Fri. Mar 29th, 2024

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी परिचालन

१४ चैत, धादिङ-

गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ।

चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो। यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए। राष्ट्रिय अनुसन्धान विभागले २ सयभन्दा बढी जनशक्ति तैनाथ गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सम्मेलन अवधिभर पाहुनाको सुरक्षामा कुनै पनि कमी हुन नदिन उपत्यकास्थित सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार सम्मेलन सुरक्षाकै लागि रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र सम्मेलनस्थल सोल्टी होटलमा ‘सम्मेलन सुरक्षा समन्वय कक्ष’ स्थापना गरिएको छ। सम्मेलन स्थललगायत केही ठाउँमा संयुक्त सुरक्षा फौज परिचालन गरिएको छ। बाँकी स्थानमा आपसी समन्वयका आधारमा प्रहरी, सशस्त्र र अनुसन्धान विभागबाट जनशक्ति परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ। सरकारले सम्मेलनमा आउने पाहुनाका लागि सोल्टीसहित कुपन्डोलको हिमालय, गौशालाको द्वारिकाज, बौद्धको हायात, दरबारमार्गस्थित अन्नपूर्णलगायतका होटलमा व्यवस्थापन गरेको छ।

२०७४ चैत १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: