Fri. Mar 29th, 2024

विकट गाउँमा इन्जिनियर पुगेन, पूरानै शैलीमा घर निर्माण

puranai-sailima-ghar-1-copy

शंकर श्रेष्ठ / २२ मंसिर,  धादिङ – 
‘गाउँमा इन्जिनियर छैन, सरकारले पनि पठाएको छैन, सरकारले नै दिएको ५० हजार पनि सकिन लागिसक्यो ।’ लापा–६ संगुलचोका तेसबहादुर तामाङले भने ‘अनि त आफुले जस्तो जान्यो त्यस्तै नबनाए के गर्नु त ?’

 आवास निर्माणको लागि सरकारले दिने अनुदानको पहिलो किस्ताको ५० हजार दशै अघि नै बुझेर बसेका भुकम्प पीडितको आक्रोस हो यो । धादिङको उत्तरी क्षेत्रमा पर्ने विकट गाविसहरुमा अहिलेसम्म न गाउँमा इन्जिनियर पुगेका छन्, न त्यहाँका नागरिकले घर कसरी बनाउने भन्ने जानकारी पाएका छन् । संगुलचोकका तेसबहादुर जस्तै धेरैले पुरानै शैलीमा घर निर्माण थालेका छन् ।

गाउँमा घर थालेका र निर्माण गरिसकेका अधिकांशले आफ्नै विबेक प्रयोग गरेका छन् । अधिकांशले पहिलो तलासम्म ढुङ्गाले गारो लगाएका छन् त्यसमाथी जस्ताले बार लगाएर अर्काे तला थपेका छन् । केहीले काठ र जस्ता मात्रै प्रयोग गरेका छन् । मापदण्डमा भनिएअनुसार छैन । यसरी घर निर्माण गर्नेमा लापा गाविस अगाडि छ । लापा –७ खादिङका एक सय ६० घरधुरी मध्ये करिब ५० वटा नयाँ घर निर्माण सम्पन्न भइसकेका छन् भने आधासरो घर निर्माणको चरणमा छन् ।

 केहीले भने थालिसकेको घर पनि अधुरै राखेका छन् । मापदण्डमा नपरे अनुदान नपाइने खबरले घर निर्माण सम्पन्न गरिसकेकाहरु चिन्तामा परेका छन् । अनुदान नपाइने चिन्ताले आधा बनाइसकेको घर पुरा गर्नु न इन्जिनियर कुरेर बस्नुको दुविधामा परेको उनीहरुले बताएका छन् ।

 उत्तरी धादिको लापा गाविस वडा नंम्बर ६ संगुलचोका तेसबहादुर घलेले दशै अघि नै अनुदानको पहिलो किस्ता बुझेको डेढ महिना वित्यो । घरको जग खारेको त झनै महिनौ भइसक्यो । तर घर बनाउन भने थालेका छैनन् । उनी भन्छन्, ‘इन्जिनियरले नापिदिन्छ भन्छन् खै हाम्रो गाउँमा त कोही आएका छैनन्, यसपाली पनि घर बनाउन नपाइने भयो ।’

 गाउँमा इन्जिनियर आउला, घर कस्तो ठाउँमा कसरी बनाउने सिकाइदेला भनेर इन्जिनियर कुरेर बसेका स्थानीय इन्जिनियर कुदाकुर्दै थाकिसकेका छन् । ‘इन्जिनियर आउछ, नापिदिन्छ अनि घर बनाउने भनेको कहिले आउँछ थाहा छैन’ लापा ५ सायनकी झिम्रीमायाँ तामाङ भन्छिन् ‘ओत लाग्ने छानो फेर्न पाए जाडोमा न्यानोसंग घरभित्रै बसौला भन्ने आसा थियो, तर पाइएन ।’ घर निर्माणको लागि सरकारले दिने अनुदानको पहिलो किस्ता लिएरपनि इन्जिनियर नहुँदा गाउँका अघिकांसले घर थाल्न नसकेको झिम्रीमायाँले बताइन् ।

tes-bdr-ko-ghar-copy

 विकटमा पर्ने लापा, रि, झार्ला, तिप्लिङ, सेर्तुङ गाविसलाई सडक संजालले पनि छोएको छैन । सदरमुकामबाट कम्तीमा २ दिन पैदल हिँडेर मात्रै पुग्न सकिन्छ । यी गाउँहरुमा सरकारको कुनै प्राविधिक पनि पुगेका छैनन् । घर बनाउने पैसा जोहो गरेर बसेकाहरुले घर निर्माण सुरु गर्न सकेका छैनन् । सरकारले ५० हजार दिएपछि घर बनाउने भनेर अरु पैसा ऋण थापेर राखेको पनि महिना वित्यो । ‘उता घर बनाउन लिएको ऋणको व्याज बढ्दै छ, यता जस्ताको टहरामा चिसोले रोग बढाउदै छ’ लापा सायनकी कान्छीमायाँ तामाङ भन्छिन्, ‘इन्जिनियर पर्खेर बस्दा यस वर्षको जाडो पनि टहरामै कटाउनु पर्नेभयो ।’

कि आफ्नै सुरमा बनाउ भनेहुन्थ्यो, कि त चाडै इन्जिनियर आइदिए हुन्थ्यो, घर बनाउन इन्जिनियर पर्खेर बसेकोले जाडोमा बालबच्चालाई विचल्लीसंग टहरामै राख्नुपरेको रि गाविस वडा नम्बर ६ धुसेनीका बलसिंह तामाङले बताए । बलसिंह वडा नागरिक मञ्चका संयोजक पनि हुन् । बलसिंह भन्छन् ‘इन्जिनियर आएर यस्तो खालको घर बनाउनुस् भन्नेवित्तिकै गाउँमा सबैले घर बनाउन थाल्छन् ।’ धुसेनी गाउँमा करिब ८५ घर छन् । गाउँका केही व्यक्तिहरुले आफ्नै सुरमा घर थालेका छन् भने अधिकांश इन्जिनियरको पर्खाइमा छन् ।

 रि गाविस वडा नं. ३ नेन्चोका दिलमान तामाङ पनि इन्जिनियर कुरेर बस्ने मध्यका एक हुन् । घर बस्तो बनाउने भन्ने सल्लाह नपाउँदा उनमा घर निर्माण सुरु गर्ने आँट छैन । ‘आफ्नै सुरमा थालौ मापदण्डमा नपर्ला, दोश्रो र तेश्रो किस्ता अनुदान नपाइएला, थालौ यन्जिनियर गाउँमा आएकै छैन ।’ गाउँमा इन्जिनियर नपुगेका कारण घर बनाउन तयार भएर बसेकाहरु अहिले अलमलमा अपरेको उनले बताए ।

 सरकारले गाउँ गाउँमा यन्जिनियर खडाइसकेको रेडियो मार्फत समाचार सुनेका हिमाली क्षेत्रका नागरिकले गाउँमा इन्जिनियर पुगेको खबर समेत पाएका छैनन् । दशै अघिदेखि नै सदरमुकामबाट अनुदान बुझेर फर्किएका भुकम्प पीडितहरु पैसा यत्तिकै सकिने होकी, चोरी हुने पो होकी भन्ने चिन्तामा छन् । ‘टहरामा मालसामान राख्ने सुरक्षित छैन । सबै मान्छे एउटै हुँदैनन्’ लापा ६ भ्राङ्साकी प्रेमी तामाङ भन्छिन्, ‘यहि पैसा पनि यताउति भयो भने हाम्रो केही विकल्प छैन ।’

 यता सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख दिलिप भण्डारीले भने इन्जिनियरहरु गाउँ जान नमानेकोले समस्या उत्पन्न भएको बताएका छन् । ‘जस्लाई खटायो उस्ले छोडेर हिड्छ, विकटमा बसेर काम गर्न कोही इन्जिनियर मान्दैमान्दैनन्, त्यसले गर्दा समस्या भएको हो’ भण्डारीले भने । विकट गाउँमा खटिनेहरुलाई सरकारले सहरबजारमा बस्ने सरहरुको तुलनामा थप सुविधा दिन नसकेकोले पनि समस्या थपिएको भण्डारीको भनाई छ । हाल जिल्लामा ७५ जना यन्जिनियर कार्यरत छन् तर जिल्लाको उत्तरी क्षेत्रमा पर्ने विकट गाविसहरुमा इन्जिनियर पुगेको छैन ।
२०७३ मंसिर २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: