७ साउन नुवाकोट ।
अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका एक हजार कैदी अझै फरार रहेका छन् ।
विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरूबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ ।
फरार रहेका कैदीमा मानव बेचबिखन, ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगलगायतका मुद्दामा दोषी ठहरिएका रहेका छन् ।
पक्राउ परेका कैदीबाट जरिवाना असुलतर्फ रु २९ लाख २९ हजार लगत कट्टा गरिएको छ । न्यायालयबाट दोषी ठहर भएर फरार रहेकाबाट कैद र जरिवाना भराउन नुवाकोट जिल्ला अदालतले लक्ष्य पूरा गर्दैै आएकाले दोषीलाई कानुनी दायरामा ल्याउन प्रयास भइरहेको स्रेस्तेदार महिमानसिंह विष्टले बताए ।
२०७४ साउन ७ गते प्रकाशति