Thu. Mar 28th, 2024

किन बढ्दै छ बलात्कार ?, दोषी को ?


राधिका सापकोटा –

म महिला अधिकारकर्मीसंग एक छोरीकी आमा हुँ । आजभोली हरेक दिन मेरो मन डराउँछ । म नजानिदो तरिकाले आफ्नो छोरीको हिड्डुल गर्ने, पंक्षि जस्तै निर्वाद रुपमा जता मन लाग्छ उतै रमाउने उमेरकी मेरी छोरीलाई म यता नजाऊ, यो समयमा बाहिर ननिस्क भनेर घेरबन्दि गरिरहेको छु । यसले साच्चै मलाई पीडा हुन्छ । पत्रपत्रिका, फेसबुक वा कुनै न्युज पल्टाउने वित्तिकै फेरी उही र उस्तै घटना बलात्कार, बलात्कार पछि हत्या…………. अनि मनमा अशान्ति र पीडा हुन्छ । आखिर यो देशमा के भैरहेको छ ????

किन बढ्दै छ बलात्कार ?? किन हरेक दिन हामी त्रासदिपूर्ण जीवन बाँचिरहेका छौं ? के छ यसको पछाडीको कारण ? यसलाई गहिरो गरी विश्लेषण गर्न जरुरी छ । अहिले देश भरी नै हेर्ने हो भने वालिकाहरुमाथिको बलात्कारको घटना सबैभन्दा बढि भएका छन् । धादिङको मात्रै घटनालाई हेर्ने हो भने पनि आर्थिक वर्ष २०७४/०७५ मा सहयात्री समाज नेपालले अभिलेखन गरेका घटनामा ५६ प्रतिशत बलात्कारका घटनाहरु १६ वर्ष मुनिका वालिकाहरुमाथि भएको थियो । बलात्कार गर्ने व्यक्ति को हो त ? भनेर हामीले हेर्यौं भने १८ वटा घटनामा जम्मा ३ वटा घटना मात्रै नचिनेको मान्छेले बलात्कार गरेको छ अरु बाँकी १५ वटा घटनाका पीडक आफन्त छिमेकी, आफ्नै बाबु, दाजु छन् । यो झनै डरलाग्दो अवस्था हो । कोसंग कहाँ र कतिवेला छोरीहरु असुरक्षित छन् भन्नेकुराको अनुमान हामी लगाउनै सक्दैनौ ।

यहाँ अवस्थाको बारेमा म त्यत्तिधेरै व्याख्या गर्न चाहान्न किनकी यसको बारेमा हामीसबै हरेक क्षणमा अपडेट छौं त्यसैले म यहाँ किन बढ्दै छ बलात्कारका घटना ? के गर्न सकिन्छ यसलाई न्युनिकरण गर्न भन्ने विषयमा आफ्नो अनुभवका आधारमा केही कुरा गर्न चाहान्छु ।
बलात्कार विकृत मानसिकताको उपज हो यसलाई हामी सबै स्विकार गरेका छौं । तर यो हाम्रो मानसिकता कतिखेर विकृत हुन्छ भन्ने कुनै ठेगान छैन र कस्ता मान्छेको मानसिकता कतिवेला विकृत बन्छ भन्ने पनि थाहा छैन । त्यसैले हाम्रो मानसिकतालाई विकृत बनाउने केही समाजका यस्ता तत्वहरु छन् जसले विकृत मानसिकता जन्माउन, हुर्काउन सहयोग गरिरहेका छन् । यसको बारेमा जान्न जरुरी छ ।

–  सबै भन्दा पहिला बलात्कारका घटना बढनु पछाडी यो समाजमा रहेको महिला र पुरुष विचको असमान शक्ति सम्बन्ध नै हो । एउटालाई हरेक हिसाबले एकदमै शक्तिसाली बनाईएको छ भने अर्कोलाई हरेक हिसाबले कमजोर बनाइएको छ । हरेक ठाउँमा हेर्नुभयो भने सक्नेले नसक्नेलाई शोषण गर्ने हो, बलियोले निर्धोलाई हेप्ने चेप्ने हो , शक्तिशालीले शक्ति नहुनेलाई अन्याय अत्याचार गर्ने हो । त्यसैले यही शक्ति सम्बन्धले महिला, किशोरी र बालिकाहरु हिंसामा परिरहेको कुरालाई हामी नकार्न सक्दैनौ । तर हामी यो असमान शक्ति सम्बन्धलाई परिवर्तन गर्न चाहिरहेका छैनौ । यसले पारेको असर र प्रभावलाई हामी नजरअन्दाज गरिरहेका छौं । यसको एउटा परिणाम बलात्कार हो ।

–  महिलाहरुलाई यौनप्यास मेटाउने साधनका रुपमा बुझ्नु र हेर्नु यसको अर्को कारण हो । महिलाहरुलाई जतिवेला जहाँ र जसरी भएपनि यौन दृष्टिकोणले हेर्ने गरिन्छ, जिस्काउने गरिन्छ र यसलाई सामान्य रुपमा लिने गरिन्छ । फूल फुलेको ठाउँमा भमरा घुम्नु कुनै नराम्रो हैन भनेर यसलाई हामीले सामान्यकरण गरिदिएका छौं । तर त्यसैले बलात्कार सम्मको स्थिती सृजना गर्न सहयोग गरिरहेको त छैन ? आज जिस्काउँदा केही भएन, भोली छुँदा कसैले केही गरेन, त पर्सी उसको हिम्मत बढेर बलात्कार सम्मको स्थितीमा पुगेको छ । जसलाई नजानिदो तरिकाले हामीले बलात्कार गर्ने मानसिकताको विकासका लागि सहयोग गरिरहेका छौं ।

– महिलाहरुको इज्जतलाई यौनीमा सिमित गरिनु अर्को एउटा महत्वपूर्ण कारण रहेको छ । एउटा महिलाको इज्जत कतिवेला जान्छ भनेर हामीले भन्यौं भने उसको श्रीमान वाहेक अन्य पुरुषले जब उसको योनीमा आक्रमण गर्छ, प्रयोग गर्छ त्यत्तिवेला ती महिलाको इज्जत जान्छ । महिलाको सम्पूर्ण इज्जतलाई ल्याएर हामीले यौनीमा सिमित गरिदिएका छौं । त्यसैले कुनै महिलाको चरित्रहत्या गर्न मनलाग्यो, उसलाई पछि पार्न मन लाग्यो वा उसको प्रगतिमा अवरोध उत्पन्न गर्न मन लाग्यो भने सबै भन्दा बलियो हतियारका रुपमा हामी उसको पुरुषसंगको सम्बन्धलाई चर्चा चलाई दिन्छौं । यसले आम महिलाहरुमा बलत्कृत हुनु भनेको आफ्नो इज्जत जानु हो भन्ने मानसिकता बनाईदिएको छ । ।

कुनै विवाहित महिला बलात्कृत भईन भने “विचरा अब ऊ कहाँ जान्छ ? श्रीमानले त आफुसंग राख्दैन होला ? राखोस पनि कसरी यस्तो भएको थाहा पाउँदा पाउँदै ? ” हामी सबैको सहानुभुति ति महिला तिर हुन्छ । एउटा अविवाहिता किशोरी वा बालिका माथि बलात्कार भयो भने फेरी हामी भन्न थाल्छौं “विचरा उसको जीवन नै वर्वाद भयो । अब कसले विवाह गर्छ उसलाई ?” हो बलात्कारका प्रभावितहरु र उनका आफन्तहरुले हरेक दिन यही र यस्तै कुराहरु सुनिरहेका हुन्छन् । एउटाले अपराध गर्छ उसलाई यो समाज केही भन्दैन तर जो उसको विकृत मानसिकताको सिकार बन्छ उसैलाई यो समाज अरु थप पीडा दिएर उसको यौनी अपवित्र भएको घोषण गरिदिन्छ र अब तेरो यौनी विक्री हुदैन, काम नलाग्ने भयो भनिदिन्छ । यही डरले आफ्नो यौनीलाई अपवित्र हुनबाट जोगाउन, आफु इज्जत भएको बन्न समाजमा भएका बलात्कार मध्ये ५० प्रतिशत घटना समाज भित्रै लुकेर बसेका छन् ।

– जबसम्म बलात्कृत हुने महिलाको हैन बलात्कार गर्ने व्यक्तिको इज्जतको प्रश्न यो समाजले उठाउँदैन त्यत्तिवेला सम्म बलात्कारका घटना भैरहन्छन् । बलात्कृत महिलाको हैन बलात्कार हुने व्यक्ति र उसको परिवार सम्मको इज्जत र सम्बन्धको प्रश्न हामीले उठाउने हो भने आफ्नो विवाह नहुने डरले, आफ्नो लिङ्ग अपवित्र हुने डरले विकृत मानसिकता वोकेका पुरुषहरुलाई बलात्कार गर्ने सोचबाट वाहिर निकाल्न पो सकिन्थ्यो की ?

–  अहिले १० वर्ष देखि जिल्लामा बसेर प्रत्यक्ष रुपमा महिला, किशोरी र वालिकाहरुमाथि भएका हिंसाका घटनाहरुलाई हेरिरहेको छु । बालत्कारका ९८ प्रतिशत घटनामा अहिले सम्म समाजले प्रभावितलाई हैन पीडकलाई साथ दिएको छ । हरेक घटनामा समाजको जुलुस प्रहरी कार्यालयमा आउँछ र भन्छ यो घटना भएकै हैन , यो व्यक्तिले यस्तो गर्नै सक्दैन । प्रभावितलाई पहिला त डर देखाउँछ , गाउँ निकाला गर्ने, भातपानी काड्ने , मेला पर्म बन्द गर्ने अन्तिममा केही नलागे पछि पैसामा किन्नका लागि कोसिस गर्छ ।

धेरै प्रभावितहरु यो संग लड्छन् म न्यायका लागि लड्छु भन्छन् तर कति पुरै समाजका विरुद्ध लड्न सक्दैनन र होस्टायल हुन्छन् अनि हामी वुद्धिजीविहरुको लागि मसला हुन्छ आजभोली बलात्कारका झुट्टा मुद्दा आउन थालेका छन् त्यसमा अधिकारकर्मीहरुले ध्यान दिन जरुरी छ । मैले अघि नै माथि भनिसके महिलाको यौनीमा यो समाजले संस्कार र परम्पराले यति ठूलो इज्जत लगेर राखिदिएको छ, कोही महिला पनि विना कारण आफ्नो त्यो इज्जतलाई समाजको अगाडी लिलाम गर्न चाहादैनन । त्यसैले परिस्थितीले उनीहरुलाई गरिएको होस्टायललाई मतलब नगरि हामी झुट्टा मुद्दा बढेको भन्दै फेरी बुद्धिजीविको तर्फबाट बलात्कार बढाउन सहयोग गरिरहेका छौं ।

– अर्को सबै भन्दा डरलाग्दो के देखिएको छ भने पीडक जहिले पनि समाजको बलियो मान्छे छ । हामीले घटनाहरुको विश्लेषण गरेर हेर्यौं भने समाजमा हैसियत राख्ने व्यक्ति हुन्छ । प्रभावित गरिव, ज्याला मजदुरी वा अरुको घरमा काम गरेर जीवन गुजार गर्ने, आफ्नो आमा गुमाएका बालिकाहरु हुने गर्दछन् । अझै धेरै आफ्नै परिवारका सदस्य । आफ्नै बाबु दाजु, काका , हजुरबा ……..। हाम्रो उखानै छ यदि ओत लाग्नु छ भने ठुलै रुखको ओत लाग्नु पर्दछु । त्यसैले समाजका सबै मानिस त्यही ठूलै रुखको ओत लाग्ने गर्दछन् । जसले प्रभावितलाई सहयोग गर्न खोज्दछ उसको वोली बन्द गराइन्छ त्यसैले उनीहरु विरुद्धमा नभएपनि प्रभावितको सहयोगमा वोल्न सक्दैनन् ।

जब न्यायका लागि प्रहरीमा घटना आईपुग्छ अनि सबै समाजले हैन भनेको घटना कसरी हुन सक्छ ?? भन्ने प्रश्न सबै भन्दा पहिला उठ्ने गर्दछ । शुरु हुन्छ अनुसन्धान हैन होला देखि , त्यसको परिणाम के आउँछ हामी सजिलै जान्दछौं । जब सम्म समाजले बलात्कारलाई एउटा घटनाको रुपमा हेर्छ, यो समाजको सबै भन्दा विकृत सरुवा रोगको रुपमा हेर्दैन त्यत्तिवेला सम्म बलात्कारका घटनामा न्युनिकरण आउन सक्दैन । आज अरुलाई हुँदा रमाईलो मानिरहेका हामीहरुलाई नै यो घटना हुन सक्छ भन्ने सोच जब सम्म विकास हुदैन तब सम्म गाह्रो छ ।

– अर्को सबै भन्दा ठूलो दोष हाम्रो न्याय प्रणालीमा छ । अहिले पनि हाम्रो न्याय पीडक केन्द्रित न्याय छ । एउटा महिलाले आफुमाथि भएको बलात्कारको घटनाको रिपोर्ट गर्छ । उसले न्यायिक निकायको सहयोग पनि पाउँछ । तर उसले पाउने न्याय के हो त ? पीडकलाई जेल सजायँ ? के पीडकलाई जेल सजायँ नै पीडितको न्याय हो त ? अदालतले केही क्षतिपुर्तिको फैसला गरिदिएको हुन्छ तर त्यसको प्रकृया र पीडकबाट भराईलिनु पर्ने जस्ता कुराहरुले आज सम्म १,२ वटा घटनामा वाहेक क्षतिपुर्ति लिन प्रभावितहरु आएको पाइदैन । उसले अदालतबाट न्याय पाईरहँदा र अदालतले पीडकलाई अपराधी हो भनेर घोषित गरिरहँदा समाजले चाँही प्रभावितलाई अपराधी घोषित गरिरहेको हुन्छ ।

उसलाई गाउँबाट विस्थापित गराउँछ , सामाजिक बहिस्कार गर्छ र गाउँ निकाला सम्मको स्थिती सृजना गर्दछ । त्यसैले यसमा सामाजिक न्यायले पनि महत्वपूर्ण भुमिका खेलेको हुन्छ । समाजले पीडीतलाई माया, सम्मान गर्ने र पीडकलाई गाउँ निकाला गर्ने, अहिले जसरी पीडकका पक्षमा गाडी रिजर्भ गरेर गाउँ नै आएको छ पीडितको पक्षमा त्यो गाडी रिर्जव गरेर आउने र हामी तिमीसंग छौं भन्ने, न्यायिक निकायलाई खबरदारी गर्ने, पीडकलाई भातपानी काट्ने र वहिस्कृत गर्ने हो भने अहिले भएको घटनामा आधा न्युनिकरण हुन्छ । अहिले बाहिर आउन नसकेका आधा घटना बाहिर आउन थाल्छन् । अपराध मानसिकता वोकेर बसेका व्यक्तिहरुको मानसिकता परिवर्तन हुन्छ ।

–  अहिलेको अर्को पक्षको भनेको महिला अधिकारका लागि वोल्नेहरुलाई डलरवादीको आरोपमा, चरित्रमाथि प्रश्न उठाएर, कमजोर बनाउनु हो । अहिले एउटा वुद्धिजीवि भनिनेहरुको सर्कल महिलाअधिकारका लागि लड्ने महिला मानवअधिकार रक्षकहरुलाई डलरवादी, चरित्रहिन, घरवार विग्रेका जस्ता लान्छना लगाएर कमजोर बनाउन लागि परेका छन् । महिला अधिकारकर्मीहरु कमजोर हुनु भनेको प्रभावितको न्याय मर्नु हो र पीडकले उन्मुक्ति पाउनु हो । किनभने अहिले पनि हाम्रो सामाजिक संरचना, न्यायिक संरचना, सोच मूल्य र मान्यताले प्रभावित एक्लै आएर न्यायको लागि लड्न सक्ने वातावरण छैन । प्रभावितको पक्षमा उस्तै पर्दा उसको परिवार समेत हुँदैन, कहिलै उसकै परिवारको विरुद्ध ऊ लडिरहेको हुन्छ त्यस्तो वेलामा उसलाई साथ र सहयोग दिने भनेको महिला अधिकारकर्मीहरु नै हुन । उनीहरुले आफूलाई जोखिममा राखेर पनि प्रभावितलाई सहयोग गरिरहेका हुन्छन् । हो उनीहरुले यी सबै गर्नका लागि केही पैसा खोज्नु पर्ने हुन्छ, खोजेका हुन्छन् तर त्यसैलाई डलरको नाम दिएर उनीहरुको काम र चरित्रमाथि प्रश्न उठाईरहँदा अप्रत्यक्ष रुपमा पीडकलाई उक्साउन प्रेरित गर्न र प्रभावितलाई कमजोर बनाउन बुद्धिजीविहरुको वृद्धिजीविपुर्ण चाल यसमा देख्न सकिन्छ । यसले पनि यस्ता घटनाहरु बढाउन प्रेरित गरिरहेको छ ।

– अहिले जनप्रतिनीधिहरु आइसकेको अवस्था छ । विशेष गरी हामी अहिले पूर्ण रुपमा हाम्रा जनप्रतिनीधिहरुमाथि सबै कुराको विश्वास गरिरहेका छौं, न्यायको समेत । तर आज सम्म हामीले महिला, वालिका र किशोरीहरु प्रभावित भएका घटनाहरुमा हेर्दा जनप्रतिनीधिले भोटको राजनीति छोडेको महसुस गर्न सकेका छैनौ । महिला र पुरुषको मतनादनमा समान अधिकार भनेपनि , महिलाले आफ्नो खुसीले मतदान गर्न पाएका छन् भने पनि आफ्नो परिवार, श्रीमान वा बाबु, दाजु भाईको विरुद्ध उनीहरु अर्को पार्टि बन्न सकेका छैनन । मन परेर वा नपररे ऊ श्रीमान, बाबु र दाजुको पार्टीमा नै छ । विवाह नगर्दा बाबु र दाजुको पार्टीमा भएकी महिला विवाह भएर आउँदा श्रीमानको पार्टी फरक हुँदा स्वत श्रीमानको पार्टीको हुन्छन् । न पार्टी छोड्नु पर्छ महिलाले न पार्टी प्रवेश नै गर्नु पर्छ ।

त्यसैले यो भोटको राजनीतिमा महिलाहरुको भोटको कुनै मान्यता छैन । पुरुषलाई यदि आफ्नो वसमा पार्न सक्यो भने महिलाको भोट स्वत प्राप्त हुन्छ । त्यसैले भोटको राजनीति गर्ने जनप्रतिनीधिहरुले महिलाको पक्षमा वोल्दा भन्दा पुरुषको पक्षमा वोल्दा भोट प्राप्त गर्ने हुँदा उनीहरुको पुरुषको पक्षमा वोल्छन् । बलात्कार जस्तो घटनामा समेत सबै भन्दा पहिला फोन नै जनप्रतिनीधिहरुको आउँछ त्यो घटना हैन है विचार गर्नुहोस्, त्यो हाम्रो पार्टीको हो फसाउन आरोप लागइएको हो घटना दर्ता नगर्नोस् ………..यस्तै यस्तै । जब हामी बलात्कार जस्ता जघन्य अपराधमा पनि भोटको राजनीति गर्छौ भने कसरी बलात्कारका घटनामा न्युनिकरण आउन सक्छ ? यदि प्रभावित महिलालाई पनि जनप्रतिनीधिहरुले खुल्ला हृदयले उसको न्यायको लागि सहयोग गर्ने हो भने उनीहरुको भोट जीवनभर तपाईकै पार्टीलाई हुन्छ होला सायद ।

मैले माथि नै भनिसके म अहिले एउटा महिला अधिकारकर्मी मात्रै भएर हैन एउटा छोरीको आमा भएर हेरिरहेको छु । एउटा आमाको मन सधै डराईरहेको छ । सायद मेरो मात्रै हैन हरेक आमाहरु छोरी स्कुलबाट १० मिनेट ढिला आउँदा, बाहिर खेलेर वा कतै गएर साँझ सम्म नआउँदा आतिएर बेहोस नै होलाजस्तो स्थिती भएको छ । यो भयावह स्थितीलाई हामीले एउटा घटनाको रुपमा सिमित राखेका छौं न की एउटा असान्तपूर्ण स्थितीको रुपमा लिएका छैनौं । आज एउटा घटना घट्यो हो र हैन, तेरो र मेरोको बहसमा सिमित बनाएर त्यसैमा अल्झि रहेका छौं । एकपटक सोचौं त आज अरुका छोरीहरु बलात्कृत हुँदा, मारिदा, छियाछियाँ बनाउँदा वेवास्ता गर्ने हामी, मेरो पार्टिको हो त्यसैले घटना भएको हैन भन्ने हामी, मेरो आफन्त हो त्यसैले यो हुनै सक्दैन भन्ने हामी, भोली मेरो फूल जस्तै सजाएर राखेकी छोरी, एक थपड कसैको नखाएकी छोरी, काखमा राखेर अहिले सम्म पनि भात आफ्नै हातले खुवाईदेकी छोरी , हरेक दिन हिड्न गाह्रो हुन्छ भन्दै मोटरासाईकल, गाडीमा स्कूल पुर्याईदेकी छोरी माथि यस्तै घटना भयो भने के म हैन भन्न सक्छु ? के म अपराधी मेरो पार्टिको हो त्यसैले मुद्दा अगाडी नबढाउ भन्न सक्छु ? के अपराधी मेरो आफन्त हो त्यसैले यो हुनै सक्दैन भन्छु ? की म नितान्त मेरी फूल जस्ती छोरीको कुरामा विश्वास गर्छु ? उसको रुवाई र पीडामा छट्पटिएर अपराधीलाई कडा भन्दा कडा सजायँको माग गर्छु ? हो त्यसैले अहिले बलात्कृत हुने सबै छोरीहरु, बलात्कार पछि मारिने सबै छोरहरुलाई अर्काकी छोरी हैन आफ्नी छोरीसंग तुलना गरेर हेरौं महसुस गरौं र अनि एउटा बाबु , एउटा आमा भएर उभियौं । समाजका हरेक सचेतहरु यसरी उभिने हो भने बलात्कार जस्ता जघन्य अपराध कही कतै कहिले कहिले सुन्नु पर्ने नमिठो घटना मात्रै हुन्छ न की आज जस्तो हरेक दिन, हरेक क्षण त्रासदीपूर्ण अवस्था ……… त्यसैले आउनुहोस् यो डलरवादी महिला अधिकारकार्मीको मात्रै मुद्दा हैन हरेक छोरी हुने आमाहरुको मुद्दा हो, हरेक छोरी हुने बाबुको मुद्दा हो, हरेक दिदि बहिनी हुने दाजु भाईको मुद्दा हो …..

२०७५ भदौ १२ गते प्रकाशित

About The Author

Loading...