Today: October 23, 2018

माटोबाट आनन्द लिदै धादिङका किसान


सरिता श्रेष्ठ / २४ बैशाख, धादिङ –

 

आफ्नो खेतबारीमा थरीथरीका तरकारीहरु लगाउनु, गोडमेल गर्नु, समयमै सिँचाई र मलजलको प्रवन्ध मिलाउनु, दिनभरी खेतबारीकै काममा व्यस्त हुनु एक किसानको कर्म हो । बिहान उठेदेखि साँझ नहुञ्जेलसम्म माटोमा रमेर समय बिताउनु, बालीको स्याहारसुसारमा समय बिताउनु । समयसमयमा खेतीबालीको रेखदेख गरिरहनु र उत्पादित तरकारी संकलन गरेर बजार पठाउनु किसानका लागि एक जिम्मेवारी र दैनिकी कार्य हो ।

यस्तै काममा दैनिक व्यस्त हुन्छन्, धादिङको गजुरी गाउँपालिका वडा नं १ केउरेनीका टिकाकुमारी बरुवाल । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका उनलाई अहिले तरकारी खेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरी लगाइएको हरिया तरकारीबालीले मनै आनन्दित बनाएको बरुवालले बताइन् । ‘बिहानदेखि बेलुकासम्म बारीको पाटोमा लगाएको तरकारी खेतीमा खेलिरहन्छु’, बरुवालले भने ‘सिजन अनुसारका तरकारी लगाउन र माटोमा खेल्न आनन्द लाग्छ ।’ उनलाई आफ्नो बारीमा लगाइएको तरकारी बालीको रेखदेख गर्न मन जाने गर्दछ ।

बरुवाल जालपादेवी आमा समूहमा आबद्ध छिन् । आमा समूहमा कृषिको आधुनिक प्रविधि, रोग किराको बारेमा छलफल गर्ने गर्दछन् । समूहमा रहेको कृषि औजार सामग्री तथा खेतबारी जोत्नका लागि ट्याक्टर समेत आलोपालो गर्छन् । उनले बारीभरी गोलभेडा, काउली, बन्दा, खुर्सानी लगायतका तरकारी बाली लगाएका छन् । यी तरकारी दिनैपिच्छे टिप्ने गर्छन् । टिपेका तरकारी गजुरीस्थित तरकारी संकलन केन्द्रमा बेच्न लैजाने गर्छन् । उनको बारीमा तरकारी मात्र होइन फलफुल समेत लगाएका छन् । केरा, आँप लगायतका तरकारी समेत लगाएका छन् । उत्पादित तरकारी धादिङ सदरमुकाम सहित काठमाडौँ, चितवन, पोखरा लगायतका ठाउँमा बिक्री गर्ने गरिएको छ ।

पुस्तौदेखि कृषि पेशा अंगालिरहेका उनका परिवारले कृषिलाई नै मुख्य पेशा बनाएर अंगालिरहेका छन् । सुरुसुरुमा दैनिक छाक टार्न मात्रै तरकारी लगाउने गर्थिन् । केही वर्ष अघिदेखि त्यसलाई व्यावसायिक रुप दिन थालेकी हुन् । तरकारी बारीमा लुकामारी खेल्दा सन्तुष्टि मिलेको बरुवालले बताइन् । ‘पुस्तादेखिको परम्परागत खेतीलाई अहिले व्यावसायीक रुप दिएका छौँ’ वरुवालले भनिन् ‘माटोमा खेल्दा आनन्द पनि हुने आम्दानी पनि हुने ।’ गाउँमै नमुना किसानका परिचय बनाएका बरुवालले आगामी दिनमा कृषि क्षेत्रलाई निरन्तरता दिने र सामाजिक क्षेत्रमा लगानी गर्ने योजना बुनेको सुनाईन ।

व्यावसायिक तरकारी खेतीमा होमिएका बरुवालले जिल्ला कृषि विकास कार्यालयबाट तरकारी खेतीलाई चाहिने टनेल र प्राविधिक सहयोग पाएका छन् । त्यस्तै विभिन्न संघसंस्थाहरुले कृषि औजार तथा तालिम समेत पाएकी छन् । बरुवाल व्यावसायिक कृषि खेतीमा लागेर दिनहुँ माटोसँग खेल्दा आनन्द आउने अनुभव सुनाउँछन् । आफूसँगै पढेका कतिपय साथीहरु विदेश र सरकारी जागिरतर्फ लागे पनि उनी ‘विदेश पनि नजाने, अन्य जागिर पनि नखाने’ भनेर कृषि क्षेत्रमा लागेको बताइन् । व्यावसायिक तरकारी खेती गरेका कृषक वरुवालले वर्षमा चारदेखि सातालाख रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यसैको आम्दानीबाट दैनिक घरखर्ची टार्ने तथा बालबच्चालाई पढाउने गर्छन् ।

धादिङ जिल्लालाई तरकारीको पकेट क्षेत्रको रुपमा लिइन्छ । यहाँ उत्पादन भएको तरकारीले राजधानी काठमाडौँ, पोखरा, नारायणघाट, बिरगंज लगायतका ठूला सहरका भान्सालाई पु¥याइरहेका छन् । व्यावसायिक क्षेत्रमा लागेका किसानहरुले आधुनिक प्रविधिमैत्री खेतीमा जोड दिर्दै आइरहेका छन् । व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने किसानहरुको भनाई छ ।

२०७५ बैशाख २४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट