Today: February 23, 2019

मृगौला पीडित धादिङ धुवाँकोटका तामाङ सहयोग कुर्दै (भिडीयो सहित)


२५ माघ, धादिङ –

दुवै मृगौला (किड्नी) फेल भएर धादिङको नीलकण्ठ नगरपालिका –१४, धुवाँकोट, पात्लेका सुर्जेन तामाङ चारवर्षदेखि थला परेका छन् । २०७१ साल फागुनमा एक्कासी घरकै आँगनमा ढलेपछि उपचारका लागि अस्पताल जाँदा दुवै मृगौला फेल भएको चिकित्सकहरुले बताएका थिए । आर्थिक अवस्था कमजोर र आर्थिक उपार्जनको बाटो कम हुदाँ अहिले उपचारमा समस्या भएको छ ।

भारतको बनारस अस्पतालमा सुर्जेनको दुवै मृगौला काम नलाग्ने गरी बिग्रिएको ‘इन्ड स्टेज रेनल डिजेज’ अर्थात मृगौला विग्रेर अन्तिम स्थितिमा पुगेको र उक्त उपचारमा धेरै खर्चिलो हुने सिफारिस गरेको छ । गाउँमै ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका सुर्जेनको परिवारलाई उपचार गर्न आर्थिक अभाव छ । ‘सम्पतीको नाममा गाँउमा रहेको एउटा सानो घर र पाखो बारी मात्रै छ’ तामाङले पीडा पोख्दै भने, कसैले दया गरेर उपचार खर्च जुटाइदिए अलि दिन बाँच्ने आश छ ।’

परिवारले आफूसँग भएका जायजेथा बेचेर उपचारमा लागि खर्च गरिसकेका छन् । गाउँबाट खोजेर ल्याएको ऋण समेत सकिएपछि भने आर्थिक अवस्थाकै कारण बचाउन नसकिने हो की भन्ने चिन्ताले परिवारलाई सताएको छ । हाल दिदीसँग नीलकण्ठ नगरपालिका ४ मा बस्दै आइरहेका तामाङलाई प्रत्येक महिना ५० हजार डाइलेसिसका लागि खर्च गर्नुपर्ने हुन्छ ।

भाई बचाउने सपना बोकेर हिडेकी दिदी आईतिमायालाई उपचार खर्च जुटाउने पिरलो छ । भाईको रोग भन्दा पनि उपचारमा लाग्ने खर्च जुटाउन सकुँला जस्तो छैन । भाईलार्ई बचाउन पाए हुन्थ्यो तर केहि गर्न सक्ने अवस्था नै नभएको सुनाइन् । बैदेशिक रोजगारीको शिलशिलामा विदेश पुगेका उनका भिनाजु बिदेश जाँदा लागेकोे ऋण समेत तिर्न ननसकेको दिदीले सुनाईन् । ‘बिहान बेलुकी हातमुख जोर्न समस्या हुने हामी जस्ता गरिबलाई ठुलो रोग नलागे नि हुने’ आँखा रसिलो बनाउँदै तामाङले भनिन्, ‘आफ्नै आँखा अगाडी भाई छट्पटाएको देख्दा आफूलाई असह्य भएको छ ।’

कसैले मृगौला दिएमा उनलाई बचाउनका करिब ८ देखि १० लाख रुपैयाँसम्म लाग्ने डाक्टरले बताउँदै आएका छन् । अस्पताल प्रशासनले भनेजति रकम जुटाउन उनलाई मुस्किल छ ।

गाँउकै स्थानीय स्कुलमा कक्षा १० मा पढेर कामको शिलशिलामा चार वर्ष भारत काम गरेर घर फर्किए लगत्तै उनी आँगनमै ढलेका थिए । अस्पतालको बेडमा पुगेर बिउझिएका उनी आफुलाई अस्पतालमा के कारणले राखेको हो भन्ने समेत हेक्का थिएन ।डाक्टर र अभिभावकको कुरा सुनेर आफ्नो रोगको बारेमा थाहा पाएपछि उनी मुर्छित बनेका थिए । उनका सपनामाथि रोग पहाड बनेर तेर्सियो । जीवन मरणको दोसाँधमा उभिएका सुर्जेन नयाँ जीवन पाउने आशा बनाएर बसिरहेका छन् ।

उपचारका लागि देश तथा बिदेशमा बसोबास गर्नुहुने सम्पुर्ण नेपालीहरुलाई सहयोगको हात अगाडी बढाइदिनु हुन तामाङले अनुरोध गरेका छन् । यहाँहरुको सानो सहयोगले कसैको जीवन बच्न मद्दत पुग्दछ । देश तथा बिदेश बाट सहयोग वा थप जानकारीका लागि पाविल न्युज डट कमको कार्यलयमा पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

२०७५ माघ २५ गते प्रकाशित

Loading...

ताजा अपडेट