Today: September 23, 2018

धादिङका किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित


सरिता श्रेष्ठ,  धादिङ  –

थाक्रे गाउँपालिका ६, रानीबारीका एकबहादुर कार्कीले बारीभरी तरकारी लगाएका छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन् । प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी गोलभेडा खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छन् । उनले दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित छन् । तरकारीको भाउ पाउने भएपछि बेमौसमी तरकारीतर्फ आकर्षित भएको कार्कीले बताए । ‘प्लास्टिक हाउसभित्र बेमौसममा लगाएको तरकारीको भाउ पनि छ, कार्कीले भने, बजारको पनि समस्या छैन, घरधन्दा यसरी नै धानेको छु’ । उनले टनेलमा फर्सी, गोलभेडा लगायतका तरकारी लगाएका छन् ।

  कार्कीले पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउने गथ्यो । तरकारी फल्ने समयमा भाउ नपाउनाले बोटमै कुहिएर जाने गथ्यो । आम्दानी पनि त्यति नहुने र पानीको समस्या भएपछि दुई वर्ष जति तरकारी खेती नै नगरेको उनले बताए । अहिले उपयुक्त सिचाँईको सुविधा भएसँगै बेमौसमी तरकारी खेती गर्न थालेका हुन् । २०७२ साल बैशाखमा गएको विनाशकारी भूकम्पले पानीको मुहान सुकाएपछि आफूले खाने तरकारी समेत लगाउन पाएका थिएनन् । अहिले गाउँलेहरुले नै मिलेर गाउँमा पानी ल्याएका छन् । आकाशे पानी पनि संकलन गरेर राख्ने गरेका छन् । तरकारी खेतीबाट वर्षमा ४ लाखसम्म आम्दानी लिने गरेको किसानहरु बताउँछन् । जीवनस्तरमा पनि धेरै परिवर्तन आएको उनको भनाई छ ।

२७ घरधुरी रहेको रानीबारीका प्राय किसानको दैनिकी तरकारी खेतीमा नै बित्ने गर्छ । यहाँका प्रायसबै किसानले बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । किसानहरुलाई नै सहज होस भनेर गाउँमा नमुना कृषक समूह पनि गठन गरिएको छ । समूहमा बसेर बीउविजन, रोगकिरा तथा विषादीका बारेमा छलफल गर्ने गरेका छन् । समूहमा गठित कृषि समूहमा आबद्ध किसान धेरैजसो बेमौसमी तरकारी खेतीमा लागेको समूहमा आबद्ध किसान सीता सुवेदीले बताइन् । ‘समूहमा बेमौसमी तरकारी खेतीका बारेमा छलफल गर्ने गछौ’, सुवेदीले भने, एउटा किसानलाई परेको समस्या अरुले सजिलै थाहा पाउँछन् ।’ समूहगत छलफल, योजना निर्माण र कार्यन्वयनका बारेमा पनि छलफल गर्ने गरेका छन् । तरकारी खेतीबाट आएको आम्दानी बचत गर्ने पनि गरेको उनले बताइन् ।

    यहाँका किसान पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरु पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् । बाँसका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाई छ । यस ठाउँमा पोखरी पनि निर्माण गरिएको छ । तरकारी उत्पादनमा सहजताका लागि जिल्ला कृषि विकास कार्यालय धादिङले पनि अुनदानमा बीउ प्रदान गर्दै आइरहेका छन् । बेलाबेलामा अनुुगमन गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताए । समग्र तरकारी उत्पादन घटे पनि बेमौसमी तरकारीको उत्पादनमा सुधार भएको कार्यालयले जानकारी दिएको छ । अब स्थानीय तहबाट नै सेवा प्रदान गरिने देवकोटाले बताए ।

   तरकारीको पकेट क्षेत्र मानिने धादिङ जिल्लामा पछिल्लो समय पानी तथा बीउविजनको समस्याले तरकारी उत्पादनमा ह्रास आइरहेका छ । किसानहरु तरकारी खेती भन्दा पनि अन्य पेशा व्यवसायमा लाग्न थालेका छन् । यस क्षेत्रमा रिम्स नेपालले प्लास्टिकको टनेल, पानी राख्ने ट्याङकी, पाइप, औजार लगायतका कृषि औजारहरु प्रदान गरेको कार्यकारी निर्देशक विष्णु त्रिपाठीले जानकारी दिए । तरकारी उत्पादन हुने क्षेत्र थाक्रे, नौविसे, केवलपुर, तसर्पू लगायतका क्षेत्रमा समूह निर्माण गर्ने, तरकारी संकलन निर्माण, कृषि औजार प्रदान गर्दै आइरहेका छन् ।

२०७४ चैत २७ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट