Today: March 26, 2019

कविता लेख्नै जानिन

निर्मल घिमिरे –

तिमी राम्रो कविता लेख भन्छौँ मलाई
तर आकाशमा
को हुँ..को हुँ भन्दै बराल्लिएर
उड्दै गरेकी कोइली चरी झैँ
पंख फिजाउन खोज्दा
सुकेर ठिंगिएको रुखमा
ठोक्किएर रन्धनिइरहेको म
त्यस्तै–त्यस्तै झण्झानाहटमा पिल्सिरहँदा
तिमी नै भनन काली
कसरी लेख्न सक्छु र म राम्रो कविता…..?

माटोका देवलहरुमा ज्यान जोगाउन तल्लिन
कमिलाका ताँती झैँ
ज्यान जोगाउने लाइनमा उभिएको बेला
भोको पहाड बोकेर
नुनको स्वाद लिन
खर्पन भरी नून जस्तै आँशु बोकी हिडेँका
असंख्य मान्छेका भिड देख्दा
एकै घरमा बस्दा पनि
जोइपोईको भेट हुन सप्ताहन्त नै कुर्नु पर्ने
झिसमिसेमा आँखा मिच्दै
टिफिन बक्स कोही मेसिनको गतिमा
दगुरिरहेको थकित, सन्देश र चिठि जिन्दगीमा
तिमि नै भनन काली
कसरी लेख्न सक्छु र राम्रो कविता….. ?

चिसो चौरमा चरिरहेका भेडाका वथानहरुसँगै
भेडाकै मोलमा विकिरहेका मान्छेहरु
भेडाभन्दा पनि सस्ता भएर बाँचेको देखेपछि
अर्मपर्म त परै जावस्
सन्चो विसन्चोसम्म सोध्न नभ्याए सी
शौच जाँदा नि खाइरहेका, यात्रामा उघिँरहेका
बेमतलबी सांसरिक माया देख्दा
तिमि नै भन न काली
कसरी लेख्न सक्छु र म राम्रो कविता….?

उता आफ्नातिर…..
हिंस्रक बाघको मात्रै हो डर थियो पहिले
अहिले अनगिन्ती ब्वाँसा र मलसाप्राहरु
समाजका सुलसुले अनि बनढाडेहरु देख्दा
आफैले ल्याएका राम्रा बाद र तन्त्रहरुमा पनि
आफैले फेरिरहेको श्वासको समेत
कर तिरेर बाँच्नु पर्दा
आफ्नै सपनाहरुको अस्मिता लुट्दै
फेसबुके विकासलाई भित्तामा पोष्ट गरी
वाही वाही कमाइरहेको मलसाप्राहरु देख्दा
तिमि नै भनन काली
कसरी लेख्न सक्छु र म राम्रो कविता….. ?

तसलिमा नसरिन हुन हैन
गाउँकै मास्टर्नी हुन पढ्न खोज्ने छोरीलाई पढाउन नसकेर
आत्महत्या गर्ने आमाको खबर सुनेपछि
पहिलो रजश्वला हुदाँ
छाउ बार्न ओडारमा पुगेकी किशोरी
अन्तिम मासिक श्राव हुदाँ सम्मै ओडार मै
हजारौँ पटक मर्दै बाँचेकी सुनेपछि
भोकसँग लाइन लडन नसकेर
आफ्नै सन्तानलाई कुवामा धकेल्ने
ती निह्र्य आमाका अचेतन मन देख्दा
सयकडा तीनको व्याज तिर्ने मिगौर्ला बेच्ने
होक्सेका ती तामाङ दाईको खबर सुन्दा
तिमि नै मनन काली
कसरी लेख्न सक्छु र म राम्रो कविता….?

मर्दा मलामी र बिसन्चो हुदाँ बोक्न समेत
कोही गाउँमा नहुदाँ
खाडीमा लाम लागि रित्तिएको गाउँ देख्दा
‘यति लाख युवा पठाउने सम्झौता गर्न सफल’
फलाक्दै गरेका भजन मण्डलीका स्तुतीगान
अनि सर्बै भवन्तु सुखिनाः सर्बे भद्राणी पश्यन्तु
नारा अझ उच्च स्ववरमा फलाकी रहेको सुन्दा
बढारेर सुकिदो बनाएको मैदानमा
फोहोरी खेलाडीहहले मात्रै ओगटेपछि
तिमि नै मनन न काली
कसरी फूर्छ र लेख्न राम्रो कविता… ?

२०७५ पुस २२ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट