Fri. Mar 29th, 2024

धादिङबेसी–सल्यानटार सडकखण्ड : मुआब्जा कुर्दै स्थानीय


८ फागुन, धादिङ –

निर्माणाधिन धादिङबेसी सल्यानटार आरुघाट सडकखण्डको स्तरोन्नतिका नाममा जनताले सास्ती व्यहोर्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोको समस्या व्यहोर्दै आइरहेका स्थानीयहरु अहिले मुआब्जा कुर्दै बसिरहेका छन् । भएका जग्गाजमिन र घर समेत सडकले खाइदिएपछि आफूलाई आउने मुआब्जा समेत पाउन सकेका छैनन् ।

नीलकण्ठ नगरपालिका वडा नं ९ का स्थानीय डीलबहादुर शाक्यको तीन रोपनी जग्गा सडकले खाइदिएको छ । सडक निर्माणका लागि परेको जग्गा बापतको मुआब्जा नपाएको शाक्यले बताए । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तब्यस्त बनेको छ ।

वर्षा सुरु भएसँगै यस क्षेत्रको बाटो बिग्रिने गरेको छ । स्तरोन्नति (कालोपत्रे) गर्ने जिम्मा लिएको लामा कन्ट्रक्सनले निर्माण थालेको दुई वर्ष सकिसक्दा पनि अपेक्षाकृत उपलब्धी देखाउन सकेको छैन । गरेका कामहरु पनि गुणस्तरहीन भएकाले भत्किन थालिसकेका छन् । अहिलेसम्म बनेका संरचनाहरुमा पनि गुणस्तहीन सामाग्रीहरुको प्रयोग भएको स्थानीयहरुले आरोप लगाएका छन् ।

निर्माण भइरहेका ठाउँको सडक निर्माण कार्य मुआब्जा वितरणमै अल्झिएकै छ । आम सर्वसाधारणको सुविधाको लागि निर्माण भईरहेको सडककै कारण हरेक दिन हजारौ जनाले दुखः र सास्ती भोग्नु परेको छ । सडकमा बनाइएका संरचनाको नियमित अनुगमन नहुदाँ ठेकेदार कम्पनीले मनोमानी गर्ने गरेको स्थानीय छन्दकुमारी थपलियाले बताइन् । ‘सडक निर्माण कार्य ढिला भएकै छ नी, हामी स्थानीयले दैनिक सास्ती व्यहोर्नु परेको छ’, थपलियाले भनिन् ‘सडक मुआब्जाको काम कता अल्झियो कता ।’

सडक निमार्णको कामलाई तिव्रता दिई नागरिकको समस्या चाडो समाधान गर्न स्थानीयले पटक पटक आग्रह गरेका छन् । सडकले अतिक्रमण गरेको जग्गाको मुआव्जा वितरण एकरुपता नभएको, सडक बनाउँदा जथाभावी भल खोलिदिंदा घर भित्र बाढी पस्ने गरेको स्थानीयले बताएका छन् । युएसआईडीको आर्थिक सहयोगमा डेक नेपाल र एफएचआई ३६० ले निर्माणाधिन सडक नीलकण्ठ नगरपालिका ९, ज्यामिरेमा आयोजना गरेको सडकको सार्वजनिक सभा कार्यक्रममा स्थानीयले मुआब्जा नपाएको गुनासो गरेका छन् ।

सम्झौता अनुसार अहिले सडक कालोपत्रै गरेर स्थानीयले सहज रुपमा आवातजावत गुर्नपर्ने थियो । ढुङगा, गिट्टी लगायतका निर्माण सामग्री ल्याउन कठिनाई भएको र पानी परेका कारण निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनीले बताउँदै आइरहेका छन् । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग, गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएको छ । तोकिएको मापदण्ड र समय सिमा भित्र काम सम्पन्न गर्न निमार्ण कम्पनीलाई निर्देशन दिएपनि निर्माण कार्य ढिलासुस्ती हुदाँ स्थानीयले दूख पाएका छन् ।

जिल्ला सदरमुकाम धादिङबेंसीबाट सल्यानटार जोड्ने सडकको २६ किलोमिटर दुरी टारीबेंसीसम्मको सडक स्तरोन्नतिका नाममा जनताले सास्ती व्यहोर्नु परेको छ । २ वर्षभित्र सम्पन्न गरिसक्ने गरि २०७३ पुस १४ गते सडक निर्माणका लागि सम्झौता भएको थियो । म्याद थप गरि २०७६ असार मसान्तभित्रमा निर्माण कार्य सक्ने भनिएतापनि अहिले ४० प्रतिशत काम मात्र सम्पन्न भएको धादिङबेसी आरुघाट गोरखा सडक आयोजनाका प्रमुख नविनमान श्रेष्ठले बताए ।

कुल ७० करोड ११ लाख ७३ हजार रुपैया भ्याट सहितको रकममा काम सम्पन्न गर्ने गरि लामा कन्स्ट्रक्सनले कालोपत्रे गर्ने जिम्मेवारी लिएको भएपनि बर्खा सुरु हुनासाथ सडकको अवस्था बेहाल बनेको थियो । २६ किलोमिटर कालोपत्रे गर्नका लागि दुई खण्डमा छुट्टाएका काम सुरु गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

२०७५ फागुन ८गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: