Today: December 19, 2018

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

२० मंसिर, धादिङ –

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।

बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् ।त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।धादिङको निलकण्ठ नगरपालिका १२रहेको पशुपति मन्दिरमा विहानैदेखी शतविज छर्ने भक्तजनाहरुको भिड लागेको थियो ।

पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन् । बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

२०७५ मंसिर  २० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट