Today: February 23, 2019

प्रभावकारी काम गरेको मुख्यमन्त्री पौडेलको दाबी

१ फागुन,  मकवानपुर 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सक्नेजति काम प्रभावकारीरूपमा काम गरेको भन्दै सरकारको बचाउ गरेका छन्। प्रदेश सरकारले प्रथम वार्षिकोत्सवको अवसरमा मंगलबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले मंसिरदेखि मात्र वास्तविक काम गर्न पाएको दाबी गरेका छन्। ‘एकवर्षे कार्यकाल भने पनि सरकारले काम सुरु गरेको चार–पाँच महिनाभन्दा बढी भएको छैन,’ उनले भने, ‘चाहेअनुसार काम गर्न सकेनौंहोला, तर हामीसँग गोरेटो बाटो पनि थिएन, गोरेटो बाटो खन्दै पन्छाउँदै झाँडी फाँड्दै हामी अगाडी बढेका हौं।’

प्रदेश एकदमै नयाँ संरचना भएकाले केन्द्र सरकार र स्थानीय तहसँग तुलना गर्नै नमिल्ने बताउँदै उनले कार्यालय स्थापना, कर्मचारी माग र कानून निर्माणमै धेरै समय बितेको तर्क गरे। ‘म गर्बका साथ भन्छु, प्रदेश सरकारले जति गरेको छ, जुन परिस्थितिमा जति गरेको छ, त्यो धेरै राम्रो गरेको छ, यो सरकारले काम गर्न सकेन भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने। एउटा ऐनको मस्यौदा बनाउँनै तीन महिना र प्रक्रिया पूरा गर्न थप तीन महिना लाग्ने बताउँदै उनले २८–३० वटा ऐन एक वर्षमा बनाइसकिएको बताए।

‘प्रदेश लोकसेवा आयोग नभइकन कर्मचारी नियुक्त गर्न मिल्दैन,’ उनले भने, ‘कर्मचारी अभाव रहेकाले केन्द्र सरकारलाई हामीले ताकेता गरिरहेका छौं।’प्रदेशले अझै ७० वटा जति कानुन बनाउँनुपर्ने भए पनि लोकसेवा, भूमि, प्रदेश प्रहरी, निजामतीलगायतका कानुन निर्माण गर्न सके अरु कानुन तत्काल आवश्यक नरहेको उनले तर्क गरे। प्रदेश सरकारको एक वर्ष(२०७४/७५) पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको एक वर्षमा २४ वटा कानुन बनेको र मन्त्रिपरिषद्को ४१ वटा बैठक बसेको बताए।

२०७५ फागुन १ गते प्रकाशित

Displaying 1 Comments
Have Your Say
  1. […] post प्रभावकारी काम गरेको मुख्यमन्त्री पौ… appeared first on Pabil […]

Leave a comment


Loading...

ताजा अपडेट