Fri. Mar 29th, 2024

जंगलमै बसेर खानेपानीलाई जनश्रमदान


सिर्जना लम्साल / २३ भदौ, धादिङ-

कोही झारबुटा पन्छाउदै छन् । कोही चाँदे कोदालोले पाइप लाइन खन्दै छन् त कोही पाइप लाइनमा परेका ढुंगा निकाल्दै छन् । चर्काे घाममा निधारबाट चुहिएको पसिनाको प्रवाह छैन । पाइप लाइन खन्दै गरेका ओम वहादुर भुजेल भन्छन्, ‘धित मरुन्जेल पानी खाने सपना बल्ल पुरा हुँदैछ ।’

वर्षाैदेखि खानेपानीको समस्या झेल्दै आएका पिँडाका स्थानीय गाउँमा पानी ल्याउन रातदिन खटिएका छन् । गाउँमा खानेपानी आउने भएपछि स्थानीय बृद्धबृद्धा समेत जंगलमै बास बसेर पाइप लाइन खन्न व्यस्त छन् । गजुरी गाउँपालिका वडा नम्वर ५ को मानेभञ्ज्याङमा पानी ल्याउन एक सातादेखि करिब १ सय ५० जना स्थानीय रातदिन खटिएका छन् ।
गजुुरी–४ को गैरीगाउँबाट गजुरी– ५ को मानेभञ्ज्याङसम्म पानी ल्याउन स्थानीय कम्मर कसेर लागि परेका हुन् । गैरीगाउँदेखि मानेभञ्ज्याङसम्मको दुरी ९ किलोमिटर छ । मानेभञ्ज्याङ र आसपारसका स्थानीय पाइप लाइन खन्न अहिले गैरीगाउँ पुगेका छन् । पाइप लाइन खन्न पुगेका स्थानीयले जंगलमै पकाएर खाने र जंगलमै त्रिपाल हालेर बास बसेर काम गरिरहेका छन् । ‘विहान बेलुका घरबाट ओहोरदोहोर गरेर काम गर्न भ्याइदैन त्यसैले जहाँ काम ग¥यो त्यहि त्रिपाल हालेर बस्नी गरेका छौं’, भोजबहादुर बिकले भने ।

हरेक चुनावमा नेताहरुले गाउँमा खानेपानी ल्याइदिने आश्वासन दिन्छन्, पछि गाउँ फर्कदैनन् । ‘अहिले गाउँले सबै मिलेर काम थालियो’, उनले थपे । गाउँलेले पैसा लिने गरी काम गरेका होइनन्, गजुरी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष रामचन्द्र मिजारको अगुवाईमा जनश्रमदानमा काम गरेका हुन् ।

पाइप लाइन खन्दै स्थानीयले च्याङ्लीसम्म ल्याइपु¥याएका छन् । एक मिटर गहिरो बनाएका छन् ।
युनाईटेड मिसन टु नेपाल धादिङ क्लष्टरको सहयोगमा प्रयास नेपाल धादिङले खानेपानी आयोजनाको लागि ५२ लाख सहयोग गरेपछि स्थानीयमा हौसला थपिएको छ । एक सय ४० घरको लागि २२ वटा धारा निर्माण गर्ने योजना रहेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

गाउँमा पानी आइपुगेपछि पुनर्निर्माणले पनि गति लिनेमा स्थानीय विश्वस्त छन् ।

२०७४ भदौ २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: