Today: December 16, 2018

खै कहाँ छ स्वतन्त्रता र समानता ?


उर्मिला कोइराला –

जब एउटा महिला गर्भवती छ भन्ने थाहा हुन्छ, तब मान्छेलाई खुल्दुली हुने गर्छ छोरा छ या छोरी । केहि वर्ष अघिसम्म पहिलो बच्चा छोरा नै होस् भन्ने चाहनेहरु हिजो आज छोरा वा छोरी जे भएपनि हुन्छ भन्छन् । दोस्रो बच्चा हुन लागेको छ र पहिलो बच्चा छोरी छ भने हुन लागेको बच्चा छोरा नै हुनुपर्छ भन्छन् । कतिपयले त गर्भ परिक्षण गरेर छोरी रहेछ भने बिना हिच्किचाहट नै गर्भपतन गराउँछन् । गर्भपतनमा न महिलाको स्वास्थ्यको ख्याल राख्छन् न त्यो निर्दोश शिशुको नै ।

गर्भमा छोरी छ भन्ने थाहा भएदेखि नै छोरीलाई दोस्रो दर्जाको रुपमा हेरिन्छ । जब–जब छोरी हुर्कदै जान्छ उसले छोरी भएकै कारण विभिन्न समस्या र आक्षेपहरु भोग्न थाल्छ । जति छोरीहरुको उमेर बढ्दै जान्छ त्यति नै उनीहरुको स्वतन्त्रता घट्दै जान्छ । उनीहरुलाई अब घरको कामकाजमा अलमल्याएर राखिन्छ किनकि अर्काको घर जाने, घर गरेर खानुपर्ने त छोरीले नै हो । छोराहरुले झै एक्लै बाहिर गएर साथीहरुसंग खेल्न पाउँदैनन्, घुम्न पाउदैनन् । गई हालेपनि समयमै घर फर्कनुपर्छ । यदि तलमाथि केहि भै हाल्यो भने इज्जत जाने त छोरी मान्छे कै हो छोरा मान्छेलाई के छ र उनीहरुले जे गरेनी । यो त छोरा हो नि भन्दै गल्ति ढाकछोप गर्दिने अन्धो समाज छँदैछ । गल्ति जो सुकैले गरोस् औला महिला माथि नै उठ्छ । छोराहरुले जे गरुन जहाँ जाउन, जो सगं हिडुन कसैले केहि भन्दैनन् तर एउटी छोरी कहाँ जान्छे, के गर्छे, को सगं हिड्छे सबै चियो गर्छन् ।

मंसिर महिना बिहेको सिजन एक साँझ दिदी र म एउटा साथीको विहे पार्टीमा गएर बेलुका ९ बजेतिर कोठामा फर्कदा घरबेटी आण्टीले गेट खोल्दै “छोरी मान्छे भएर पनि यति रातीसम्म बाहिर बस्ने हो” भनेर भन्नुभयो उहाँको हामीप्रतिको चिन्ता भनौ या छोरी मान्छे प्रतिको सहानुभति भनौ जे होस खुशी लागेको थियो । तर छोरी मान्छे भएर भन्ने शब्दले मलाई रिस पनि उठेको थियो तर हामी केहि नबोली हाँस्दै कोठामा गयौ । घरको काम गरिएन भने छोरी मान्छे भएर यति पनि नगर्ने भन्छन् ।

कति न घरको काम जति सबै छोरी मान्छेले नै गर्नुपर्ने जसरी । अझै पनि हामी अबेरसम्म घर नपूग्दा, कोही साथीको घरमा रात बस्ने गरी जान्छू भन्दा हामीले किन, को, का, के, कस्तो, कहिले, कसरी जस्ता कयौ प्रश्नको सामना गर्नुपर्छ । यतिका प्रश्नको जवाफ दिदाँ पनि अझै जानैपर्छ र त्यहाँ नगए हुदैन रात बस्नै पर्छ र भन्ने जस्ता प्रश्नहरु तेर्सने गर्छन् । छोरी मान्छे भएर यसो गर्न र उसो नगर्न भनेर हरेक दिन कहि न कहि कोहि न कोहिले केहि न केहि त भनेकै हुन्छन् चाहे गाउँमा होस् वा शहरमा । त्यस्तै कहिले काही कोही पुरुष साथीहरुले भेट्नुप¥यो भने वा कतै क्याफे वा रेष्टुरेन्टतिर बसेर खाजा खाउ भने भने अझै पनि दश पटक सोच्नुपर्छ कसैले देख्यो भने के भन्ला ? आफ्नो बारेमा केही सोच्ने पो हो कि भनेर ।

खान, लाउन, बोल्न, हिड्डुल गर्न, साथीभाईसंग मिलेर रमाइलो गर्न लगायत हरेक कुरामा छोरीलाई भन्दा बढी छोरालाई नै स्वतन्त्रता छ । यति स्वतन्त्रता छैन, छोरी मान्छेलाई कि आफनो जीवन आफै बांच्न सकुन । आफनो भविष्यबारे सोच्ने चाहेको कुरा गर्ने, चाहेको ठाउँमा जाने, घरायासी कुराहरुको निर्णय लिने कुरामा छोरीलाई अझै पनि स्वतन्त्र छैन । घरको कुनै पनि निणर्य लिने कुरामा सकेसम्म छोरीहरु नबोलिदिए हुन्थ्यो जस्तो गर्छन्, निर्णय लिनदिन त परको कुरा । यदि छोरीहरु आर्थिक रुपमा सक्षम छन् भने चाहि केहि हदसम्म उनीहरुले चाहेको कुरा गर्न सक्छन् नत्र सबै रहर मनमा दबाएर राख्नै पर्छ ।

जब छोरी स्वतन्त्रतापूर्वक बाँच्ने सपना देख्छिन् त्यहाँ सुरक्षाको कुरा आउँछ, घर परिवार र समाजको इज्जतको कुरा आउँछ । विभिन्न बहानामा छोरी मान्छे कुण्ठित हुदैे आफनो व्यतिmगत जिवनलाई तिलाञ्जली दिनुपर्छ । छोरी भएकै कारण बिहे अघि बाबुआमा र आफुभन्दा ठुलाको अनि बिहेपछि श्रीमान तथा सासुससुराको नियन्त्रणमा बस्नुपर्छ । स्वतन्त्र भएर निर्णय गर्न पाईदैन अरुले भनेको कुरामा हो मा हो भन्दै बस्नुपर्छ । न मन लागेको गर्न पाइन्छ, न मन लागेको ठाउँमा घुम्न जान पाईन्छ । आफ्नो रहरलाई कुल्चेर घर परिवार र समाजको इज्जत र परम्परालाई जोगाइदिएर बस्नुपर्ने ठेक्का केबल महिलाको मात्र भएको जस्तो । कहिलेकाही छोरीहरु त बस अर्डर पालना गर्नकै लागि जन्मिएको होकी जस्तो पनि लाग्छ ।

म सानो हुँदा विद्रोही स्वभावको थिए । त्यहि भएर होला छोरीले जे गर्न पर्छ भन्थे म त्यो गर्दिनथे जे गर्न हुदैन भन्थे त्यो गर्न मन पराउथे र केहि त गर्थे पनि । छोरी मान्छे काम नभएसम्म घर बाहिर जान हुदैन भनिन्थ्यो र अरुहरु जादैन थिए । तर म काम भएमा मात्र घर बस्थे मन लागे गर्थे मन नलागे कसैले नदेख्ने गरेर लुसुक्क निस्कन्थे अनि बेलुका घर फर्के पछि आमाको गाली खान्थे छोरी मान्छे यसरी एक्लै हिड्ने हो भनेर । समाजले जसरी छोरीलाई यो नगर त्यो नगर यहाँ नजाउ त्यहाँ नजाउ भनेर सिकाउँछ त्यसरी नै छोरालाई किन सिकाउँदैन महिलाको सम्मान गर भनेर जसरी आफ्नो आमा दिदिबहिनीको इज्जत गर्छौ त्यसैगरी अरु आमा दिदिबहिनिहरुको पनि इज्जत गर्नुपर्छ भनेर ।

हिजो आज बढ्दो रुपमा भइरहेको बलात्कारका घट्नाले त झन् छोरीको जन्म नै नभओस् जस्तो लाग्न थालेको छ । न आमाको गर्भमा सुरक्षित छौ न आफ्नै घरपरिवार र समाजमा न कार्यालयमा न मन्दिरमा न विद्यालयमा न शहर बजारमा न गाउँमा हरेक स्थानमा त्रासैत्रासमा बाँच्नुपर्छ हरपल हरक्षण । बिहान घरबाट सकुशल हिँडेकि छोरी भरे घर आइपुग्छे कि आईपुग्दिन, कुन हालतमा आइपुग्ने हो केहि ठेगान हँुदैन । बढ्दो बलात्कारका घट्नाले के काका के मामा के दादा के बूढापाका जसलाई देखे पनि शंकाको नजरले हेर्ने भएका छौ । आफुलाई जन्मदिने बाबूको त विश्वास छैन अरु कसलाई विश्वास गर्ने ।

पीडा दिने, गल्ति गर्ने चाँहि छाती फूलाएर स–सम्मान साथ खुलेआम हिडिरहेका छन् । तर जसलाई घर परिवार, समाज र राज्यको सहयोगको जरुरत छ उनीहरुलाई दोस्रो दर्जाको रुपमा हेरिन्छ । न समाजले केहि गर्छ न त राज्यले नै किनकि उ छोरी हो छोरीलाई ससम्मान जिउने हक नै छैन, उ अगाडि बढ्नुहूदैन । के छोरी भएर जन्मनू हाम्रो गल्ति हो र ? के छोरीलाई स्वतन्त्रपूर्वक बाँच्ने अधिकार छैन ? छोरी भएर जन्मेकै कारण जन्मेदेखि नमरुनजेलसम्म हरेक पल जिउँदै मर्नु पर्छ । कहिले काहि भगवानसगं सोध्न मन लाग्छ किन छोरी बनायौ भनेर जो आमाको गर्भमा आएदेखि नै असुरक्षित हुन्छन् । कहिलेकाहि त लाग्छ छोरी भएर जन्मिनु ठलो अभिषाप हो, अझ गरिब परिवारमा जन्मेकि छोरीको त कुरै छोडौ । न राम्रो पालन पोषण हुन्छ, न गुणस्तरीय शिक्षा पाइन्छ । सानै उमेरमा विवाह ग¥यो अनि सकियो जिवन । पढ्ने खेल्ने बेलामा घर व्यवहार सम्हाल्नुको विकल्प नै हुदैन ।

दुई महिना अघि बलात्कार भएर मारिए कि कञ्चनपुरकि निर्मला पन्तले छोरी भएकै कारण अझै सम्म न्याय पाउन सकेकि छैनन् । यदि उनी सम्पन्न, पहँुचवाला परिवारकि छोरी भएकी भए सायद न्याय पाउथिन होला छोरी भएर मध्यम वर्गिय परिवारमा जन्मनु नै उनको लागि आज अभिषाप भएको छ । छोरी भएकै कारण विभिन्न खालको हिसां भोग्न बाध्य कयौ निर्मलाहरु छन् जो घर परिवार समाज र राज्यबाट नै उपेक्षित भएका छन् । आखिर यस्तो अन्याय कहिलेसम्म ? यसको जवाफ कसैसंग छैन न समाज न राज्य । निर्मला जस्तै कयौ छोरीहरुले न्याय कहिले पाउलान् ? हाम्रो घरपरिवार समाज अनि राष्ट्रले छोराछोरीलाई समान नजरले कहिलेदेखि हेर्ला, छोरा सरह छोरीहरुले पनि स्वतन्त्र भएर जिन्दगी जिउन अझै कति समय पर्खनुपर्ला ?

२०७५ असोज २४ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट