Today: September 23, 2018

नीलकण्ठ नगरपालिकाको मोवाइल एप्स सार्वजनिक

२ बैशाख,  धादिङ –

स्मार्ट सिटिको रुपमा विकास गर्ने अवधारणा लिएर अघि बढेको नीलकण्ठ नगरपालिकाले आफुले प्रदान गरेका सेवाप्रवाहलाइ प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ ।

जिल्ला सदरमुकाम धादिङवेशी समेत रहेको नीलकण्ठ नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पुरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार ब्यक्ति लगायतका जानकारीहरु घरबाटै लिन सकिने गरि मोवाइल एप्स तयार पारेको हो । खुला सरकारको अवधारणा अनुरुप नीलकण्ठ नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मेरो नीलकण्ठ मेरो बोबाइल नामक एप्लिकेशन सार्वजनिक गरेको हो ।

मोबाइल एप्लिकेशन सार्वजनिक सँगै सबै वडाका जनताले नगरपालिकाले प्रदान गर्ने सेवा, नगरपालिकाबाट विनियोजित रकम र तर्जुमा गरिएका कार्यक्रमको कार्यान्वयन अवस्थालाई घरमा बसिबसी सजिलै बुझ्न सक्ने नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुँगानाले बताए । उनले भने, ‘कुनैपनि योजनाको कार्यन्वयनको अवस्था के कस्तो छ भनेर मोवाइलबाटै बुझ्न सकिन्छ भने उक्त योजनाहरु संग सम्वन्धीत गुनासा पनि एप्लिकेशन मार्फत नै गर्न सकिन्छ ।’

एप्समा नगरपालिकाको सबै वडाको विभाजित नक्सा, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्थाका बारे जानकारी समेत दिइएको छ । एप्समा उपलब्ध गराइएको नक्साबाटै नगरपालिकाले कुन स्थानमा कस्तो काम गरिरहेको छ, कति बजेट छुट्याइएको छ भन्ने विषयमा जानकारी लिन सकिन्छ । नगरपालिकाको आम्दानी र खर्च विवरण, नगरप्रोफाइल, सबै मोबाइल एप्समा सजिलै हेर्न सकिने छ । एप्समा दैनिक अपडेट गरिने व्यवस्था समेत मिलाइएको प्रमुख ढुङगानाले बताए ।

मोवाइल एप्स मार्फत नै सेवा प्रदान गर्नको लागि प्राप्त निवेदनहरुको विषयमा कामकारवाही अघि बढाउन वडा अध्यक्ष र सचिवहरुको लागि तालिम दिएपश्चात मोवाइलबाटै सेवा लिन सकिने पनि नगरपालिकाले जनाएको छ । युएसएआइडीको सहयोगमा काठमाडौँ लिभिङ ल्याबले नीलकण्ठ नगरपालिकासंग सहकार्य गरेर निर्माण गरेको एप्सको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपोलियाले एक कार्यक्रमका बीच सुरुवात गरेका हुन । एप्स सुरुवात गर्दै सचिव थपलियाले भने, ‘स्थानीय सरकार प्रविधिमैत्री हुन सकेन भने भावी कार्ययोजना बनाउदा साहै्र समस्या पर्छ, नगरपालिकाको कार्यलयबाट मात्रै नभइ वडावडाबाटै पनि एप्स मार्फत प्राप्त निवेदनहरु उपर कारवाही हुनेगरि अघि बढ्नु पर्छ ।’
मोबाइल एप्स मार्फत नगरपालिकाका बारे कुनै गुनासा, जिज्ञाशा तथा प्रतिक्रिया दिन सकिने र एप्स मार्फत नै नगरपालिकाका तर्फबाट जिज्ञासा समाधान गरिने नगरपालिका सल्लाहार दिपक कोइरालाले बताए । कोइरालाले भने, ‘नगरपालिकाले खुल्ला सरकारको अवधारणा अवलम्वन गरेको छ । हामीले नगरसभा, नगरकार्यपालिका सवै वैठकका निणर्यहरु सवै जनताले जानकारी पाउन् भन्नको लागि बैठकको भोलिपल्ट एप्समार्फत नै सार्वजनिक गर्ने ब्यवस्था मिलाएका छौँ ।’

जनतालाई प्रविधिमैत्री सेवा प्रदान गर्न मोबाइल एप्लिकेशन प्रयोगमा ल्याएको नगरप्रमुख ढँुगानाको भनाइ छ । ‘नगरपालिकामा कुनै सरकारी काम लिएर आउदा के के लिएर आउनु पर्ने र कसलाइ भेट्नुपर्ने भन्ने विषयमा सम्पुर्ण जानकारी समावेश गरिएको छ ।’ मेयर ढुङगानाले भने, ‘जसले गर्दा सेवाग्राहीले प्रक्रिया नपुगेर काम नभइ फर्कनु नपरोस भन्ने हाम्रो चाहना हो ।’

जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, नगरपालिकाका योजनागत कार्यक्रम, नगरपालिकाका प्रगति विवरण, नगरक्षेत्रका सबै वडा कार्यालय, सरकारी गैरसरकारी निकायका गतिविधि समेटर एप्स बनाइएकाले जनता र नगरपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी हुनेमा विश्वस्त रहेको अध्यक्ष ढुङगानाले बताए ।
यसअघि माइक्रोसफ्ट इनोभेसन सेन्टरसंगको सहकार्यमा नगरपालिकाको १४ वटै वटाहरुमा इन्टरनेट जडान भइ सेवा प्रवाह सुरु भइसकेको छ भने सदरमुकाम आसपासका ४ स्थानमा निशुल्क वाइफाइ जोड्न प्रक्रियामा रहेको छ ।

२०७५ बैशाख २ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट