Today: November 18, 2018

धादिङको थाक्रेमा किसानले लगाएको धानबालीमा किराको प्रकोप


सरिता श्रेष्ठ / ८ कात्तिक, धादिङ  –

धादिङको थाक्रेका किसानहरुले लगाएको धानबालीमा किराको प्रकोप देखिएको छ । धान पाक्नेबेला किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।

चुसाहा रोगको प्रकोपले धानबालीमा क्षति भएपछि किसानहरु मर्कामा परेका छन् । धेरै आम्दानीको आशमा किसानहरुले हाइब्रिड जातको धानको खेती गरेका थिए । धान पाक्ने बेला किराले सखाप बनाइदिएपछि यस भेगका किसानहरु निराश बनेका छन् । खेतबारीमा लगाएको धानबाली चुसाहा रोगले सखाप पारेपछि किसान चिन्तित भएको अधिकारीले बताए । ‘दुःख गरेर लगाएको धानबाली भित्र्याउने बेला रोगले नष्ट गरेको छ’ अधिकारीले भने, ‘वर्षभरी खाने धान सबै सखाप भयो, अब परिवार कसरी पाल्नु ?’

पाक्ने बेलाको धानमा किराको प्रकोप देखिएपछि अधिकारी मात्र होइन जिल्लाको थाक्रे गाउँपालिकाका किसानहरु चिन्तित बनेका छन् । मानो लगाएर मुरी उब्जाउने बेला भएको धानबालीमा महामारी नै फैलिएको हो । थाक्रे गाउँपालिका ११, को वालुवाफाँट, वरुवालटार, मान्खुटार लगायतका क्षेत्रमा लगाइएको ७० रोपनी भन्दा बढी धानबालीमा प्रकोप देखिएको छ । त्यसमध्ये ३० रोपनीमा लगाइएको धानबाली नष्ट भएका छन् । विशेष गरी थाक्रे ११ को बालुवाफाँट र बरुवालटारमा बढी क्षति गरेको छ । यी क्षेत्रका धानबाली किराले सखाप नै पारिदिएको छ । प्रकोपकै रुपमा किराले आक्रमण गरेपछि पूरै धानबाली कामै नलाग्ने भएको छ ।

यस क्षेत्रमा एक रोपनी जग्गामा ४ क्वीन्टल भन्दा बढी धान फल्ने गरेको थियो । ७० रोपनीमा दुई सय ८० भन्दा बढी क्विन्टल धान नष्ट भएको थाक्रे गाउँपालिका ११ का वडा अध्यक्ष रविप्रकाश ओझाले बताए । ‘वडाभित्रमा करीब ७ सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान लगाइएको छ’ ओझाले भने, ‘अन्य ठाउँमा लगाइएको धानबालीमा प्रकोप फैलन नदिनका लागि विषादी छर्कने कार्य भइरहेको छ ।’ यस क्षेत्रमा अघिल्ला वर्षमा पनि केही ठाउँमा यस्तो समस्या देखिएको थियो तर अहिले धेरै क्षेत्रफलमा यस्तो समस्या देखिएको उनले बताए ।

किसानहरुको धानबाली नष्ट भएपछि थाक्रे गाउँपालिका ११ का वडा अध्यक्ष रविप्रकाश ओझा, प्राविधिक सहायक राजेन्द्र रुपाखेती लगायतको टोलीले धानबालीको निरीक्षण गरेका थिए । निरीक्षणपछि धानबालीमा चुसाहा प्रकृतिको किराको प्रकोप देखिएको थाक्रे गाउँपालिकाका प्राविधिक सहायक राजेन्द्र रुपाखेतीले बताए । ‘चुसाहा प्रकृतिको किराले धानको डाठ र फलमा चुस्ने र रस चुसेर पराल नै बनाइदिएको छ । पाक्ने बेला धान अहिले पहेँलै भएर ढलेका छन्’ रुपाखेतीले भने, ‘प्रकोप देखिएका धानबालीमा विषादी छर्केका छौँ ।’

प्रकोप फैलन नदिनका लागि तत्कालका लागि किरा मार्ने औषधीहरु हालिएको छ । सम्भावित प्रकोप रोक्नका लागि डेल्टामेथिन र ट्राइजोफोस साकाल नामक विषादी, बोसिन भन्न किटनाषक औषधी र फ्लोरिक एसिडयुक्त भिटामिन फ्लावरबुस्ट ६० जना किसानलाई वितरण गरिएको छ ।

२०७५ कात्तिक ८ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट