Thu. Mar 28th, 2024

विद्यालयमा छैन आगलागी सुरक्षाको पुर्व तयारी

नीलकण्ठ नगरपालिका वडा नं ८ मा जंगलको वीचमा रहेको गायत्रीदेवी आधारभुत विद्यालय

८ बैशाख, २०७६/मनिष दुवाडी-

सुख्खा र अत्यन्तै रुखो रहने मौषम ‘मध्य हिउँद’को समय छ । जताततै आगलागिका घटनाहरु घटिरहेका छन् । आगलागिबाट सवैभन्दा बढी सुरक्षित राख्नुपर्ने संरचनामध्ये धादिङका ‘विद्यालय भवनहरु’ भने आगलागिको दृष्टिकोणले असुरक्षित देखिएका छन् ।

निजि विद्यालयको तुलनामा सरकारी विद्यालयहरु आगालागिको हिसावले बढी असुरक्षित छन् । ग्रामिण क्षेत्रका सरकारी विद्यालयहरु बनजंगल क्षेत्रका नजिकै रहेका छन् भने कतिपय विद्यालयहरु घना जंगलको वीचमै रहेका छन् ।

सदरमुकाम नजिकैको गायत्रीदेवी आधारभुत विद्यालय जंगलको वीचमा रहेको छ । हरेक वर्ष जंगलमा डढेलो लाग्दा अभिभावकहरुलाइ विद्यालय जोगाउनकै लागि सवैभन्दा बढी चिन्ता हुन्छ । पटक पटक बनमा आगलागि हुँदा अभिभावकहरुलाइ बोलाएर स्याउलाले आगो निभाउदै विद्यालय जोगाएको सम्झन्छन् विद्यालयका पुर्व शिक्षक बासुदेव सुवेदी ।

‘बनमा डढेलो बेस्सरी लागेको अवस्थामा तत्काल विद्यालय बन्द गरेर विद्यार्थीहरुलाइ घर समेत पठाएका छाैँ ।’ सुवेदीले भने, ‘कुनैबेलामा विद्यार्थी, अभिभावक र शिक्षकहरु नै मिलेर स्याउलाले आगो निभाएर विद्यालय जोगाएका छाैँ ।’

रातको समयमा ढडेलो लाग्दा विद्यालय र बस्तीसम्म पुग्न नदिनको लागि सरदमुकामबाट सेना र प्रहरी झिकाएर आगो नियन्त्रणमा लिएको पनि सुवेदीले बताए । ‘हामीलाइ मात्रै होइन, बन छेउका विद्यालयहरु सवैलाइ हिउँद लागेपछिको एउटा समस्या आगोबाट कसरी जोगाउने भन्ने नै हुन्छ ।’ विद्यालयकी प्रधानाध्यापक गीता लंसालले भनिन्, ‘तर जोखिम न्युनिकरणको लागि कुनै समाधान नै छैन ।’

विद्यालय भवन निर्माण गर्दा सवैखाले विपदबाट सुरक्षित रहनेगरि बनाउनु पर्ने भएपनि सवै मापदण्ड पुरा भएर कुनै पनि विद्यालय नवनेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख शिव प्रसाद रेग्मीले बताए । रेग्मीले भने, ‘अझ आगलागिको हिसावले भन्नुपर्दा कुनैपनि विद्यालयले सम्भावित जोखिमलाइ ध्यान दिएकै छैनन् ।’

आगो खेलाउनु हुँदैन, विद्युत सर्ट हुनेगरि वितरण गर्नुहुँदैन, आगोले तत्काल टिप्ने बस्तुहरु राख्नुहुँदैन भन्ने जस्ता जनचेतनाका कुरामा सवै सचेत भएपनि कुनै घटना घटिहालेमा के गर्ने भनेर कुनैपनि निकायले पुर्व तयारी नगरेको रेग्मीले स्वीकार गरे ।

संघियतामा जानुअघि शिक्षा विभागबाटै विद्यालय सुरक्षाका हिसावले न्युनतम मापदण्ड पुरा गराउनुपर्ने निति नियमहरु बनाइदै गरेको थियो । तर त्यसलाइ कार्यान्वयन गराउने बेलामा संघियताको संरचनामा गएपश्चात माद्यमिक तहसम्मका सवै विद्यालयहरु स्थानीय सरकारले नै संचालन गर्ने भनिएपनि स्थानीय सरकारले समेत आगालागिको पुर्व तयारीको लागि कुनै कदम चालेका छैनन् ।

‘विद्यालयको सवैखाले सुरक्षाको जिम्मेवारी अव स्थानीय सरकारलाइ सुम्पिएको छ ।’ इकाइ प्रमुख रेग्मीले भने, ‘कुनैपनि ठाउँमा आगो लागिहालेमा तत्काल निभाउनको लागि स्थानीय तहहरुमा एउटा दमकल समेत छैनन् भने विद्यालयमा हुने सम्भावित आगलागिको सुरक्षाको लागि कसरी ध्यान जान्छ ।’

शहर बजारका विद्यालयको तुलनामा ग्रामिण क्षेत्रका विद्यालयहरु बनाउदा काठपातको प्रयोग बढी हुने भएकाले पनि आगो लागिहालेको खण्डमा बढी क्षति गाउँकै विद्यालयमा हुन्छ । निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी भन्छन्, ‘विद्यालयहरुमा हुने सम्भावित आगलागिको जोखिमको हिसावले कुनैपनि ठाउँका विद्यालय सुरक्षित छ भन्न सक्ने गरि हामीले संरचना बनाएकै छैनौँ ।’

माद्यमिक तहसम्मको विद्यालयमा आगलागिको सुरक्षाको हिसावले हुनुपर्ने न्युनतम सुविधा ‘फायर इस्टिङगुइस्टर’ समेत विद्यालयहरुमा नभएको बुढाथोकीले बताए । ‘एउटा विद्यालयमा कम्तीमा पनि ६ वटा फायर इस्टिङगुइस्टर हुनैपर्छ ।’ बुढाथोकीले भने, ‘अधिकाँश विद्यालयमा त्यो पनि छैन भने भएका विद्यालयमा पनि त्यसको परिचालन गर्ने तरिकाको विषयमा शिक्षक विद्यार्थी नै अनभिज्ञ हुन्छन् ।’

धादिङ जिल्लामा नीलकण्ठ नगरपालिकाको मात्रै एउटा दमकल छ । त्यो पनि भौगोलिक हिसावले र बाटोको अवस्थाले गर्दा सवै ठाउँमा पुग्न सक्दैन । आगलागि भइहालेमा के गर्ने भन्ने विषयमा कुनैपनि स्थानीय तह र विद्यालयसंग पुर्व तयारी योजना समेत छैन । अहिलेसम्म कुनैपनि ठाउँमा विद्यालयमा आगलागि भएर क्षति भएको सुन्नमा नआएपनि हुनसक्ने सभ्भावित क्षतितर्फ ध्यान दिनु जरुरी रहेको प्याब्सन अध्यक्ष बुढाथोकीले बताए ।

‘यतिसम्म हेलचेक्राइ गरिएको छ कि खोलाका छेउमा रहेका विद्यालयहरुसंग समेत विद्यालयमा आगो लागिहालेमा खोलाबाट तत्काल पानी तानेर निभाउनको लागि कुनै पुर्व तयारीको योजना नै छैन । कुनै दुर्घटना भइहालेमा उता खोला बगिरहन्छ यता आगो लागिरहन्छ भन्ने उखान जस्तै हुन्छ ।’

भुकम्प पछिको पुननिर्माणमा भुकम्प प्रतिरोधी संरचना निर्माण गर्नको लागि बढी जोड गरिएतापनि भुकम्प बाहेक अन्य विपतहरुको पुर्व सुरक्षाका हिसावले विद्यालय भवनहरु असुरक्षित देखिएका छन् ।

विद्यालय भवन बनाउँदा कुनैपनि विपदहरु हावाहुरी, आगलागि, भुकम्प, बाढीपहिरो लगायत आइपरेको खण्डमा तत्काल ब्यवस्थापन गर्नसक्ने किसिमले सुरक्षित रहन सक्ने हुनुपर्छ तर धादिङ जिल्लाका सवै विद्यालयहरु भुकम्प प्रतिरोधी त बनेका छन् तर त्यस बाहेकको विपद आइपरेमा के गर्ने भन्ने विषयमा कुनैपनि निकायसंग जवाफ छैन ।

२०७६ बैशाख ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: