Today: September 23, 2018

देहात टु काठमाण्डौं


तिलक घिमिरे ‘निर्मल’ –

मिठो खाने, राम्रो लाउने
अनि टिकुलियाको बिहे गराउने
यावत् सपनाको पोको–पन्तुरो पारी
जिन्दगीको खोजीमा
एका विहान सखारै राजिन्दरले गाउँ छोड्यो ………….. ।

थुनि राखेका खोरका हाँस कुुखुरा
ड्वाँ ड्वाँ कराइ राखेका गोठका चौपायहरु
सल्काएर डढेलो बलौटे काँसघारी,
चारकुने आँगनीमा खेलेको सामा–चकेवा
गाएका मैथली भोजपूरी भाकाहरु
बाँडीचुँडी खाएका ठेकुवा र लाहीमूरी
पन्छाउँदै बाबु–माईको हात
रुवाई राखेर पिँडीमा सानी बहिनीलाई
पर्खाई राखेर पल्ला–गाउँकी फूलमतियालाई
भुटेको चिउरा र आलुको भुजिया गम्छामा बाँधी
भक्कानिदै ……..
राजिन्दर एका विहानै राजधानीजाने मोटर चढेर
सुरु गर्यो स्वप्नल–जिन्दगीको यात्रा……..।

घरी अलिकति तेर्साे
घरी साह्रै दम्साइलो
कहिले ठाडै उकालै–उकालो
कहिले ओरालै–ओरालो
उफ्।।।।।!
३५ सिटे बसमा दुगुना बढी यात्री
ठेलाम्ठेल्अनि पेलान्पेल्
हेपेर “अलिपर जाउ भैया र धोती भाई”
सबै जनाको अट्टहाँस हाँसो,
ऊ पनि बढो विवशतामा फिस्स हाँस्दै
‘हस’ भनि अलि पर सरी भूइमै थचक्क बस्छ …….. ।

मुग्लिनमा गाडी रोकिदा,
सबैजना मासु भात माग्छन्
उ त्यहि गम्छा खोल्छ ।
र पानीको सितनसँग आधामाना सक्छ ।
काठमाण्डौं पुगी चिने जानेकाको कोठा खोज्दै पुग्छ ।

लामो बसाई, बेरोजगार जिवन
ट्वाइलेट जाँदा पनि, आउँदा पनि घरबेटी आमा
दुइ पटक सोध्छिन् – “तिमी कहिले जाने भैया ?”
आफन्तले पनि छड्के आँखा पार्दा
पत्रिकाका “चाहियो” विज्ञापन बोकी
भौतारियो दिनभर, सक्छ सबै खर्चहरु
अँह, न तउसले कतै जागिर पायो, न त ब्यबहार
हार दिक भएर,
उ कोठामा आई रुन्छ, बर्बराउछ भक्कानिन्छ

बिताउँदै यसरी नै कयौं कष्टकर रात
कठ्याङ्ग्रिदो ठिही अनि चिसो छाना मुनि
सुत्यो उ कयौं रात एक झप्को निन्द्रा मार्न
लगाएर आफ्नै हातको सिरानी
शहरको बाक्लो–धमिलो पानीमा
उसिनाको भात र मस्यौराको झोलको साथमा
एक मुठ्ठी सास
“धोती भैया” उपनामले सह्यो कयौं–कयौ ंदिन अनि रात
किनकि, ठूली बहिनीको दहेजका लागि
नगद, “लगाउने देखि गुडाउने” सम्मको जोहो गर्नूपर्ने छ ।

तैपनि
छिचोलेर टन्टलापुर घाम
लछारेर हुरी–बतास
संगालेर मनमा सुन्दर सपना
ऊ बढो भाग्यले प्रवेश गरेको छ राजधानी
ए सिंहदरबार,
महन्त, शरद, राजेन्द्र, महेन्द्र, उपेन्द्र
अनि अन्य ठालूहरु
सुनिदेउ–
देहातको एक गाउँबाट
ठूलो सपना बोकी
एकजना स्वप्नजिवी मधेसी केटो
बहिनीको दहेज–खर्च जोहो गर्न
राजधानी आइपुगेको छ ……… ।

(हरिवन नगरपालिका १०, सर्लाही)

२०७५ बैशाख १ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट