Thu. Mar 28th, 2024

वैदेशिक रोजगार, महिला र सूचनाको हक

गोमा थापा –

वैदेशिक रोजगार अहिले एउटा रोजगारीको राम्रो क्षेत्र बनेको छ । विश्वव्यापीकरण र खुला अर्थतन्त्रको बजारले गर्दा वैदेशिक रोजगार आम नेपालीको महत्वपूर्ण आम्दानीको राम्रो स्रोत हुन पुगेको छ ।

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारमा जाने नेपालीले पठाएको रेमिट्यान्सले ओगटेको छ । रेमिट्यान्स नहुने हो भने नेपाली अर्थतन्त्र डामाडोल हुने प्रष्टै छ । यसो हुँदाहुदै पनि वैदेशिक रोजगारीमा जानेहरुको लागि स्पष्ट कानुनी व्यवस्था र सरकारको दुरदर्शी नीति नहुदा वैदेशिक रोजगारीमा जानेले त दुख भोगेकै छन् , जति उनीहरुबाट आर्थिक स्रोत देशमा भित्र्याउन सकिन्थ्यो त्यो सकिएको छैन ।
युरोप, अमेरिका, खाडी मूलुक र अन्य एसियन कुनै देश छैन होला जहाँ रोजगारीको लागि नेपाली नपुगेको होस् । विश्व बजारमा रोजगारीको लागि पुगेका लाखौं नेपालीमध्ये झण्डै आधी त छिमेकी भारतमा रहेका छन् । वैदेशिक रोजगारीलाई अब व्यवस्थित गर्न ढिलो गर्नु हुन्न । हाम्रो आम्दानीको मुख्य श्रोत रेमिट्यान्स भएपछि रोजगारीमा बाहिर जानेहरुप्रति सरकारी दृष्टिकोण, नीति र व्यवहार राम्रो र स्पष्ट हुनुपर्छ ।

कुनै कानुनी अड्चन भए त्यसलाई फुकाइदिनु पर्छ । नीति नियम झन्झटिलो र अव्यवहारिक भए त्यसलाई हटाईदिनु पर्छ ।
सरकारमै रहेका शक्तिशाली मन्त्रीहरुले बेला मौकामा विवादास्पद अभिव्यक्ति दिने र वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ र दिदीबहिनीलाई होच्याउने प्रवृत्ति नदेखिएको पनि होइन । छिमेकी भारत लगायत चाहे विकसित हुन् या अविकसित हरेक राष्ट्रको एउटा स्पष्ट खाका र दृष्टिकोण हुन्छ । त्यहि खाकाभित्र रहेर मात्र बोल्ने गरिन्छ । हामी पनि राष्ट्रियता र राष्ट्रको सवालमा एउटै स्वर र एउटै कदम गर्न सिक्नुपर्छ ।

वैदेशिक रोजगारीमा जाने अहिले महिलाको सङ्ख्या पनि ठूलो छ । नेपालको संविधान र कुनै कानुनले पनि महिलालाई बाहिर जान रोकेको छैन । आजको २१ औं सताप्दीको युगमा पुरुष सरह महिला स्वतन्त्र छन् । लिङ्गको आधारमा महिलालाई विभेद गर्ने अव त कल्पना पनि गर्न सकिन्न । उनीहरु विश्वको कुनै कुनामा पनि पुग्न सक्छन् । स्वतन्त्रपूर्वक हिडडुल गर्न सक्छन् । र, उनीहरु रोजगारीमा लाग्न पनि स्वतन्त्र छन् । नेपालसँग दोहोरो कुटनीतिक सम्बन्ध नभएका र सुरक्षाको दृष्टिले संवेदनशील केही मूलुक बाहेक नेपाली महिला जहाँ जसरी पनि जान सक्छन् । तर, प्रयाप्त सूचना नलिईकन वैदेशिक रोजगारीमा जानु निकै जोखिमपूर्ण कार्य हो । सूचना अर्थात् जानकारी लिनुपर्छ भन्ने धेरै मान्छेलाई थाहा छैन । सूचनाको हक सम्बन्धी ऐन २०६४ र सूचनाको हकसम्बन्धी नियमावली २०६५ बारे सर्वसारधण मात्र होइन बौद्धिक वर्ग पनि अनविज्ञ देखिन्छ । उनीहरु आफूहरुलाई हरेक विषयवस्तुप्रति राम्रो ज्ञान भएको दावी गर्छन् । तर, सूचनाको हक सम्बन्धी ऐनका सामान्य प्रावधानहरु बारे पनि राम्रोसँग बताउने क्षमता राख्दैनन् ।

वैदेशिक रोजगारीमा जाने महिलालाई सूचनाको हक सम्बन्धी ऐन र निमावलीबारे राम्रो जानकारी भएको भए उनीहरुले हरेक सूचना लिएर मात्र वैदेशिक रोजगारीमा जान सक्ने थिए । सूचना माग्न पाईन्छ भन्ने जानकारी नभएकै कारण अधिकांश महिला अध्यारोमा दौडिदादौडिदै वैदेशिक रोजगारीमा पुगेका हुन्छन् । रोजगारीमा जानेहरुलाई सहयोग गर्न सरकारले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड जस्ता निकायहरु स्थापना गरेको छ । ति निकायबाट सल्लाह, सुझाव र सहयोग पाउन सकिने थाहा नपाउँदा वैदेशिक रोजगारीमा जाने महिला गलतबाटोबाट अघि बढ्न पुगेका हुन्छन् । फलस्वरुप कतिपय दलालको फन्दामा पर्छन् । कतिपय एउटा कामको लागि गएर अर्कै काम गर्न बाध्य हुन्छन् । राम्रो जानकारी र ज्ञान नलिईकन जाँदा महिला श्रम मात्र होइन शारिरीक रुपमा समेत बेचबिखनमा पर्न सक्ने जोखिम हुन्छ ।

सूचनाकै अभावमा अर्थात् जोखिम छ भन्ने जानकारी नहुँदा वैदेशिक रोजगारीमा जाने कयौं नेपालीले मृत्यु वरण गर्ने अवस्था आईलाग्छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका तथ्याङ्क अनुसार आ.व.२०७२÷०७३मा २४ महिला सहित आठ सय ११ जनाको मृत्यु भएको थियो । त्यसै गरी अर्को वर्ष आ.व. २०७३÷०७४ मा १८ महिला सहित सात सय ५६ जनाले ज्यान गुमाए । गत आ.व. २०७४/०७५ मा पनि १५ महिला सहित छ सय ८ जना वैदेशिक रोजगारमा गएका नेपालीले ज्यान गुमाउनु परेको थियो ।

रोजगारीमा गएको देशको भाषा,संस्कृति,परम्परा र कानूनलाई राम्रोसँग नबुझ्दा सयौं नेपालीले अकालमै ज्यान गुमाई रहेका छन् । हामी जुन संस्कार,संस्कृति र समाजमा हुर्किरहेका छौं , खाडी मुलूकहरुमा त्यो ठिक उल्टो पाउँछौ । नेपाल जस्तो स्वतन्त्र र खुला समाज भएको जो कोहीलाई पनि मुस्लिम देशहरु विशेष गरि खाडी मुलूकमा रहेर काम गर्न कठिन हुन सक्छ । एउटा देशमा सामान्य मानिएको कुरा अर्को देशमा ठूलै अपराध मान्न सकिन्छ । यो आ–आफ्नो देशको कानून र परम्पराले निर्धारण गर्ने कुरा हो ।

हामी नेपालीहरु हरेक विषयलाई गम्भीर रुपमा नलिने प्रवृत्तिका छौं । जान्नै पर्ने कानून र बुझ्नै पर्ने संस्कारलाई पनि हामी त्यति महत्व दिदैनौं । हरेक व्यक्तिलाई सूचनाको हक सम्बन्धी अधिकार छ र, सूचनामा आफ्नो पहूँच हुनु पर्छ भन्ने नबुझ्दा नै हामीले दुख र कष्ट झेलि रहेका छौं । वैदेशिक रोजगारमा जाने महिलाले अरुको भर नपरी हरेक जानकारी र सूचना आफैंले लिने प्रयास गर्नु पर्छ । आफू जाने देश र काम गर्ने कम्पनीको बारे राम्रो अवगत हुनु पर्छ । कानून र परम्परा बुझेर मात्र हुँदैन त्यहाँको भाषामा दख्खल राख्नु पर्छ । भाषा राम्रोसँग नजानेकै कारण रोजगारीमा गएका महिला श्रम र शारिरीक शोषण मात्र होइन जेलको कालकोठरीमा बस्न पुग्छन् ।

भाषा जस्तै अर्को महत्वपूर्ण पक्ष हो सिप । सिप नसिकी वैदेशिक रोजगारीमा जाने मूर्खता कहिल्यै गर्नु हुँदैन । भाषा र सिपले आफ्नो आत्मबल बढाउँछ भने रोजगार दाता कम्पनीले पनि हेप्न सक्दैन । सूचनाको हक सम्बन्धी ऐनको मस्कद नै यही हो की हामीले हर घडी आफूलाई चाहिदो सूचना लिन सकियोस् । यहि सूचनाको बारे राम्रोसँग बुझिदिने हो भने महिलालाई वैदेशिक रोजगारीमा समेत सहज हुन सक्छ । तर, हामीले यहाँ के बुझ्न पर्छ भने आफू काम गर्न जान लागेको कम्पनीले दिने सेवा र सुविधा त्यत्तिकै मेहनेत गरेर कतै यही स्वदेशमै आर्जन गर्न त सकिन्न ? रोजगारीमा गएका धेरै नेपाली यसरी नै पछुताउने गर्छन् ।

राम्रोसँग सूचना र जानकारी लिएर वैदेशिक रोजगारीमा जानु पर्दछ । जानकारी बिना लहैलहैमा विदेशीनु राम्रो होइन । यो कुरा आम महिलाले पहिले आफूले बुझ्ने र बुझेपछि अरु दिदीबहिनीलाई बुझाउने गर्नु पर्छ । सूचना शक्ति हो भन्ने कुरा हामीले स्मरण गरि रहनुपर्छ ।

२०७५ असोज ४ गते प्रकाशित

About The Author

Loading...