Fri. Mar 29th, 2024

अँध्यारोबाट उज्यालोतिर

bulb-bijuli

१६ पुस, काठमाडौ –

। ठूला जलाशययुक्त आयोजना निर्माण नभएसम्म नेपालमा लोडसेडिङ अन्त्य नहुने विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका पदाधिकारीका अभिव्यक्तिलाई भुट सावित गर्दै तिहारदेखि उपत्यकालगायत देशका प्रमुख सहरहरू अन्धकारमुक्त भएका छन्। एकाएक आएको यो उज्यालोलाई स्वयं प्राधिकरणका प्राविधिकहरूले समेत विश्वास गरेका थिएनन् ।

बिजुलीको खपत बढी हुने तर उत्पादन घट्दै जाने मध्य पुससम्म आइपुग्दा काठमाडौं उपत्यकालाई लोडसेडिङले चिहाएको छैन । उपत्यकाबाहेक देशका अन्य भूभागमा आंशिक र नगण्य रूपमा बिजुली कटौती भइरहेको छ। काठमाडौंलाई लोडसेडिङमुक्त बनाउन सकिएकोमा स्वयं विद्युत् प्राधिकरणका इन्जिनियरसमेत आश्चर्यमा छन् ।

तिहारको लक्ष्मीपूजाको रातलाई अन्धकारमुक्त पार्ने प्राधिकरणको प्रयासलाई धेरैले कुलेखानीको पानी रित्याएको र उद्योगहरूको लोड नभएको मौकाको सदुपयोग गरेको अनुमान गरे ।

तिहारको तीन दिन त्यसै पनि उद्योग नचल्ने र तिनले खपत गर्ने करिब तीन सय मेगावाट बिजुलीको बचत नै उपत्यकामा वितरण गरिएको लख काटिए । तर तिहार बिदा सकेर नियमित रूपमा उद्योगधन्दा चल्दा पनि उपत्यकामा बिजुली नगएपछि सबैजना आश्चर्य परे ।

दसैंअघि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङले उद्योगलाई अत्यधिक बिजुली खपत हुने समय (पिक आवर) को तीन घन्टा कटौती गरे। उद्योगहरूलाई साँझ तीन घन्टाको बदलामा २१ घन्टा नियमित बिजुली दिए ।

यसले गर्दा उद्योगहरू पनि खुसी भए। नेपाल उद्योग वाणिज्य महासंघको तथ्यांकअनुसार विगतमा लोडसेडिङका बेला उद्योगहरूले वार्षिक १६ अर्ब रुपैयाँभन्दा बढीको डिजेल प्लान्टबाट बिजुली उत्पादनका लागि डिजेल खरिद गर्दै आएका थिए ।

महासघंका अध्यक्ष पशुपति मुरारकाका अनुसार उद्योगमा नगण्य रूपमा भएको लोडसेडिङले यस क्षेत्रलाई निकै ठूलो राहत भएको छ। उद्यमीहरूमा नयाँ प्लान्ट स्थापना गर्ने र उत्पादन गराउने आत्मविश्वास बढेको उनले बताए ।

विगतमा डिजेल प्लान्टबाट बिजुली उपयोग गर्दा लागत अत्यधिक हुने र प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास भएको र कतिपय उद्योगले डिजेल प्लान्ट राख्न नसकेको अवस्थामा अहिले नियमित बिजुली आपूर्तिले निकै उत्साहित पारेको मुरारकाले बताए ।
‘बत्ती नभएर नयाँ उद्योग आउन सकिरहेका छैनन्, अब बत्ती पाइन्छ भन्ने विश्वास भएको छ। यसले मुलुकको उद्योग क्षेत्रमा अत्यन्त सकारात्मक आशा उत्पन्न गरेको छ’, मुरारकाले भने ।

अबको योजना
चालू आर्थिक वर्षको पाँच महिनामा एक सय २२ मेगावाट बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। निकट भविष्यमा प्राधिकरणको आफ्नै चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ए गरी एक सय चार मेगावाट उत्पादन हुन लागेको र अबको केही वर्षमै निजी क्षेत्रसित पीपीए गरिएका करिब तीन हजार मेगावाटमध्ये दुई हजार मेगावाट निर्माणाधीन रहेकाले स्वदेशी माग धान्ने वातावरण बन्दै गएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् ।

उनका अनुसार भारतसितका अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा स्तरोन्नति पनि धमाधम भइरहेकाले अबका दिनमा नेपालमा ऊर्जा संकट हुँदैन। ‘हामी अबको दुई महिना परीक्षणमा छौं,’ उनले शुक्रबार अन्नपूर्णसित भने, ‘त्यसपछि उपत्यकामा लोडसेडिङमुक्त भएको घोषणा गर्नेछौं ।’

आन्तरिक खपतका लागि आवश्यक बिजुली स्वदेशमै उत्पादन नहुँदासम्म भारतबाट आयात गर्नुपर्ने बाध्यता रहे पनि त्यो बाध्यता क्रमशः कम हुँदै जाने अधिकारी बताउँछन्। हाल भारतबाट करिब तीन सय मेगावाट बिजुली आयात भइरहेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट
२०७३ पुस १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: