Today: January 19, 2019

आगामी चैतबाट निर्माण सुरुहुँदै नागढुङ्गा सुरुङमार्ग

२४ पुस, धादिङ–

बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको निर्माणका लागि ६ ठेकेदार कम्पनी इच्छुक देखिएका छन् । सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका अनुसार ५ वटा चिनियाँ कम्पनी र एक जापानी कम्पनी उक्त सुरुङमार्ग निर्माणका लागि इच्छा देखाएका छन् ।

महाशाखाले गत साउन २४ गते सुरुङमार्ग निर्माणका लागि आवस्यक कम्पनी छान्न ६० दिने बोलपत्र आह्वान गरेको थियो । माग गरिएको बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए ।सुरुमा सुरुङमार्ग निर्माण गर्न कम्पनीहरुबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर अहिले आएर जम्मा ६ ठेकेदार कम्पनी इच्छुक देखिएका छन्, नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेलले  भने ।

उनकाअनुसार, अहिले ६ कम्पनीहरुमध्ये प्राविधिक रुपमा अब्बल रहेका कम्पनीलाई ठेक्का दिने छलफल भैरहेको छ । जुन कम्पनी अब्बल देखिन्छ, उसैले ठेक्का पाउँछ ।यी कम्पनीहरुमध्ये सबैभन्दा न्यूनतम मूल्य कबुल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउँछ । जसका लागि महाशाखा अहिले छलफलमा केन्द्रित भएको उनले बताए ।ठेकेदार कम्पनी आगामी चैत महिनासम्ममा छनौट हुने भन्दै प्रमुख खरेलले त्यसलगतै सुरुङमार्ग निर्माणको काम सुरु गर्ने जानकारी दिए । उनले भने, आगामी चैतभित्रमा हामी काम सुरु गर्छौं । त्यसका लागि अहिले काम भैरहेको छ ।

त्यस्तै, सुरुङमार्ग निर्माणको लागि आवस्यक कामहरु पनि भैरहेको उनले बताए । उनका अनुसार, सुरुङमार्गका लागि काठमाडौंमा जग्गा अधिग्रहणको काम थोरै मात्रै बाँकी रहेको छ भने, धादिङमा पनि जग्गा अधिग्रहण तथा मूल्यांकनको काम बाँकी रहेको छ ।

नागढुङ्गा सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसका लागि जापानी सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ । जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिएको हो । सोही ऋण रकमलाई सरकारले सुरुङमार्ग निर्माणमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । अपुग ६ अर्ब रुपैयाँ भने नेपाल सरकारले नै व्यहोर्ने यसअघि नै निर्णय भैसकेको छ ।

२०७५ पुस  २४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट