग्गा खरिद गर्न ९६ जनालाई २ लाख रुपैयाँ अनुदान दिने बाहेक एकीकृत बस्ती बसाउन कुनै पहल गर्न सकेको छैन । भूकम्पपछि चिराचिरा परेको जमिन र पहिरोले आजित बनाएपछि जिल्ला दैविप्रकोप उद्दार समितिले जोखिममा रहेका गाउँलाई स्थानान्तरण गर्ने भनेपनि कहाँ र कहिले गर्ने भन्ने विषयकोे टुङगो लगाउन सकेको छैन । जोखिम युक्त गाउँको स्थानान्तरणका विषयमा धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जोखिमयुक्त बासीले निवेदन दिएका आधारमा बस्ती स्थानान्तरण गरिने बताए । आफ्नो थाकथलो छोड्न नसकेका कारण बस्ती स्थानान्तरण प्रक्रिया सुरु नभएको बताए ।

२०७५ असार २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: