Fri. Mar 29th, 2024

आईपीएल : पञ्जाबसँग १४ रनले हार्‍यो दिल्ली


१९ चैत, काठमाडौँ

साम कुरानले ह्याट्रिक विकेट लिएपछि किंग्स इलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । सोमबार राति मोहालीमा सन्दीप लामिछाने सहभागी टिम दिल्लीलाई १४ रनले पराजित गर्दै आईपीएलमा तेस्रो जित दर्ता गर्न सफल भयो ।

१६७ रनको लक्ष्य पछ्याएको दिल्ली ४ बल बाँकी छँदै १५२ रनमा समेटिएको थियो । पञ्जाबका साम कुरानले ह्याट्रिक विकेट लिन सफल भए । उनले १८ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई बोल्ड आउट गरेका थिए । त्यसपछि २० औं ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै कुरानले ह्याट्रिक पूरा गरेका हुन् । दोस्रो बलमा कासिगो राबडा र तेस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरेका थिए ।

रनको खाता नखोल्दै पृथ्वी शलाई गुमाएको दिल्लीका लागि शिखर धवन र श्रेयश ऐय्यरले ६१ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । शिखर ३० रनमा आउट हुँदा श्रेयस २८ रनमा पेभेलियन फर्किए । कोलिन इन्ग्राम र ऋषभ पन्तले उत्कृष्ट पारी खेल्दै टिमलाई जित नजिक पुर्याएका थिए । १४४ रनमा चौथो विकेट गुमाएको दिल्लीले बाँकी ८ रन जोड्दा बचेका ६ विकेट खेर फालेको थियो । दिल्लीलाई रोक्न कुरानले ह्याट्रिकसहित चार विकेट लिए भने मोहमद शामीले र रविचन्द्र आश्विनले दुई–दुई विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । पञ्जाबका लाडि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाउँदा सर्फराज खानले ३९ रन जोडे । मन्दिप सिंह २९ रनमा नट आउट रहदा साम कुरान २० रन बनाएर आउट भए ।

दिल्लीबाट खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीपले सोमबारको खेलमा २ विकेट लिएका छन् । उनले टिमलाई दोस्रो र चौथो सफलता दिलाएका थिए । ४ ओभर बलिङ गरेको सन्दीपले २७ रन खर्चिएर २ विकेट लिएका हुन् । उनी आज पनि दिल्लीका लागि सर्वाधिक सफल बलर पनि बनेका छन् । सन्दीपले ६।७५ को इकोनोमी रेटमा रन दिएका थिए । उनले साम कुरान र सर्फराज खानलाई आउट गर्दै दिल्लीलाई ठूलो राहत दिलाएका थिए । यसैगरी क्रिश मोरिसले ३ तथा कासिगो रावडाले २ विकेट लिएका थिए ।

खेलपछि दिल्लीका कप्तान श्रेयस अय्यरले आफूहरुले स्मार्ट क्रिकेट नखेलेको स्वीकार गरेका छन् । उनले यस्तो खेल हार्दै जाने हो यसले आफूहरुलाई अन्त्यसम्म ठूलो धक्का पुग्ने उनले बताए । ब्याटिङ र बलिङ दुवैमा आफूहरु चुकेको बताउँदै यस्ता गल्तीबाट पाठ सिक्दै आउँदा खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्ने अय्यरले बताए ।

२०७५ चैत १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: