Today: February 23, 2019

धादिङका भूकम्पपीडितको दैनिकी : डोको थुन्से बनेर गुजारा टार्दै


सरिता श्रेष्ठ/ २३ माघ, धादिङ –

बाँस वा निगालोबाट चोया निकाल्नु अनि डोको बुन्नु र त्यसलाई बजारमा बेच्नु उत्तरी धादिङको गंगाजमुना गाउँपालिका री का संगीता तामाङको दैनिकि हो । २०७२ सालमा गएको भूकम्पले गाउँमा बस्नै नसक्ने भएपछि सदरमुकाम धादिङबेसी आसपासको दामगाडेमा अस्थायी टहरा बनाएर बसिरहेकी तामाङ दैनिक जीविकोपार्जनका लागि डोको, थुन्से बुन्ने गर्छिन् । बिहानको काम सकेर पारिलो घाममा उनी निगालोको चोयाबाट थुन्से बुन्ने गर्छिन् । सानो रहेको कोठामा पनि निगालोले भरिएको छ भने निगालोबाट बनाइएको थुन्सेले भरिएको छ ।

गाउँमा भएको जायजेथा भूकम्पले विनाश गरिदिएपछि स–परिवार सदरमुकाम आएका थिए । अहिलेसम्म पनि चारैतिर जस्ताले बारिएको घरमा बस्दै आइरहेका छन् । भूकम्पले घरसँगै गाउँ नै चिराचिरा बनाएर सदरमुकाम आसपास आइपुगेका प्रभावितहरुको दिनाचार्य अहिले निगालो बुन्ने नै रहेको छ । बस्तीमा रहेकाहरु मध्ये डोको, थुन्चे बुन्न नजान्ने सायद कोहि भेटिदैनन् । साना बालबालिकादेखि वृद्धवृद्धाहरुले पनि बुनिरहेका हुन्छन् । तामाङले दिनमा ३ वटासम्म थुन्से बुन्ने गरेकी बताइन् । ‘जाँगर भएको बेलामा एक दिनमा तीनवटा सम्म थुन्से बुन्ने गरेकी छु’, तामाङले भनिन्, ‘श्रीमानले गाउँबाट निगालो ल्याउनुहुन्छ, म बुन्ने गर्छु ।’ यसरी बुनेका थुन्से बस्तीमै लिन व्यापारीहरु आउने गरेका छन् ।

बस्तीका प्राय सबैले डोको, थुन्से बुन्छन् । स्कुले विद्यार्थीदेखि बुद्धबृद्धाहरुले पनि बुन्छन् । थुन्सेका लागि आवश्यक चोया धादिङ र गोरखाको सिमानामा पर्ने मान्द्राङ, विन्द्राङ लगायतका ठाउँहरुमा जानुपर्दछ । थुन्से बनाउन आवश्यक चोया जंगलबाट ल्याइने गर्दछ । यसरी चोया ल्याएर बुनेको थुन्से एउटाको एक सय देखि तीन सय रुपैयासम्ममा बेच्ने गरेका छन् । थुन्सेबाट यहाँको स्थानीयहरुको आयआर्जनको राम्रो आम्दानीको स्रोत बनेको छ । स्कुले विद्यार्थीहरु पनि बिदाको समयमा थुन्से बुन्ने गर्दछन् ।

खावा लामा तामाङ पनि थुन्से बुन्न कम्तिका छैनन् । थुन्से बुनेर नै घरपरिवार धान्न तथा ३ छोरी र १ छोरा पढाउन सजिलै पुग्छ । उनले वर्षमा १ सय वटा जति बुन्ने गरेको बताए । बाबुबाजेको पालादेखि नै यहि इनाम गर्दै आएका छन् । जंगलमा लड्दै लड्दै भएर पनि थुन्से बुन्नका लागि निगालो ल्याउनुपर्ने उनको भनाई छ । यसरी बुनेको थुन्से व्यापारीले घरमा नै लिन आउँछन् । फूसर्दको समयमा उनका श्रीमती र छोराछोरीहरुले पनि उनलाई सघाउने गर्छन् ।

बाँस तथा चोयाको सामान विक्रीबाट सामान्य परिवारले पनि महिनामा २० देखि ५० हजार आम्दानी गर्ने गर्दछन् । फुर्सदको समयमा बुन्ने गरेको डोका डालाबाट प्राप्त आम्दानीले घरखर्च चलाउने देखि बालबच्चाको पढाइमा लागि पु¥याउने गरेका छन् ।

२०७५ माघ २३ गते प्रकाशित

Loading...

ताजा अपडेट