Fri. Mar 29th, 2024

हिंसा अन्त्यको लागि हाम्रो सोचमा परिवर्तन गर्न जरुरी छ : सापकोटा

 

नेपालको परिवेश र अहिले सम्मको अवस्थालाई हेर्दा अझै पनि लैगिंक विभेद कायम छ । यसको रुप हिजोको भन्दा परिवर्तन भएको छ, हिजो भन्दा आज विभेदका केही सिमाहरु खुकुला भएका छन् तर विभेद चाँही वाँकी नै छ । यो लैगिंक विभेदले नेपाली समाजको सम्पूर्ण विकासलाई नै वाधा पुर्याई रहेको छ ।समाजमा हुने लैगिंक विभेद र यसको समस्या कस्ता रहेका छन् भन्ने विषयमा सहयात्री समाज नेपाल धादिङका प्रवन्ध निर्देशक राधिका सापकोटासंग पाविल न्युज डटकमले गरेको कुराकानी

१) लैगिंकताका आधारमा वर्तमान समाजको अवस्था, सहभागिता र संभावनालाई कसरी हेर्नु भएको छ ?

नेपालको परिवेश र अहिले सम्मको अवस्थालाई हेर्दा अझै पनि लैगिंक विभेद कायम छ । यसको रुप हिजोको भन्दा परिवर्तन भएको छ, हिजो भन्दा आज विभेदका केही सिमाहरु खुकुला भएका छन् तर विभेद चाँही वाँकी नै छ । यो लैगिंक विभेदले नेपाली समाजको सम्पूर्ण विकासलाई नै वाधा पुर्याई रहेको छ । लैगिंक विभेदले सबै भन्दा बढि असर महिलाहरुलाई परेको छ तर पुरुषहरुलाई पनि लैगिंक विभेदका कारण असर परिरेहेको छ तर त्यसलाई हामीले विश्लेषण गरेका छैनौं । अहिले धादिङ जिल्लाको तथ्यांकलाई मात्रै हेर्ने हो भने जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा १८७ जना महिलाहरु घरेलु हिंसाबाट प्रभावित भएर उजुरीका लागि जिल्ला प्रहरी कार्यालय सम्म आए त्यसै गरी यहि आर्थिक वर्षमा ३१ जना महिलाहरु यौनजन्य हिंसा( बलात्कार र बलात्कारको प्रयास)का घटनाबाट प्रभावित भएको तथ्यांक छ । यसमा प्रभावितहरुको उमेरलाई हेर्ने हो भने घरेलु हिंसामा १८ देखि ६० वर्ष उमेरका ९६ प्रतिशत महिलाहरु हिंसा प्रभावित भएको देखिन्छ । यसले के देखाउँछ भने काम गर्न सक्ने, आफ्नो क्षमता विकास गरेर नयाँ सृजनशिलता प्रयोग गर्न सक्ने उमेरका महिलाहरु हिंसा प्रभावित भएर शारिरीक, मानसिक र सामाजिक रुपमा समेत समस्यामा रहीरहेको अवस्था देखिन्छ । यस्तै यौन जन्य हिंसाको तथ्यांकलाई हेर्दा सबै भन्दा बढि ६४ प्रतिशत १८ वर्ष भन्दा कम उमेरका वालिकाहरु यौनजन्य हिंसाका शिकार भएका छन् । यी तथ्यांकले हामीलाई गभ्भिर बनाउँछ । लैगिंकताको आधारमा हुने विभेदलाई हामीले सामान्य रुपमा लिईरहेका छौं, हाम्रो धर्म र संस्कारसंग जोडेर यसलाई स्विकार गरिरहेका छौं तर यी हिंसाका घटनाहरुको सृजना यही लैगिंक विभेदले गरिरहेको छ भन्ने कुरामा हामीले ध्यान दिन सकिरहेका छैनौं । एउटा वालिका जसलाई यौन भन्ने शब्दको बारेमा समेत थाहा हुदैन ऊ बलात्कारको शिकार भएकी छ अनि हामी त्यसको सत्यतालाई स्विकार नगरेर महिलाहरुको उश्रृखलता नै यस्को कारण हो भनेर दोष महिलाहरु तिर थोपरन खोजीरहेका छौं । तर लैगिंक विभेदले हिजो देखि महिलाहरु भोग्या साधन हुन्, यीनीहरुको यौनिकता माथि पुरुषहरुले नियन्त्रण गर्नुपर्छ भन्ने सोचका कारण समाजमा यौनजन्य हिंसा भैरहेको छ भन्ने कुरा हामी मान्न तयार छैनौं । अनि बलात्कारका घटना रोक्नको लागि हामी मृत्युदण्डको माग गरिरहेका र्छौ । मृत्युदण्डको सजायँ भएका देशमा पनि त आखिर अपराध नभएका त छैनन् नी । जब सम्म हामी हाम्रो सोच परिवर्तन गर्न सक्दैनौं त्यत्तिवेला सम्म मृत्युदण्डकै सजायँ भएपनि यौनजन्य हिंसाका घटनाहरु भैनै रहन्छन् ।
घरेलु हिंसाका घटनाको कुरा गर्ने हो भनेपनि हामीले बाहिर देख्ने घटना एउटा र भित्रको वास्तविकता अर्को भैरहेको हुन्छ । वाहिर श्रीमानले श्रीमतीलाई पिटेको खान नदिएको लाउन नदिएको जस्ता कुराहरु आउँछन् । किन त्यसो गरेको भन्यो भने कुनै त्यस्तो ठूलो कारण हुदैन मुख चलाई, भात राम्रो पकाईन, बच्चा राम्रो संग हेरिन आदिआदि तर घरेलु हिंसाका ९५ प्रतिशत भन्दा माथि घटनामा श्रीमान र श्रीमतीको बेमेलको स्थिती उनीहरुको यौन सम्बन्धमा समस्या सृजना भएपछि उत्पन्न हुने गरेको छ । यहाँ पनि श्रीमतीको यौनिकता श्रीमानको नीजि सम्पत्तिको रुपमा हेर्ने र व्यवहार गर्ने हाम्रो सोचका कारण समस्या उत्पन्न भएर हिंसाको रुप ग्रहण गरिरहेको हुन्छ । त्यसैले लैगिंकताको आधारमा हुने विभेद भनेको हाम्रो हानिकारक मूल्य मान्यता र परम्परा हो । जुन हाम्रो मन मस्तिष्कतमा जरा गाडेर बसेको छ । म अर्काको संस्कारमा भएको हानिकारक प्रथाको विरोध गरिरहेको हुन्छु तर मेरा भित्र भएको त्यस्तै प्रथालाई भने संस्कृति भनेर स्विकार गरिरहेको हुन्छु वा परिवर्तन गर्न चाहान्न । जस्तै पश्मिमा भएको छाउपडीको हामी विरोध गरिरहेका छोैं तर महिनावारी हुँदा म आफू सुतेको ओच्छ्यानमा सुत्दिन, भान्सामा पस्दिन, वा पहिलो पटक महिनावारी हुँदा छोरीलाई १२ दिन लुकाउँछु वा म गुफा राख्ने नाममा छोरीहरुलाई नजरबन्द गरेर राख्छु , यसलाई हामी हाम्रो संस्कार संस्कृति र परम्परा भनी रहेका हुन्छौं त्यसलाई परिवर्तन गर्न चाहादैनौं अनि छाउपडीको विरोध गर्छौ । हो स्वरुपमा फरक होला तर कुनै न कुनै तरिकाले सबै क्षेत्र, भुगोल, जात र धर्ममा महिनावारीलाई पापको रुपमा लिएर त्यसको सजायँ महिलाहरुलाई भोगाईएको त छ नी ?
लैगिंकताको आधारमा हुने विभेद ले महिलाहरुलाई मात्रै हैन पुरुषहरुलाई पनि धेरै असर गरेको छ । आज १८ वर्ष देखि ५० वर्ष सम्मका सबै पुरुषहरु विदेशमा छन् किन ? परिवार पाल्नु पर्ने जबरजस्त बोझ उनीहरुको काँधमा छ । सके पनि नसकेपनि एकजनाले कमाएको कमाईले परिवार पाल्नु पर्ने, अरुको भन्दा राम्रो व्यवस्थापनमा राख्नु पर्ने हैन भने नार्मद र हुतिहारा हुने यो समाजले पुरुषलाई दिएको जिम्मेवारी के यसले पुरुषहरुलाई असर गरेको छैन ? आज महिलाहरुलाई नियन्त्रण गर्ने नै नाममा होस्, उनीहरुको गतिशिलतालाई बन्देज लगाउनकै लागि होस तर यो देशको आधा जनसंख्या काम गर्ने र आधा भन्दा बढि जनसंख्या बसेर खाने अवस्था सृजना भएको छ । महिलाहरुको क्षमता दक्षता र उनीहरुको सीपलाई प्रर्वधन गरेर समान अवसर प्रदान गर्ने र परिवारको दायित्व महिला र पुरुष दुबैको हो भन्ने हो भने पुरुषहरु कोहीपनि विदेशीनुपर्ने स्थितीको सृजना हुँदैन ।
त्यसैले लैगिंक विभेदको अन्त्य महिलाहरुको स्वतन्त्रताका लागि मात्रै हो भन्ने सोचको अन्त्य हुन जरुरी छ । यसले हाम्रो देशको समग्र विकासलाई नै प्रभाव पारेको छ ।

२) यौनजन्य अपराध, बलात्कार र हिंसाका घटनाहरु बढि रहेको छ , न्युनिकरणका उपायहरु के हुन सक्छन् ?

यौनजन्य हिंसाका घटना बढ्नुको मुख्य कारण भनेको महिलाहरुलाई भोग्या साधनको रुपमा हेर्नु नै हो । उनीहरुको यौनिकता पुरुषहरुको नियन्त्रणमा हुनुपर्छ भन्ने हो भने अर्को सबै भन्दा ठूलो कुरा भनेको महिलाहरुको चरित्रसंग यौन जोडिनु पनि हो । यहाँले याद गर्नुभयो भने महिलाहरुको चरित्र कति खेर खराब भनेर यो समाजले लिन्छ वा उसको इज्जत गयो वा खराब भयो भनेर मान्दछ भने जब उसको योनीमा कसैले आक्रमण गर्दछ । भन्दै खेर बलात्कार हुनुलाई इज्जत लुटिनु भन्ने चलन छ । यो महिलाहरुको इज्जतलाई उनीरुहरुको योनीमा ल्याएर कसले राखिदियो मलाई थाहा छैन, यो डरलाग्दो अवस्था भने हो । बलात्कार गर्ने मान्छेको इज्जत जादैन बलात्कृत हुनेको इज्जत जान्छ यो समाजमा, बलात्कार गर्नेलाई गाउँबाट बहिस्कार गरिदैन, गाउँ निकाला गरिदैन बलात्कृत हुने लाई सामाजिक बहिष्कार हुन्छ, गाउँ निकाला गरिन्छ, बलत्कार गर्नेलाई कार्वाही गर्नुपर्छ भनेर प्रहरीकोमा कोही जुलुस लिएर आउँदैन बलात्कार गर्नेलाई छोड्नुपर्छ भन्दै जुलुस आउँछ , हो यीनै र यस्तै कारणहरु छन् यौनजन्य हिंसाका घटना बढ्नुको पछाडी । हामीले महिलाको इच्छा विपरित यौन सम्बन्ध राख्नुलाई अपराधका रुपमा लिनै सकेका छैनौं । हामी त्यसलाई ठूलो रुपमा लिईरहेकै छैनौं । जसका कारणले आज सम्म यौनजन्य हिंसा गर्ने पीडकहरुले सामाजिक संरक्षण पाईरहेका छन्, सामाजिक सम्मान पाईरहेका छन् । हिंसा प्रभावितहरुले इज्जतको नाममा सामाजिक वहिष्करण भोग्नु परिरहेको छ । एउटा ७ वर्षको वालिका वलात्कार हुँदा सबै भन्दा पहिला यो घटना बाहिर आयो भने भोली उसको विवाह हुँदैन देखि हामी कुरा शुरु गछौं किनकी उसको यौनी अब पवित्र छैन जुन एउटा श्रीमानका लागि चाहीन्थ्यो । हो मुख्य गरी यही सोच नै यौन जन्य हिंसा बढाउने मुख्य कारणहरु हुन् । त्यसैले यसलाई यदि साच्चै अन्त्य गर्ने हो भने हाम्रो सोचमा परिवर्तन गर्न जरुरी छ । महिलाहरुलाई भोग्य साधनका रुपमा हेर्ने हाम्रो सोच र महिलाहरुको इज्जतलाई यौनीको पवित्रता संग दाज्ने हाम्रो सोच परिवर्तन हुन जरुरी छ ।

३) अधिवक्ता पनि हुनुहुन्छ, लैगिंकताका आधारमा भै रहेका विभेदपूर्ण घटनामा संविधान, कानूनमा कतै कमजोरी छ वा कार्यान्वयनमा समस्या हो ?

हिजो भन्दा आजा नेपालको नीति कानुन र संविधान धेरै नै परिवर्ततित र लैगिंक मैत्री छ यसलाई हामीले स्विकार गर्नुपर्दछ । विकसित कतिपय देशहरुमा भन्दा हाम्रोमा धेरै अधिकारहरु नागरिकहरुले प्राप्त गरेका छन् । महिलाहरुको हकमा पनि अरु देशहरुको तुलनामा धेरे अधिकार प्राप्त भएको कुरालाई मान्नु पर्दछ । तर अझै पनि हाम्रो संविधान र कानुनमा सकुचनको अवस्था भने देखिन्छ । संविधानले अझै पनि यो देशमा दुईथरी नागरिक कायमै राखेको छ , महिला नागरिक र पुरुष नागरिक । कतिपय अधिकारहरु महिला नागरिक र पुरुष नागरिकमा फरक छ । नागरिकताको कुरा गर्नुहुन्छ भने पुरुष नागरिकले प्राप्त गरेको अधिकार महिला नागरिकले प्राप्त गर्न सकेको छैन । जब सम्म संविधानले नै यो देशमा दुई थरी नागरिकको अवस्था राखिराख्छ त्यत्तिवेला सम्म लैगिंक विभेद अन्त्य हुन सक्दैन । अहिले बनेका नयाँ कानुनहरु धेरै परिमार्जित छन् । महिलाहरुका लागि सहज र सजिला पनि छन् तर कतिपय अप्ठेराहरु अझै पनि बाँकी छ । संविधान, कानुन भनेको कसरी व्याख्या गरिन्छ र त्यसको कार्यान्वयन गर्नेले कसरी कार्यान्वयन गर्छ भन्नेमा पनि भर पर्छ । नीति निमार्ण गर्ने ठाउँमा महिलाहरुले एउटा लडाई लड्नु पर्छ , लाजगालले त्यहाँ कानुन नीतिहरु बन्छन् अनि फेरी त्यसको कार्यान्वयनका लागि फेरी लडाई शुरु हुन्छ । कार्यान्वयन गर्ने निकायको कुर्सीमा वस्ने यो समाजको पितृसत्तात्मक सोचले ग्रसित व्यक्तिले त्यसको नेगेटिभ व्याख्या गर्छ, असहज बनाउँछ र कार्यान्वयनमा समस्या ल्याईनै रहन्छ । तपाईको एउटा मात्रै उदाहारण हेरु न आमाको नामबाट नागरिकता प्राप्त गर्ने कुरामा नेपालको सर्वोच्च अदालतले कतिपटक वोलेको छ , हाम्रो संविधानमा त्यो व्यवस्था छ तर अझै पनि किन सहज रुपमा आमाको नामबाट नागरिकता प्राप्त हुन सक्दैन ? हो सबै भन्दा ठूलो समस्या हाम्रो कानुन, नीति नियम कार्यान्वयन एउटा ठूलो चुनौतिको रुपमा रहेको छ ।

४) महिलाहरुको न्यायमा पहुँचको अवस्था कस्तो छ ? अवरोधहरुलाई कसरी हटाउन सकिएला ?

महिलाहरुको लागि न्याय अहिले पनि आकाशको फल आँख तरि मर भने जस्तै छ । नीति, कानुन सबै ठाउँमा उसको अधिकार छ , उसलाई थाहा पनि छ तर ती यस्ता खालका सामाजिक अवरोधहरु, संस्कारका अवरोधहरु उसका सामुन्ने आउँछन् जसलाई पार गरेर न्यायको माग गर्नु नै पहिलो चुनौति छ महिलाहरुका लागि । अहिले पनि श्रीमानका विरुद्ध उजुरी गर्ने श्रीमतीले श्रीमान मरे पनि क्रिया गर्नु पर्दैन भन्ने मान्यता बोकेको यो समाजमा तपाई आफै कल्पना गर्नुहोस् कसरी महिलाहरु न्यायको माग गर्न सक्छन् । अधिकांश महिलाहरुले त्यत्तिवेला मात्रै न्यायको माग गर्छन् जब उनीहरुका लागि सबै ढोकाहरु बन्द हुन्छन् । उनीहरुसंग कि मर्ने की न्यायको माग गर्ने भन्दा अर्को विकल्प नुहँुँदा मात्रै उनीहरु न्यायका लागि आउँछन् । मैले धेरेै पटक प्रहरी कार्यालयमा घरेलु हिंसाका मुद्धाहरुको मेलमिलापमा वसेको छु त्यतिवेला एउटा महिला ५ वर्ष देखिको चरम यातना हिंसा सहन नसकेर प्रहरीमा उजुरीको लागि आएकी हुन्छे अनि जब मेलमिलापका लागि छलफल शुरु हुन्छ पहिलो प्रश्न नेै प्रहरीमा किन उजुरी गरेको देखि शुरु हुन्छ । प्रहरीमा उजुरी गर्नु वा न्यायको माग गर्नु नै उसको सबै भन्दा ठूलो गल्ती ठहर्याइन्छ र अहिले सम्म ऊ माथि भएको हिंसाका सबै घटनाहरु ओझेलमा पर्छन । अनि अन्तिममा मलाई प्रहरी सम्म ल्याउनेलाई म स्विकार गरर्दिन समेत भन्छन् कति श्रीमानले । तपाई आफै भन्नोस् यो अवस्थामा न्याय महिलाहरुका लागि कति सहज छ ? एउटा पुरुष आफ्नो घरमा आफ्नो सम्पत्तिमा र आफ्ना आफन्तहरुको साथ र सहयोगमा मुद्दा लड्छ तर एउटा महिला घरबाट निकालिएर कुनै संस्थाको आश्रयमा बसेर वा कुनै आफन्तको आश्रयमा बसेर ऋण खोजेर मुद्दा लड्छ । समाजको सहयोग साथ र सर्मथन कहिलै महिलाहरुका लागि हुँदैन ऊ एक्लै हुन्छ आफ्नो न्यायका लागि लड्ने अनि कसरी उसले न्याय प्राप्त गर्न सक्छ ? यति मात्रै हैन न्यायका लागि आउँदा न्यायिक निकायका व्यक्तिहरुले नै उसको कमजोरीको फाइदा उठाईरहेका हुन्छन् । एक्लै र असाहाय देखेपछि त्यहाँ भित्र पनि उमाथि विभिन्न प्रकारका शोषण हुनेगरेका थुप्रै घटना हामीले देखेको सुनेका र भोगेका छौं । त्यसैले महिलाहरुको न्यायमा पहुँच पुग्न सकेको छैन । थुप्रै यी र यस्ता खालका बाधाहरु छन् समाजमा त्यसैले एउटा महिलाले म माथि अन्याय हुँदा मैले न्यायको माग गर्ने हो भने मैले सजिलै न्याय प्राप्त गर्न सक्छु भन्ने वातावराण सृजना गर्न जरुरी छ । यसको लागि व्यक्ति,परिवार, समाज र न्यायिक निकायका व्यक्तिहरु समेतको सोचमा परिवर्तन हुन जरुरी छ ।

५) नेपालले एउटा राजनीतिक कोर्स पुरा गरेको छ । अबको महिला आन्दोलनको दिशा कस्तो हुनुपर्ला ?

हो नेपालले एउटा राजीनितक कोर्स पुरा गरेको छ तर त्यो कोर्स पुरा गरिरहँदा महिलाहरुको स्थितीमा भने खासै परिवर्तन हुन सकेको छैन । तपाईले हेर्नु भयो भने हरेक राजनीतिक आन्दोलनलाई सफल बनाउनका लागि महिलाहरुले महत्वपूर्ण भुमिका खेलीरहेका हुन्छन् । राणाशासन फाल्ने आन्दोलन होस वा पञ्चायत विरुद्धको आन्दोलन वा राजतन्त्र विरुद्धको आन्दोलन होस यी सबै आन्दोलनमा महिलाहरुले अग्रपंक्तिमा रहेर र पछाडीबाट आन्दोलनको बराबर हिस्सेदार भएका छन् । तर जब राजनीतिक आन्दोलनले सफलता प्राप्त गर्दछ त्यसपछि त्यहाँ महिलाहरुका कुनै पनि मुद्दाहरु संवोधन हुँदैनन् । महिलाहरुले आफ्ना मुद्दाहरु पुरा गर्न फेरी अर्को लडाई लड्नु पर्दछ । तपाई आफै हेर्नुस न ०६२÷०६३ को आन्दोलनमा काखमा वच्चा बोकेर महिलाहरु सडकमा निस्किए र आन्दोलनको अग्रपक्तिमा रहेर लडे त्यसको पछाडी महिलाहरुको मुक्तिको आन्दोलन पनि यही हो भन्ने सोच उनीहरु संग थियो । १० वर्षे माओवादीले संचालन गरेको सशस्त्र द्वन्दलाई हेर्नुस् त माओवादीले ४० प्रतिशत आफ्नो सेना महिलाहरु भएको दाबी गरेको थियो , आज खै ति महिलाहरु कति प्रतिशत राजनीतिक मोर्चामा छन् त ? हिजो त्यो अप्ठेरो परिस्थितीमा एउटा हातमा बन्दुक र एउटा हातमा बच्चा बोकेर युद्ध लड्न हिम्मत गर्ने महिलाहरु आज यो सजह परिस्थितीमा किन राजनीतिमा छैनन् ? हो यीनै कुराले प्रष्ट हुन्छ राजनीतिक आन्दोलनले महिलाहरुलाई उपयोग मात्रै गर्यो न की महिलाहरुका मुद्दलाई राजनीतिक मुद्दा बनाएन । त्यसैले हाम्रो मुद्धा राजनीतिकरण हुन जरुरी छ । जब सम्म महिलाहरुको मुद्दा महिलाहरुको मात्रै मुद्दा हुन्छ राजनीतिक मुद्दा हुदैन त्यत्तिवेला सम्म हामी सफल हुन सक्दैनौं । त्यसैले अबको महिला आन्दोलनले आफ्ना मुद्धाहरुलाई राजनीतिकरण गर्ने कुरामा ध्यान दिन जरुरी छ । महिलाहरुका मुद्धा राजनीतिक मुद्धा बन्न जरुरी छ ।

६) लैगिंक वा सामाजिक विभेद अन्त्यको कुनै शुत्र छ ? त्यसमा कस्ले के के जिम्मेवारी र भुमिका निर्वाह गर्नुपर्दछ ?

यदि विभेदको अन्त्य गर्ने कुनै त्यस्तो शुत्र भएको भए त्यो शुत्रको प्रयोग गरेर अहिले सम्म हिसाब मिलाई सकिन्थ्यो होला । त्यही कुनै शुत्र नभएका कारण त यो लैगिंक तथा सामाजिक विभेदको हिसाब मिल्न सकेको छैन नी । जति समाज विकास हुँदै छ यसको हिसाब झनै विग्रदो पो छ त । यो विभेदलाई अन्त्य गर्ने हो भने सबै भन्दा पहिला सोचमा नै परिवर्तन गर्न जरुरी छ तर सोच परिवर्तन गर्न त्यत्ति सजिलो छैन । तपाईले र मैले कालो रङ्गलाई कालो भन्नु पर्छ भनेर कहिले सिक्यौं याद छ त ? छैननी हो हामीले नजान्दा खेरी नै कालो रङ्गलाई कालो भन्न सिक्यौं । कालो देख्ने वित्तिकै तपाईको आँखा संगै दिमाग चलिसक्छ यो कालो हो । के अहिले हामीले कालो भनेको रङ्गलाई नै कालो भन्नु पर्ने त्यस्तो कुनै बैज्ञानिक कारण छ ? छैननी त्यसो हो भने आज देखि हामी यसलाई सेतो भनौं ? के यो संभव छ ? हो तपाई र मलाई मान्छे ले पागल भन्ने छन्, हामीलाई नै कालो देख्ने वित्तिकै यो सेतो हो भन्न वा हाम्रो आँखा र दिमागलाई त्यसमा अभ्यस्त बनाउन धेरै लामो समय लाग्ने छ । त्यसैले यो सामाजिक प्रथा परम्परा, मूल्य र मान्यता भन्ने चिज पनि हामीले कालोलाई कालो भन्न सिके जस्तै गरी सिकिएको कुरा हो यसको परिवर्तन गर्न सबै भन्दा पहिला मैले त्यसलाई स्विकार गर्नुपर्छ । मलाई स्विकार गर्नकै लागि पनि लामो समय लाग्छ । जब मैले स्विकार गर्छु अर्कोले मलाई स्विकार गर्दैन । त्यसैले यो सामाजिक संस्कार र संरचनाको विरुद्धको कुरा भैदिन्छ । सामाज एकातिर र परिवर्तन चाहानेहरु अर्को तिर भैदिन्छ । यो एउटा लडाई नै हो । साह्रै ठुलो लडाई । यसलाई जित्नु त्यत्ति सजिलो छैन र छोटो समयमा पनि हामी जित्न सक्दैनौं तर मलाई विश्वास छ यो लडाईको जित चाही परिवर्तन चाहानेहरुकै पक्षमा हुन्छ । त्यसको लागि सबै भन्दा पहिलो हाम्रो राज्यका जिम्मेवार निकाय जवाफदेही र परिवर्तन चाहाने हुन जरुरी छ , अनि तपाई हामी जो आफूलाई यो समाजको बुद्धिजीवि र अगुवा भन्छौं तिनीहरुले यसको नेतृत्व लिन जरुरी छ । लैगिंक विभेद विरुद्धको आन्दोलन महिला भर्सेस पुरुषको आन्दोलन हैन । यो सबै भन्दा ठूलो गलत बुझाई छ । यो त परिवर्तनको आन्दोलन हो, विभेद विरुद्धको आन्दोलन हो । त्यसैले यहाँ महिला र पुरुष भनेर बाँडिदैन । परिवर्तन चाहानेहरुको एउटा लाइन हुन्छ त्यहाँ महिला वा पुरुष जो पनि हुन सक्छ भने अर्को परिवर्तन नचाहाने यथास्थितीवादीहरुको अर्को लाइन हुन्छ त्यहाँ पनि महिला वा पुरुष जो पनि हुन सक्छ । महिलाको शरिर हुँदैमा ऊ महिलावादी हुदैन र पुरुषको शरिर हुँदैमा ऊ महिला विरोधी पनि हुँदैन यो बुझ्न जरुरी छ ।

२०७५ कात्तिक ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: