Today: December 19, 2018

यो आन्दोलन असमानता विरुद्ध समानताको आन्दोलन हो

राधिका सापकोटा

अहिले हामी लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा छौं । संसारभर यी १६ दिने लैगिंक हिंसा विरुद्ध विभिन्न अभियानहरु संचालन भईरहेका छन् । नेपाल सरकारले यो वर्ष देखि औपचारिक रुपमा मन्त्रिपरिषदले नै निर्णय गरेर सरकारका सबै निकायले अभियान संचालन गर्न सर्कुलर गरेको छ । महिला अधिकारको आन्दोलनमा लागेका हाम्रो लागि सरकारको यो निर्णय ज्यादै नै महत्वपूर्ण छ । जहिले पनि अधिकारकर्मीहरुको मात्रै अभियानको रुपमा रहेको यो १६ दिने अभियान आज सरकारको आफ्नो अभियान बन्न सफल भएको छ । विशेष गरी राजनीतिक आन्दोलन, समाज परिवर्तनको आन्दोलन र महिला समानताको आन्दोलमा योगदान गर्ने महिलाहरुको सम्मान गर्ने, उनीहरुले गरेको योगदानलाई स्थापित गर्ने र महिलाको अधिकारका निमित्ति काम गर्नेहरुको कामलाई र पहिचानलाई स्थापित गराउने दिनहरु पनि हुन् यी १६ दिने ।

सधै र सबैबाट यी दिनहरुमा उठ्ने गरेका प्रश्नहरु छन् के लैगिंक हिंसा अन्त्य हुन्छ त ?, के यो संभव कुरा हो ? महिलामाथि भएका विभेदको अन्त्य संभव छ ? हो यी दिनहरुमा आज पनि हाम्रा मन मस्तिष्कमा यी प्रश्नहरु आईरहेका छन् । मनमा मात्रै हैन हामीले धेरै फोरमहरुमा यी प्रश्नहरु वहसका रुपमा सुन्न थालेका छौं । साच्चै महिलाहरुमाथि लैगिंकताका आधारमा गरिएको विभेद अन्त्य हुन्छ की हुदैन ? के भयो भने यो संभव छ ? अव वहस गर्नुपर्ने वेला आएको छ । लैगिंकताका आधारमा भएको विभेद आज जन्मेको र आज शुरु भएको कुरा हैन । महिला लैगिंक आधारमा महिला र पुरुषलाई फरक आँखाले हेर्ने दृष्टिकोण यो समय देखि बनाए भन्ने पनि सायद हामी कसैलाई थाहा छैन होला । हामीले नजान्दा देखि नै महिला र पुरुषको विचमा रहेको सामाजिक विभेदलाई सिक्दै आयौं, स्विकार गर्दै आयौं र आज हाम्रो मन मस्तिष्कमा ती छापहरु वलियो गरि वसेका छन् । त्यसलाई मेटाउन हामीले सोचेजति सहज छैन । जब सम्म हाम्रो सोचमा परिवर्तन गर्दैनौं त्यत्तिवेला सम्म लैगिंक विभेदको अन्त्य संभव छैन । यही लैगिंक विभेदले नै हिंसाको जन्म दिने हो । जब सम्म विभेद रहन्छ त्यत्तिवेला सम्म हिंसा पनि रही नै रहन्छ । हामी लामो समय देखि लैगिंक विभेदको विरुद्धमा वोली रहेका छौं । पहिला त यो विभेदको विरुद्ध वोलेको कुरा सुनुवाई नै हुदैनथ्यो, वा विभेद भन्दा पनि यो संस्कार हो भनेर स्विकार गरिन्थ्यो । कम्तिमा अहिले विभेद हो यसले असर गरेको छ भन्ने सम्म स्विकार भएको अवस्था छ । तर यहाँ वाहिरबाट यो विभेद हो, यसले असर गरेको छ, यो परिवर्तन गर्नुपर्छ भनेर चिच्चाउनेहरुनै आफू परिवर्तन हुन चाहादैनन् । म अरुले परिवर्तन गरोस् भन्ने चाहान्छु तर म आफैबाट शुरु गरुन भन्न तयार हुन्न । जब परिवर्तनको कुरा मसंग, मेरो परिवारसंग आएर जोडिन्छ तब म त्यसलाई संस्कारको रुपमा स्किार गर्छु र वोल्दिन । हो आज यही भैरहेको छ । बाहिर वोल्नेहरुको संख्या बढ्दो छ तर मन देखि यसलाई परिवर्तन गर्न तयार हुनेहरुको संख्या अझै पनि कम छ । महिलाहरुको नेतृत्व विकास, क्षमता विकास, शसक्तिकरणका लागि करौडौं फन्ट ल्याएर हामी परिवर्तनका संवाहक हौं भन्ने गैर सरकारी संस्थाका अभियान्ता भन्नेहरु आफु महिलाको नेतृत्व स्विकार गर्न सक्दैनन् ।

महिलाहरुका मुक्तिका लागि, सबै खाले विभेद र असमान्तका लागि वर्षैा देखि लडेका भनिएका राजनीतिक दलहरु महिलाको नेतृत्व स्विकार गर्न सक्दैनन् । अहिले पनि महिलाहरुको नेतृत्व महिलाहरुले माग्ने र पुरुषहरुले दिने वस्तु वनि रहेको छ न की अधिकार । हामी आम महिलाहरु पनि पुरुषले दिएन त्यसैले पाएनौं भनी रहेका छौं र आम पुरुषहरु पनि हामीले दिने हो दिदैनौं भनेर बसीरहेका छन् । हो यही कुराले विभेदलाई अझै वलियो बनाएको छ । सामान्य परिवार वा सामान्य नागरिक ले बरु आज बुझेको छ । महिलालाई सम्मान गर्नुपर्छ ,हिंसा गर्नु हुदैन गर्यो भने कानुनले समाउँछ भन्ने डर भएपनि उसमा छ तर पढेका बुझेका र आफूलाई समाजका अगुवा हुँ भन्नेहरु कानुन किन्न सकिन्छ भन्ने बुझेकाहरुले हिंसा गरिरहेका छन्, विभेद गरिररहेका छन् र यो समाजमा अगुवा हुँ भन्दै आफ्नो असली रुप छोपिरहेका छन् ।

एक जना महिला ३८ वर्ष देखि लगातार रुपमा आफू हिंसामा परिन् । लात्तिले कुल्चदा कुल्चदा उनका तिघ्राको मासु नै मरेर कालो भैसकेको छ तर पनि उनी वोलिनन् किन ? उहाँ ठूलो मान्छे, उहाँको समाजमा ठूलो इज्जत छ, मैले वोल्दियो भने उहाँको इज्जतमा दाग लाग्छ । यो कथा हैन सत्य घटना हो । एकजना मिडिया हाउसको मालिकले ३८ वर्ष देखि आफ्नी श्रीमतीलाई गरेको ज्यादती सुन्दा पनि कहाँली लाग्छ । घरभित्रको त्यो राक्षस वाहिर सफेद कोटमा लैगिंक हिंसा विरुद्धका कार्यक्रममा अतिथिको रुपमा आशण ग्रहण गर्छ, भाषण गर्छ, सानसंग सबै संग हात मिलाउँछ मानै उसले ठूलै पुरुषार्थ गरिरहेको छ । हो जब सम्म हामी यी र यस्ता व्यक्तिहरुको सफेद कोट खोलोरे भित्रको यर्थाथ रुप देखाउन सक्दैनौं त्यत्तिवेला सम्म हिंसा अन्त्य हुदैन । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानमा महिलामाथि हुने हिंसाको अन्त्य, स्वतन्त्रता र शसक्तिकरण तथा नेतृत्वको भाषण गर्नेहरुको घरमा हेर्नुस उनको श्रीमतीले घरको संघार नाघ्न पाएकी छैनन् । महिलाहरु घरबाट निस्कने हैन भनेर संघारमा रोक्नेहरु मञ्मा भाषण गरिरहेका छन् महिला मुक्तिको अनि कसरी संभव हुन्छ महिलामाथि हुने विभेदको अन्त्य । यसको मतलब आमी झनै डरलाग्दो अवस्थामा छौं । यो एउटा आइसवर्ग जस्तै छ । वाहिर देखिएकोलाई हेरेर हामी काम गरिरहेका छौं तर भित्र त देखिएको भागको चौगुना बढि भाग छ । हो त्यसैले महिला आन्दोलन अझै कठिन बन्दै गएको छ ।

यति मात्रै हैन वुझ्नेहरुले नै यसलाई महिला र पूरषको आन्दोलन बनाईदिएका छन । महिला ख्क् पुरुष मेरा गाउँको चेपाङदाईले बनाएको हैन । यो त होटलमा वसेर श्रीमतीले पकाएको भात खाएर अफिस जानेहरुले बनाएको हो । यो समानता र असमानताको पक्षमा लाग्नेहरुको लडाई हो भनि रहँदा यो महिलाहरुले हाम्रो विरुद्ध गरेको आन्दोलन हो भनेर भ्रम फिजाउन उनीहरु उतिनै लागीरहेका छन् । त्यसैले लैगिंक विभेदको अन्त्य अझै चुनौतिपूर्ण छ । महिलाहरुका लागि महिलाहरु नै वोल्नु पर्यो नी, महिलाले हिंसा महिलालाई नै गरिरहेको छ अनि कसरी पुरुषले गरेको हिंसाका कुरा गर्ने, तपाईहरु एक हुनुस् न अनि विभेद अन्त्य भै हाल्छनी जस्ता तर्कहरु अघि सारेर यो समानताको आन्दोलनलाई कमजोर बनाईदैछ । यो महिलाले पुरुषका विरुद्ध गरेको लडाई हैन । शरिर महिलाको हुँदैमा ऊ महिलावादी र शरिर पुरुषको हुँदैमा ऊ महिला विरोधी हुने हैन र हुदैन । शरिर महिला या पुरुष जे भएपनि फरक परेन तर उसको सोच महिलावादी छ भने वा ऊ समानताको पक्षमा छ भने ऊ यो आन्दोलनको योद्धा हो , अभियान्ता हो । थुप्रै महिलाहरुले अहिले पनि पितृसत्तालाई टेवा दिईरहेका छन् तर थुप्रै पुरुषहरु महिलाहरुमाथि भएको विभेद र ज्यादतिको विरुद्ध लडिरहेका छन् । त्यसैले यो आन्दोलनलाई असामानता, विभेद विरुद्ध समानता र अविभेदको लडाई बनाउन जरुरी छ । यो १६ दिने अभियानले हामीसबै मा यो उर्जा थपोस् शुभकामना ।

२०७५ मंसिर १६ गते प्रकाशित

 

Leave a comment


Loading...

ताजा अपडेट