Today: November 18, 2018

निर्मला पन्त (कविता)


उर्मिला चित्रकार –

असिमित सपना अनि अनगिन्ती मेरा चाहनाहरु
मेरा सपनाका गन्तव्य चुम्न खोज्दै थिएँ बहानाहरु

पढेर असल मानिस बन्छु, म पनि केही गर्छु भन्दै
किताबकापी बोकि गए रहरले कोरीएका पाना गन्दै

गएँ आमा म टाढा गएँ फर्केर आउन नसक्ने गरी
खुशी दिन्छु भनेको थिएँ तर चोट दिए जीवन भरी

पापीहरुले लुटे इज्जत मारेर फाले उखु बारीमा
उठ्नै सकिन पल्टीरहेँ चिसो ओसीलो घना घारीमा

नहार्नु आमा हिम्मत तिमीले जुट्नु सास बचेसम्म
लड्नु पर्छ हत्यारा खोज्न कंसहरुले कथा रचेसम्म

मेटाएर प्रमाणहरु बचाउन खोजिएको छ दानवहरुलाई
म त मरिहाले आमा अब जोगाउनु चेलीबेटी मानवलाई

मेरो न्यायमा बोल्ने छिमेकी दाजु तातो गोली खाएर मरे
मेरो आत्माले शान्ति पाउने थियो देशले खास केहि गरे

पुछिदिनुहोस् मेरो आमाको आँशु ओभानो पारि परेलीहरु
जुट्नुहोस् सबै न्यायका लागि ज्यानै किन नजाओस् बरु

(बेलकोटगढी नगरपालिका ८– नुवाकोट)

२०७५ भदौ ३१ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट