Today: October 22, 2018

धादिङको राम्चेमा सडकमा चट्टान थुप्रिदाँ अवरुद्ध, गाउँ जोखिममा


मनिष दुवाडी / २८ साउन, धादिङ –

धादिङको गजुरी गाउँपालिका वडा नं ६ राम्चेमा रहेको कच्ची सडकमा पहिरो खस्दा राम्चे गाउँ जोखिममा परेको छ । सडकमा चट्टान थुप्रिएर सवारी आवागमन नै बन्द भएको छ भने पैदल यात्रुलाइ समेत आवत–जावत गर्न कठिन बनेको छ ।

लगातारको वर्षापछि गाउँ भन्दा माथिको सडक पहिरिएका कारण गाउँ नै पहिरोको उच्च जोखिममा परेपछी स्थानीयबासीहरु त्रसीत भएका हुन् । पहिरोका कारण खसेका ठुला–ठुला चट्टानहरु सडकमा थुप्रिएर आदमघाट किरान्चोक सडक नै बन्द भएको छ भने साना–साना चटनहरु गाउँसम्मै खसेपछि स्थानीयहरु त्रसित भएका छन् ।

सडकमा खसेर थुप्रिएको चट्टानहरु गाउँमा खस्न ठिक्क अवस्थामा रहेको र खसिहालेमा बस्ति सखाप बनाउने हो कि भन्ने चिन्ताका कारण स्थानीयहरुले रातको समयमा घरमा बस्न समेत छाडेको बताए । स्थानीय प्रेम बहादुर अधिकारीले भने, ‘कच्ची सडक बनाएपछि यसपालीको बर्खामा सडक माथी रहेका ढुङगाहरु खस्न थाल्यो, ३ साता अघि त ठुलो पहिरो झरेर ठुला–ठुला चट्टान सडकमा थुप्रिएको छ, सडक भन्दा मुनि गाउँ छ, माथीबाट खस्ने क्रम नरोकिए पहिरो अव गाउँसम्मै पुग्छ । जोखिम यत्ति धेरै छ कि रातको समयमा निदाउनै सकिदैन ।’

स्थानीयबासीले सुरक्षित तरिकाले पहिरो पन्छाइ गाउँलाइ जोखिममुक्त बनाइदिन गाउँपालिका गुहारेका छन् । पहिरोका कारण सडकमा ठुला ठुला चट्टानहरु थुप्रिएको र तलतिर ढुङगा पल्टाउन समेत मानव वस्ती भएकाले पहिरो हटाउन समस्या भइरहेको गजुरी गाउँपालिकाको ६ नम्वर वडा अध्यक्ष अर्जुन बहादुर भुजेलले बताए । भुजेलले भने, ‘लगातार बर्षा हुने क्रम जारी रहेको छ, डोजर मात्रै प्रयोग गरेर तत्काल पहिरो हटाउन सम्भव छैन, घाम लाग्न सुरु हुने वित्तिकै ब्रेकर लगाएर ढुङगा फुटाइ सुरक्षित तरिकाले पहिरो हटाउने योजना छ ।’
सवारी साधन बन्द हुदाँ उक्त क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थहरु आदमघाट बजारसम्म ल्याउन समस्या भएको छ भने गाउँसम्म खाद्यान्न लैजान समेत समस्या भएको छ ।

२०७५ साउन २८ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट