Today: April 24, 2019

नारायणगढ–मुग्लिन सडकको सात ठाउँ पहिरोको उच्च जोखिममा


२७ चैत, चितवन–

नारायणगढ–मुग्लिन सडकखण्ड अझै पहिरोको जोखिममा रहे पनि जोखिम रोक्ने काममा ढिलासुस्ती भइरहेको छ ।

चालु आर्थिक वर्षभित्रै पहिरो नियन्त्रणको काम थाल्नुपर्नेमा सडक विभागले टेण्डर प्रक्रिया थाल्न नै ढिलासुस्ती गरिरहेको छ । सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख इन्जिनियर रूपक राजभण्डारीले पहिरो नियन्त्रणका लागि वैशाख पहिलो सातामात्र टेण्डर आह्वान हुने बताए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो नियन्त्रणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । टेण्डरको म्याद ३० दिनको हुनेछ । टेण्डर मूल्याङ्कनमा १५–२० दिन लाग्ने छ । आशयपत्रको सूचना निकाल्न अर्को १५ दिन र सम्झौताका लागि आह्वान गर्दा थप १५ दिन बित्ने छ । यो प्रक्रियामा करिब तीनमहिना बिताएर बर्खा याम सकिन लाग्दा पहिरो नियन्त्रणको काम थालिने देखिन्छ ।

नारायणगढ–मुग्लिन सडकको जलविरे, गाईघाट, भालुढुंगा, घुमाउने, चार किलो, टोपेखोला, कालिखोला लगायत सात ठाउँमा पहिरोको उच्च जोखिम रहेको अध्ययनले देखाएको छ । सातमध्ये एक ठाउँमा बायो इन्जिनियरिङ र अरू ठाउँमा रक नेटिङ, रक बोल्टिङ लगायतका विधि अपनाउनुपर्ने अवस्था रहेको सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।

अघिल्लो वर्ष बेलैमा १२ ठाउँमा बायो इन्जिनियरिङ र ११ ठाउँमा रक नेटिक र रक बोल्टिङ गरिएको खनालले बताए । उनका अनुसार, सडक विस्तार थालेयता सानाठूला गरी ४१४ वटा पहिरो गएको छ । सडक फराकिलो पार्न पहाड काटिएका ठाउँहरुमा पहिरोको जोखिम छ ।

२०७५ चैत २७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट