Today: September 26, 2018

नगरप्रमुख-उपप्रमुख विवाद चुलिदै, ‘भण्डारीकाे आरोप निराधार : ढुङगाना’

२८ भाद्र, धादिङवेशी-

धादिङ स्थित नीलकण्ठ नगरपालिकामा नगरप्रमुख र उपप्रमुख वीच शीतयुद्ध चलेको छ । नगरप्रमुख र कार्यपालिकाको कार्यशैलीमा असहमती जनाउदै उपप्रमुख मनराज भण्डारीले गत भाद्र २६ गते पत्रकार सम्मेलन गरेपछि उपप्रमुखले लगाएको आरोपको जवाफ दिन नगर प्रमुख भीम ढुङगानाले पनि विहीवार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेका छन् ।

नेपाली काँङग्रेसबाट निर्वाचित नगरप्रमुख भीम प्रसाद ढुङगानाको कार्यशैलीको विरोध गर्दै तत्कालिन नेकपा माओवादी केन्द्र बाट निर्वाचित भएका उपप्रमुख मनराज भण्डारीले मंगलवार तत्कालिन एमाले र माओवादीबाट निर्वाचित वडा अध्यक्षहरु साथ लिएर पत्रकार सम्मलेन नै गरेका थिए । उप्रमुख भण्डारीले प्रमुख ढुङगानामाथी एकलौटी निणय लादेको, वडा अध्यक्षको क्षेत्राधिकार मिचेको, लामो समय विदेश भ्रमणमा जाँदा कार्यवाहक नदिएको, तथा नगरसभाबाट पारित गरिएका निति नियम र ऐन नियमहरु नै उलङ्घन गरेको आरोप लगाएका थिए ।

विहीवार पत्रकार सम्मलेन गर्दै प्रमुख ढुङगानाले सवै काम नितिनियम भित्रै रहेर, उपप्रमुख र कार्यपालिकासंग सल्लाह गरेरै गरिएको बताएका छन् । पत्रकार सम्मललनमा बोल्दै प्रमुख ढुङगानाले भने, ‘सवै काम नगरपालिकाको ऐन निति नियम भित्रै रहेको छ । कुनै पनि बैठकमा बहुमतको प्रयोग गरिएको छैन, उपप्रमुखले भनेजस्तो बहुमतको दम्भ देखायो भन्ने कुरा सरासर झुटो हो, प्रमाण आवश्यक परे सवैलाइ खुल्ला छ । उपप्रमुखले लगाउनुभएको आरोपहरुको खुल्ला ठाउँमा बसेर जनतामाझ उत्तर दिन तयार छु ।’

रोचक कुरा के छ भने स्थानीय तहको निर्वाचनताका प्रमुखमा ढुङगाना र उपप्रमुखमा भण्डारीले मिलेर चुनाव लडेका थिए । नेपाली काँङगे्रेस र तत्कालिन माओवादी केन्द्रवीच स्थानीय तहमा गठबन्धन बनेका बेला तत्कालिन नेकपा एमालेका उम्मेद्वारहरुलाइ उनीहरुले भारी मतान्तरले पराजित गरेका थिए ।

उपप्रमुखले आरोप लगाएजस्तो विद्यालय ब्यवस्थापन समिति छनौटमा आफुले मनपरी नगरेको नगरप्रमुख ढुङगानाले बताए । नगरशिक्षा ऐनको प्रावधान बमोजिम विद्यालय ब्यवस्थापन समितिमा नगर कार्यपालिकाबाट २ जना सदस्य मनोनयन गर्न पटक–पटक बैठक बस्न ब्यवहारिक नहुने देखिएकाले उपप्रमुख आफ्नै अध्यक्षतामा बैठक बसेर नगरप्रमुखलाइ अधिकार प्रत्यायोजन गर्ने अनि आँफैले नगरप्रमुखले एकलौटी मान्छे चयन गर्यो भन्नुले उप्रमुखको नैतिकतामा नै प्रश्न उठेको ढुङगानाको दावी थियो ।

ऐनमा उल्लेख भएअनुसार आफु ७ दिन भन्दा बढी बाहिर रहदा कार्यबाहक दिएको भन्दै प्रमुख ढुङगानाले उपप्रमुखले कार्यबाहक माग्नुको आशय नबुझेको बताए । आफुहरु बैठकमै सहभागी नहुने अनि बैठकमा भएका निर्णयहरुमा सहमती नभएको भनेर बाहिर गएर भन्ने कुरा लोकतन्त्रकै उपहास भएको नगरप्रमुख ढुङगानाको तर्क थियो ।

वडा अध्यक्षहरुले नै वडाबासीको सिफारिश तथा प्रमाणीकरण नगरिदिएपछि आफुले जनताको काम गरिदिएको बताउदै प्रमुख ढुङगानाले भने, ‘वडा अध्यक्षहरुले क्षेत्राधिकार मिचियो भन्नु कत्ति पनि सुहाउदैन, आँफैले भोट पाएर जितेका वडाबासीहरुको योजना अनुगमन तथा प्रमाणीकरण वडाअध्यक्ष आँफै नगर्ने अनि योजनाको फरफारक र नागरिकहरुको सहजताको लागि नगरप्रमुखले बाधा फुकाइदिदा क्षेत्राधिकार नाघ्यो भन्नुमा कुनै तुक छैन ।’

नगरपालिकाको विकास र सम्बृद्धिका लागि भन्दै भोट मागेर चुनाव जितेका जनप्रतिनिधिहरु नै एक आपसमा आरोप–प्रत्यारोपमा उत्रिएपछि नगरबासीहरु भने अचम्मित भएका छन् । प्रमुख र उपप्रमुख वीच नै मन नमिलेपछि नगरपालिका क्षेत्रभित्रको विकास निर्माणमा बाधा पर्दैन भन्ने संचारकर्मीहरुको जिज्ञासामा प्रमुख ढुङगानाले भने, ‘सवै काम निति नियम भित्र बसेरै गरेका छौँ, उपप्रमुखको के कुरामा चित्त बुझेको छैन, उहाँसंग छलफल गछौँ, प्रमुख र उपप्रमुख नमिल्दैमा विकास निर्माणमा बाधा पुग्छ भन्ने होइन, सवै काम पद्धती अनुसार चल्दै जानेछ ।’

Leave a comment


Loading...

ताजा अपडेट